आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

विश्वकपमा आज : भारतलाई दक्षिण अफ्रिकाविरुद्ध ह्याट्रिकको मौका

एकदिवसीयमा भारतविरुद्ध दक्षिण अफ्रिकाको रेकर्ड बलियो
आइतबार, १६ वैशाख २०८१, ०९ : ५६
आइतबार, १६ वैशाख २०८१

कोलकाता । एकदिवसीय विश्वकपको उपाधि दाबेदार दुई टोली भारत र दक्षिण अफ्रिका आज भिड्दैछन् । खेल कोलकाताको इडेन गार्डेन मैदानमा दिउँसो २:१५ बजे सुरु हुनेछ । दुवै टोली लिग चरणका ३६ खेल सकिएपछि अंक तालिकाको पहिलो र दोस्रो स्थानमा छन् ।

दुवै टोलीले सेमिफाइनलमा स्थान बनाइसकेका छन् । भारतको १४ अंक छ भने दक्षिण अफ्रिकाको १२ अंक छ । यस्तो अवस्थामा आजको खेल जित्ने टोली शीर्ष स्थानमा रहनेछ । लिग चरण पनि यही स्थानमा समाप्त गर्न सक्नेछ ।

सन् १९९२ को एकदिवसीय विश्वकपमा भारत र दक्षिण अफ्रिकाको टोली पहिलो पटक आमनेसामने भएका थिए, खेलमा भारत पराजित भएको थियो । त्यसपछि सन् २०११ सम्म विश्वकपमा दुई टोली तीन पटक आमनेसामने भए । तीनै खेलमा दक्षिण अफ्रिका विजयी भएको थियो । सन् २०१५ र २०१९ को विश्वकपका दुवै खेलमा भने भारतले जितेको थियो। आजको खेल जिते भारतले प्रतियोगितामा दक्षिण अफ्रिकामाथि जितको ह्याट्रिक गर्नेछ ।

हेड टू हेड

दुई टोलीबिच एकदिवसीयमा ९० खेल खेलिएका छन् । भारतले ३७ र दक्षिण अफ्रिकाले ५० खेलमा जीत हात पारेको छ । तीन खेल पनि नतिजाविहीन भएका थिए । दुवैबिच पछिल्लो पटक गत वर्ष अक्टोबरमा भारतमा भिडन्त भएको थियो । भारतले ३ खेलको शृङ्खला २–१ ले जितेको छ ।

२०११ को सम्झना

सन् २०११ को विश्वकपमा च्याम्पियन बनेको भारतीय टोलीले समूह चरणमा एक खेल मात्रै हारेको थियो । त्यतिबेला दक्षिण अफ्रिकाले नै भारतलाई हराएको थियो। नागपुरमा भएको समूह चरणको खेलमा दक्षिण अफ्रिका ३ विकेटले विजयी भएको थियो । त्यो खेलमा सचिन तेन्दुलकरले आफ्नो ४८ औँ एकदिवसीय शतक बनाए । विश्वकप करियरमा उनको यो छैटौँ शतक पनि थियो।

भारतलाई झट्का

यो रोमाञ्चक खेलअघि भारतलाई ठुलो झट्का लागेको छ । भारतीय टोलीका स्टार अलराउन्डर तथा उपकप्तान हार्दिक पाण्ड्या चोटका कारण विश्वकपबाट बाहिरिएका छन् । अक्टोबर १९ मा बंगलादेशविरुद्ध पुणेमा भएको खेलमा खुट्टामा चोट लागेका कारण हार्दिक घाइते भएका थिए । त्यसपछि उनले कुनै खेल खेलेनन् । उनको स्थानमा फास्ट बलर प्रसिद्ध कृष्णालाई टिममा समावेश गरिएको छ ।

भारतीय खेलाडीको उत्कृष्ट फर्म जारी छ

आयोजक भारत प्रतियोगिताभर उत्कृष्ट लयमा रहेको छ । टिमका ब्याट्सम्यान होस् वा बलर सबैले आफ्नो शतप्रतिशत मैदानमा दिएका छन् । 

प्रतियोगिताभर टिमको फिल्डिङ उत्कृष्ट रहेको छ । विराट कोहलीले ७ खेलमा टिमका लागि सर्वाधिक ४४२ रन बनाएका छन् । जबकि तीव्र गतिका बलर जसप्रित बुमराह १५ विकेट लिएर टिमका सर्वाधिक विकेट लिने खेलाडी हुन् ।

डी ककको नाममा चार शतक

दक्षिण अफ्रिकी टोली पनि उत्कृष्ट लयमा देखियो । टोलीको ७ मध्ये एक खेलमा मात्र नेदरल्यान्ड्ससँग हार बेहोरेको थियो । टोलीका लागि विकेटकिपर ब्याट्सम्यान क्विन्टन डी ककले सर्वाधिक ५ सय ४५ रन बनाएका छन् । उनी प्रतियोगिताको सर्वाधिक रन बनाउने खेलाडी पनि हुन् । 

उनको नाममा ७ खेलमा ४ शतक पनि छ । त्यस्तै मार्को जान्सन १६ विकेट लिएर टोलीका शीर्ष बलर हुन् ।

खेलसँग सम्बन्धित केही तथ्य

-४८ शतक बनाएका विराट कोहली सचिन तेन्दुलकरको एकदिवसीयमा सर्वाधिक शतकको कीर्तिमान बराबरी गर्न एक शतक टाढा छन् । आज शतक पूरा गरेर कोहलीले आफ्नो ३५ औँ जन्मदिन विशेष बनाउन सक्छन्। 

-दक्षिण अफ्रिकाका केशव महाराजले २ विकेट लिएर आफ्नो एकदिवसीय करियरमा ५० विकेट पूरा गर्नेछन् ।

-लुंगी एनगिडीले श्रेयस अय्यरलाई एकदिवसीय क्रिकेटमा ३० बलमा ४ पटक आउट गरेका छन् ।

पिच रिपोर्ट

कोलकाताको इडेन गार्डेन स्टेडियमको विकेट ब्याटिङका ​​लागि सधैँ सहयोगी रहँदै आएको छ । यस विश्वकपमा हालसम्म यहाँ २ खेल खेलिएका छन् । यहाँ कुल ३३ एकदिवसीय खेलिएका छन् । पहिले ब्याटिङ गर्ने टोलीले १९ खेल जितेको छ भने पछि ब्याटिङ गर्ने टोलीले १३ खेल जितेको छ । एक खेल भने नतिजा आउन सकेन ।

यस मैदानमा उच्चतम स्कोर ४ सय ४ रन हो, जुन भारतले सन् २०१४ मा श्रीलंकाविरुद्ध बनाएको थियो। सबैभन्दा कम स्कोर १२३ रन हो, जुन वेस्ट इन्डिजले सन् १९९३ मा भारत विरुद्ध बनाएको थियो।

मौसम पूर्वानुमान

आइतबार कोलकाताको मौसम सफा हुनेछ। वर्षाको सम्भावना ४ प्रतिशत छ। यस अवधिमा हावाको गति ११ किलोमिटर प्रतिघण्टा रहनेछ । तापमान २३ देखि ३३ डिग्री सेल्सियस सम्म हुन सक्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप