आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
ग्राउन्ड जिरो

जाजरकोटवासीलाई रात कसरी बिताउने चिन्ता

‘माथिल्लो तलाबाट हाम फालेर धन्न भाग्यले बाच्न सफल भएँ’
शनिबार, २३ मङ्सिर २०८०, २० : ३७
शनिबार, २३ मङ्सिर २०८०

सुर्खेत । बेलुका ६ बजेतिर । झिसमिसे साँझ पर्न थालिसकेको थियो । शुक्रबार मध्यरातको भूकम्पका कारण त्रसित जाजरकोट सदरमुकाम खलंगाबासी भित्रै बस्ने कि बाहिर भन्ने आ–आफ्नो तरखरमा थिए । कोही कुम्लो, कुटुरो बोकेर सडक किनारामा थिए त कोही सडक किनारमा स–परिवार बसिरहेका थिए ।  

भेरी नगरपालिका–३, तल्लो थाप्लोको सडक किनारामा केही महिलाहरू पसलका अगाडि पालहरू ओछ्याउँदै गरिरहेको अवस्थामा भेटिए । उनीहरू भूकम्पको त्रासका कारण घरबाहिर नै बस्ने निधो गरेर बाहिर नै पाल ओछ्याएर बस्न थालेका रहेछन् । 

त्यहीँ नजिक भेटिए, गणेश खत्री (३१) । उनी शुक्रबार साँझको विनाशकारी भूकम्पबाट बालबाल बचेका रहेछन् । मलिन अनुहारमा आफ्नो पीडा सुनाउँदै भनिहाले, ‘बिहानदेखि पानीसम्म खान पाएको छैनौँ ।’ 

गणेश आफूलाई भाग्यले बाँचेको बताउँछन् । शुक्रबार भएका कारण उनका छोरा बज्यैसँग बजारभन्दा अलि नजिकैको गाउँमा गएका रहेछन् । त्यही घरमा बस्ने बहिनी र भाञ्जा पनि आफ्नै घर गएका रहेछन् । उनी एक्लै घरमा थिए । उनकी श्रीमती भने परीक्षा दिनका लागि बर्दिया गएकी छन् । 

उनी भन्छन्, ‘म एक्लै भएँ,  हेर्नुस्, यस्तो त हामीलाई कहिल्यै भएन । म मस्त निद्रामा थिएँ, भूकम्प आएर म जुरुक्क उठेँ । पछाडिबाट अगाडितर्फ घर ढलेको भए म बाँच्थिनँ । भत्किएको घरको आधा भाग बाहिर गयो मतिर आएन । जता घरको दैलो थियो, त्यता ।’ 

396808526_291577647113745_4810627773334252040_n

उनको घरको मूल ढोका सडकतर्फ नभई तल्लो साइडतर्फ फर्किएको छ । उनी निन्द्राबाट खुलञ्जेलसम्म मूल ढोकातर्फको भाग भत्किँदै आइसकेको रहेछ । उनी दोस्रो तलमा सुतेका थिए । पछि घरको ढोकातिर जान्छु भनेको घरको ढोकातिरको भाग भत्किएको उनले बताए ।

‘त्यसपछि माथिल्लो तलाबाट भत्किएकै ठाउँतर्फ  हामफालेर बाँचे,’ उनले भने, ‘ मैले कसरी हामफालेँ भन्ने कुरा म अहिले पनि सोच्न सक्दिनँ ।’ 

त्यसपछि उनले हामीलाई भत्किएको घर देखाउन लगे । भिरालो ठाउँमा रहेको उक्त कच्ची घरको आधा भाग भत्किएको रहेछ ।

उनले घरभित्रको कुनै पनि सामाग्री अहिलेसम्म उठाउन पाएका छैनन् । सुनदेखि उनको, बहिनी र श्रीमती डकुमेन्टहरू पनि भित्रै छन् । 

उनले उक्त घर द्वन्द्व कालमा बनाएको बताए । घर भत्किएपछि सबै परिवारलाई फोन गरेको उनले सुनाए । ‘त्यसपछि रातभर हामी जाग्राम बस्यौँ, बाहिर सडकमा । बजारको अवस्था निकै तनावग्रस्त थियो,’ उनले भने, ‘यस्तो त कहिल्यै भएन हजुर !’

उनले अहिले बाहिर बस्नका लागि पालसम्म पनि पाएका छैनन् । आजको रात कसरी बिताउने भन्ने चिन्ता उनीमा थियो । ‘हिजो रातभर उभिएर नै बस्यौँ, आज पनि के भर छ यो भूकम्पको निकै डर लाग्दो । आज पनि उभिएर नै त बस्ने होला,’ उनले चिन्ता व्यक्त गरे, ‘श्रीमतीलाई आइज भनेको छु ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप