आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
टिप्पणी

कोशीको घटनाले विश्वासको संकटमा शेखर कोइराला

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाको आलोचना गरेर एमालेसँग मिलेका कोइराला अब के गर्छन् ?
आइतबार, १६ वैशाख २०८१, ०९ : १८
आइतबार, १६ वैशाख २०८१

कोशी प्रदेश सरकारमा पुनः केन्द्रीय गठबन्धन कायम भएको छ । एमालेले मुख्यमन्त्री बनाएका केदार कार्की २० दिनमै पुरानै गठबन्धनमा फर्किएका छन् र उनले गठबन्धनको निर्देशन अनुसार सरकार विस्तार गरेका छन् ।

उनले सरकार विस्तार गरेसँगै एमाले भने सरकारबाट बाहिरिएको छ । एमालेबाट सरकारमा सहभागी मन्त्री रामबहादुर राना मगरले शनिबार बिहानै राजीनामा दिइसकेका छन् । एमालेको वैशाखीमा कोशीमा कांग्रेसभित्र विद्रोह गराएका डा.शेखर कोइरालाले ठुलो सफलता पाएको प्रचार भयो ।

तर एक महिनामा भएको घटनाले सबैभन्दा बढी विश्वासको संकटमा तिनै कांग्रेस नेता कोइराला पुगेका छन् । उनले आफ्नो मान्छेलाई मुख्यमन्त्री बनाउन सफलता हात पारे पनि राजनीतिक हिसावले आफ्नै पार्टी र अन्य दलहरुसँगको विश्वास भने टुटाएका छन् । उनलाई अब सबै राजनीतिक दलले शङ्काको दृष्टिले हेर्ने छन् भने आफ्नै पार्टीभित्र पनि एक्ल्याउने प्रयास सुरु हुने देखिन्छ ।

कोशी प्रदेश डा. शेखर कोइरालाको गृहप्रदेश पनि हो । यहाँबाट आफ्नो राजनीतिक हैसियतको मापन गर्ने कोसिस गरेका कोइराला वर्तमान सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कटु आलोचक पनि हुन् । उनले स्थानीय तह निर्वाचनको समयमा पनि माओवादीसँग गठबन्धन गरेर निर्वाचनमा जान नहुनेमा जोड दिए । संसदीय निर्वाचनमा भने गठबन्धनको पक्षमै मत मागे । निर्वाचन जितेपछि फेरि गठबन्धनको विपक्षमा गएर एमालेसँगको साँठगाँठमै ध्यान केन्द्रित गरे ।

आफ्नै पार्टी सहभागी सरकारले गरेका कतिपय कदममा प्रमुख विपक्षी दल नेकपा एमालेले भन्दा अगाडि सरेर विरोध गर्ने गरेका उनले नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा आफ्नो गुटमा रहेका कांग्रेसका सांसद डाक्टर सुनिल शर्मा पक्राउ परेपछि सरकारविरुद्धको आलोचना र तिखो टिप्पणी झनै बढाए । डाक्टर शर्माले आफ्नै पार्टी सहभागी भएको सरकारको गृहमन्त्रीको राजीनामा मागिरहेका बेला डाक्टर कोइरालाले त्यसभन्दा अगाडि बढेर प्रधानमन्त्री प्रचण्डकै राजीनामा माग गरे । कोशी प्रदेशमा अहिलेको सरकार बन्नुभन्दा अगाडिसम्म कोइरालाले त्यो आलोचनालाई कायमै राखे ।

एकोहोरो आफ्नै पार्टीको संस्थागत निर्णयविरुद्ध, गठबन्धनको विरुद्ध र प्रधानमन्त्रीको विरुद्धमा अभिव्यक्ति दिँदै देश दौडाहा गरिरहेका कोइरालालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले झनै हौस्याए । नक्कली भुटानी शरणार्थी काण्ड, सुन तस्करी काण्ड, नक्कली शैक्षिक प्रमाणपत्र काण्ड, बालुवाटार जग्गा काण्डको छानबिनमा सरकार लागिरहँदा एमालेले गरेको विरोधलाई नै बल पुग्ने गरी आफ्ना गतिविधि बढाउन कोइरालाको राजनीतिक उचाइले दिँदैन थियो । तर, उनले त्यही गरे ।

पछिल्लो समय कोशी प्रदेशको सरकार गठनसम्म आइपुग्दा त उनले आफ्नै समूहमा रहेका कांग्रेसका महामन्त्री गगन थापादेखि, उपसभापतिसमेत रहेका धनराज गुरुङ, गुरुराज घिमिरेलगायतका नेतासम्मलाई मतलब गरेनन् । उनीहरुसँग सल्लाह नै नगरी कोशीमा एमालेसँग मिलेर आफ्नै पार्टीभित्र अविश्वासको बिउ रोपे । पार्टीका महामन्त्रीलगायत संस्थापन पक्षसँग असन्तुष्ट अरु नेताहरुसँगको अविश्वास झनै बढाउन कोइरालाको कदमले बल पुग्यो ।

प्रधानमन्त्री र पार्टी सभापति देउवाले नै विश्वास गर्न छोडिरहेका बेला कोइरालालाई कांग्रेसभित्रकै अरु नेताहरुले अविश्वास गर्नु उनको आगामी राजनीतिका लागि तगारो बन्न सक्छ । यस्तै अहिले आएर कोइरालालाई ठुलो विश्वास गरेर कोशी प्रदेशमा गठबन्धन तोडाउने एमाले अध्यक्ष ओलीले गरेको राजनीतिक ‘डिल’लाई पनि उनै कोइरालाले पन्छाइदिए । यसले विपक्षी दलसँगको विश्वासमा पनि कोइरालालाई संकट उत्पन्न हुने देखिन्छ ।

आगामी दिनमा उनले यो विश्वासको संकटलाई हल नगरे थप राजनीतिक उचाइ प्राप्त गर्न कठिन हुने देखिन्छ । देशको प्रधानमन्त्री भएर यावत समस्या समाधान गर्ने मनसायका साथ अगाडि बढिरहेका कोइरालाले बाहिर देखाउनका लागिमात्रै होइन, आगामी दिनमा प्राप्त गर्ने उद्देश्यतिर केन्द्रित हुन जरुरी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप