आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
ग्राउन्ड जिरो

त्रासमा छ खलङ्गा !

शनिबार, २३ मङ्सिर २०८०, २० : ४९
शनिबार, २३ मङ्सिर २०८०

जाजरकोट । शुक्रबार जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भुइँचालोबाट सबैभन्दा बढी प्रभावित भएको क्षेत्र हो, सदरमुकाम खलङ्गा । सदरमुकाम भेरी नगरपालिकामा पर्दछ । 

भूकम्पले जाजरकोटका सबै क्षेत्र र रुकुम पश्चिमको पश्चिमी क्षेत्रको आठबीसकोट नगरपालिका र सानीभेरीमा क्षति पुर्‍याएको छ । जाजरकोट जिल्ला अस्पतालका सूचना अधिकारी कृष्ण बहादुर खत्रीका अनुसार जाजरकोटमा मात्र हालसम्म १०५ जनाको मृत्यु भएको छ । तीमध्ये ४२ जनाको जिल्ला अस्पतालमा मृत घोषित गरिएको छ ।

मृत्यु हुनेहरूमा जिल्लाका कुशे गाउँपालिका, नलगाड नगरपालिका, छेडागाड नगरपालिका र जुनीचाँदे गाउँपालिकाका रहेका छन् । जुनीचाँदे गाउँपालिकाका मृतकको सनाखत भने नभएको उनको भनाइ छ । अस्पतालमा मृत्यु भएका ४२ जनामध्ये ४१ शवको पोस्टमार्टम भइसकेको छ। ३४ वटा शव आफन्तले बुझिसकेका उनले बताए । 

उद्धार गरी जाजरकोट ल्याइएका घाइतेमध्ये २५ जनालाई बाहिर रिफर गरिएको खत्रीले जानकारी दिए । तीमध्ये २४ जनालाई सुर्खेत पठाइएको छ भने एक जनालाई नेपालगञ्ज पठाइएको छ । शनिबार बेलुका ६ बजे जिल्ला अस्पतालमा पुग्दा स्थिति सामान्य थियो । डाक्टरहरू फुर्सदमा देखिन्थे । 

371306526_840054847799210_5342176939468898160_n

सशस्त्र प्रहरीले त्यही बेला भेरी नगरपालिका–४, पिपलडाँडाबाट एक जना घाइतेको उद्धार गरेर ल्यायो । थप एक जना थपिएसँगै अस्पतालमा उपचाररत घाइतेहरूको सङ्ख्या चार पुग्यो ।  

त्रसित खलङ्गा 

शुक्रबार मध्यान्नको भूकम्पले जाजरकोट त्यसैमा पनि सदरमुकाम खलङ्गा त्रसित छ । स्थलगत अवस्था बुझ्न सुर्खेतबाट जाजरकोट सडकतर्फ लाग्दै गर्दा सवारी आवतजावतको अवस्था निकै बाक्लो थियो । एम्बुलेन्सहरूले निरन्तर ओहोरदोहोर गरिरहेका थिए । दिउँसो ३ः५० मिनेटमा सुर्खेत छाडेर जाजरकोट सीमामा लग्यौँ । 

केही अगाडि पुग्दा नदीमा एउटा शव जलाइँदै थियो । उक्त शव भेरी नगरपालिका–१३, कार्की गाउँकी १७ वर्षीया एकता खड्काको रहेछ । सडकमा महिलाहरु बसिरहेका थिए । उनीहरू रोइरहेका थिए । हामीले उनकी फुपु कस्तुरा बुढालाई घटनाबारे बुझ्ने प्रयास गर्‍यौँ ।  उनले एकता सदरमुकाम खलङ्गामा नै बसेर पढ्ने गरेको र शुक्रबार मध्यरातको भूकम्पका कारण घर भत्किएर मृत्यु भएको बताइन् । डेरा लगेर उनी, खलङ्गामा बस्थिन् । एकताका तीन भाइ बहिनी थिए, एकता माइली थिइन् । एसईई दिइसकेकी उनले सदरमुकामै बसेर केही तयारी गरिरहेकी थिइन् । 

कस्तुराले रुँदै भनिन्, ‘भूकम्प पनि अजिबको रहेछ, हाम्रो त कलिलो मुना चुँडेर लग्यो ।’ दुई घण्टा पछि अर्था पाँच बजेदेखि सदरमुकाम खलङ्गा पुग्दा मान्छेहरूको आवतजावत निकै बाक्लो थियो । सिधै जाजरकोट जिल्ला अस्पताल पुग्दा त्यहाँको अवस्था भने सामान्य नै थियो । किनकि घाइतेहरूको बाहिर रिफर भइसकेको र मृतकहरूको पनि लास बुझिसकेकाले खासै तनावग्रस्त अवस्था देखिएन ।, यद्यपि ठाउँ–ठाउँबाट सहयोगका लागि एम्बुलेन्स र मान्छेहरू अस्पताल बाहिर थिए । अस्पतालका सूचना अधिकारी कृष्णबहादुर खत्रीले दिनभरको अवस्था ब्रिफिङ गरे । 

368055729_863437118611067_8930875964793598989_n

यद्यपि घाइतेहरू आउने क्रम भने जारी रहेको उनको भनाइ थियो । ६ बजेपछि रात पर्न थालिसक्यो । हामी बजारतर्फ लाग्यो। तर, बजार निकै त्रसित थियो । अधिकांश नागरिकहरू घरभित्र नभई बाहिर सडकमा थिए । कोही कुम्लो कुटुरो बोकेर सडक आसपासका रुखहरूमा उभिएका त कोही किनारामा पालहरू ओछ्याएर बसिरहेका । साना बालकदेखि वृद्ध महिलासम्म । भेरी नगरपालिका–३, अन्तर्गत तल्लो थप्ला बजार क्षेत्रका अधिकांश मानिसहरू सडक बाहिर नै भेटिए ।  

पुनः भूकम्प आउने त्रासमा रहेका खलङ्गावासीहरू रातभर जाग्राम बस्ने निधो गरेर सडक बाहिर नै बसिरहेका छन् । स्थानीय जगत विकको घर पुरानो कच्ची थियो । भूकम्पले पूर्ण रूपमा क्षति गर्दा उनीहरू सडक किनारामा जाग्राम बसिरहेका छन् । ७ जनाको परिवार थियो जगतको । दुई तलाको चार कोठे घर । भूकम्पले पूर्ण क्षति गरिदियो । जगत भन्छन्,‘ घर भत्किँदा हामी भित्र थियौँ, १० मिनेटमा उद्धार भयो । भित्रबाट फोन गर्ने कति प्रयास गरेका थियौँ ।’ 

371517538_825994175987616_423200120195088677_n

उसो त खलङ्गामा जाडो बढेको छ । पीडितहरू खुल्ला आकाशमुनि पाखा बारीमा बस्न बाध्य छन् । अधिकांश घरहरू भत्किएका र चर्किएका छन् । भत्किएका घरमा लुगा कपडा, खाने अन्न तथा सम्पूर्ण जायजेथा सबै नष्ट भएको छ ।  घाइते र उनीहरूका परिवारको पीडादायक रोदन सुन्न नसकिने अवस्थामा छ भने अझै भूकम्पका स–साना पराकम्प गइरहेकै कारण सबै घरबाहिर बस्न थालेको उनीहरूको भनाइ छ ।

सुशीला खत्रीको ६ जनाको परिवार छ । घरको अधिकांश भागमा क्षति भएको छ । बस्न सकिने अवस्था नहुँदा आफैँले सञ्चालन गरिरहेको पसलको अगाडि जाग्राम छ, उनको परिवार । उनी भन्छिन्, ‘प्रशासनले भित्र नबस्न भनेको छ । भित्र कसरी बस्ने मनमा निकै डर, त्रास छ ।’ 

376468339_1368375813788490_1236400143047945524_n

प्रहरीले बजारमा गस्ती चलाइरहेको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष रोकका अनुसार सदरमुकाम खलङ्गाका मात्रै (भेरी नगरपालिका) ४२ जनाको मृत्यु भएको छ । 

खलङ्गामा कति घरहरुमा क्षति भएको छ भन्ने अझै यकिन तथ्याङ्क भने आउन सकिरहेको छैन । साथै मृतकहरूको पनि नामावली अहिलेसम्म बाहिर आएको छैन । 

पीडितहरूलाई न्यानो कपडा र खाद्यान्नसहित राहतको आवश्यक देखिन्छ । तर, अहिलेसम्म त्यो हुन सकिरहेको अवस्था छैन । डीएसपी रोककाले पीडितका लागि ठाउँ–ठाउँमा पालहरू टाँगिएको रातोपाटीलाई बताए । ‘केही ठाउँमा वितरणका लागि तयारी भइरहेको छ,’ उनले भने, ‘घरभित्र बस्ने अवस्था छैन । हामीले गस्ती गरेर सान्तवना दिने काम गरिरहेका छौँ ।’ 

396490668_1461669061233000_2737672662096723011_n

कति छन् घाइतेहरू ?

 हालसम्म जाजरकोटमा ८१, रुकुम पश्चिममा ७९ तथा दैलेख र जुम्लामा ३–३ जना गरी १६६ जना घाइते भएका छन् । घाइते मध्ये ५ जना डिस्चार्ज भएका छन् । 

कहाँ कति सुरक्षाकर्मी खटिएका छन् ?

प्रदेशको कानुन मन्त्रालयका अनुसार भूकम्प प्रभावित क्षेत्रमा ८५९ जना सुरक्षाकर्मीहरू खटाइएको छ । जाजरकोटबाट प्रहरी नायव उपरीक्षकको कमान्डमा ४५०, रुकुम पश्चिमबाट प्रहरी नायव उपरीक्षकको कमान्डमा ३२०, कर्णाली प्रदेश प्रहरी कार्यालय र गण सुर्खेतबाट ३९, चौरजहारी वेश क्याम्पबाट २०, नेपाल प्रहरी अस्पतालमा चिकित्सकहरू ११ जना, सल्यानबाट १० र इलाका प्रहरी कार्यालय बादेपिपल सुर्खेतबाट ९ जना प्रहरी खटिएका छन् । यस्तै नेपाली सेना र सशस्त्र प्रहरी पनि उत्तिकै मात्रामा खटिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप