आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
जाजरकोट भूकम्प

जाजरकोट भूकम्प : रुकुम पश्चिममा १४ जनाको मृत्यु

शनिबार, २३ मङ्सिर २०८०, ०२ : ००
शनिबार, २३ मङ्सिर २०८०

सुर्खेत । शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी रुकुम पश्चिममा १४ जनाको मृत्यु भएको छ । रुकुम पश्चिमका डीएसपी नवराज भट्टराईका अनुसार आठविसकोट नगरपालिकाको वडा नं ११ मा ७ जना, वडा नं १२ मा ४ जना र वडा नं १३ मा ३ जनासहित १४ जनाको मृत्यु भएको हो  l

‘ठुलो मानवीय क्षति भएको छ,’ उनले भने,‘ घाइतेहरूको उद्धार गर्ने, अस्पताल पुर्‍याउने काम भइरहेको छ ।’ भूकम्पबाट जाजरकोट र रुकुम पश्चिम बढी प्रभावित भएका छन् । शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भएर सो भूकम्प गएको थियो । 

प्रहरीका अनुसार रुकुम पश्चिममा ठुलो मात्रामा घरहरूमा क्षति भएको छ । जिल्लाको पश्चिम क्षेत्रतर्फ बढी क्षति भएको खबरहरू आइरहेको रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए । उनका अनुसार आठविसकोट नगरपालिकामा धेरै मानवीय क्षति भएको छ।’  

 आठविसकोट नगरपालिकाकी उपप्रमुख धनकुमारी शाहीले भनिन्, ‘ठुलै मानवीय क्षति भएको छ,’उनले रातोपाटीसँग भनिन्,‘ थुप्रै घाइतेहरूलाई अस्पतालमा लाने काम भइरहेको छ ।’

भूकम्पबाट जाजरकोट, पश्चिम रुकुमसहितका जिल्लाहरूमा घरहरूमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले हालसम्म कम्ती १० जनाको मृत्यु भएको जानकारी प्राप्त भएको बताएका छन् । ‘हामी घटनास्थलमै छौँ, यहाँ नेटवर्कले काम गरिरहेको छैन,’ उनले भने,‘ सयौँ घरहरूमा क्षति भएको छ ।’ 

जाजरकोटका डीएसपी सन्तोष रोकाले सदरमुकाम खलङ्गामै पनि ठुलो मात्रामा घरहरू क्षति भइरहेको बताए । त्यहाँ अहिले प्रहरी उद्धारमा खटिएको छ । स्थानीयहरूले उद्धारका लागि सामाजिक सञ्जालमा आह्वानसमेत गरेका छन्। प्रहरीले भूकम्पबाट घर भत्केर सयौँ मानिसहरू घाइते भएको अनुमान गरेको छ । 

जाजरकोटबाट निर्वाचित भएका कर्णाली सरकारका अर्थमन्त्री बेदराज सिंहले उद्धारका लागि प्रहरीदेखि सेनालाई समेत खटाइसकिएको जानकारी दिए । यद्यपि जाजरकोटमा नेटवर्कले समस्या दिइरहेको छ । 

जाजरकोट प्रशासनले जिल्लाका विभिन्न सरोकारवाला निकायहरू राहत तथा खोज उद्धारका लागि खटिन आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप