आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
भूकम्प

पश्चिम नेपालमा लगातार ठुला भूकम्प

शनिबार, १५ वैशाख २०८१, १३ : ४०
शनिबार, १५ वैशाख २०८१

काठमाडौँ । गत वर्षको माघ महिना यता पश्चिम नेपालका तीन जिल्लामा केन्द्रबिन्दु भएर ठुला भूकम्पहरू गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बाजुरा, बझाङ र जाजरकोट केन्द्रबिन्दु भएर ५ वा सोभन्दा माथिका भूकम्पहरू गएका हुन् ।

गत २०७९ माघ १० गते बाजुरा केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो भने २०८० वैशाख १४ गते पुनः सोही जिल्लामा ५.९ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो ।

त्यसपछि बझाङ केन्द्रबिन्दु भएर लगातार ठुला भूकम्पहरू गए । २०८० असोज १६ गते एकै दिन ६.३ म्याग्निच्युड र ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको चार दिनपछि पुनः ५.३ म्याग्निच्युडको अर्को भूकम्प गयो । यसबिचमा ५ वा सोभन्दा बढीका थप परकम्पहरू गएका थिए ।

कार्तिक ५ गते मध्य नेपालको धादिङ केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । सोही दिन ५.१ म्याग्निच्युडको अर्को भूकम्प गयो । त्यसपछि यस क्षेत्रमा लगातार परकम्पहरू गएका थिए ।

हिजो शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर अर्को ठुलो भूकम्प गएको छ । हिजोको भूकम्पको तीव्रता ६.४ म्याग्निच्युडको रहेको थियो । ठुलो भूकम्पपछि त्यहाँ पनि लगातार परकम्पहरू गइरहेका छन् ।

पश्चिम नेपालमा लामो समयदेखि भूकम्प नगएका कारण त्यहाँ भूकम्पको ठुलो जोखिम रहेको विज्ञहरूले बताउँदै आएका थिए । पछिल्लो समय धेरै भूकम्पहरू सोही क्षेत्रमा केन्द्रित रहेको देखिन्छ ।

यी ठुला भूकम्पबाहेक पश्चिम नेपालका अन्य जिल्लाहरूमा ४ देखि ५ म्याग्निच्युडबिचका भूकम्पहरू गएको देखिन्छ । दार्चुला, बाग्लुङ, कास्की, हुम्ला, लम्जुङ, रुकुम पूर्व, गोरखा, मुगु, दैलेख र अछाममा स–साना भूकम्पहरू गइरहेको भूकम्प मापन केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप