आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गाउँमा गाउँ छैन

मङ्गलबार, ११ वैशाख २०८१, १२ : ००
मङ्गलबार, ११ वैशाख २०८१


म यतिबेला गाउँमा छु
तर,
गाउँ यतिबेला गाउँमा छैन
लागेको थियोे पोहोर परारझैँ
बाल्यकालका साथी भेटिन्छन्
बचपनका यादहरु मेटिन्छन्
तर, यतिबेला  
गाउँमा बचपनका साथी छैनन् ।

बजारबाट झोला भिँडेर 
गाउँ पस्दै गर्दा
चौतारा पेटीमा बस्दै गर्दा
‘कहाँबाट आइस्, ल पानी खा’
भनेर चिसो पानी दिने
चौतारा घरको दिदी
यतिबेला गाउँमा छैनिन् ।

स्पिकरमा गाना घन्काउँदै 
उकाली ओरोली गर्दै
कुम्लो कुटोरो बोक्दै 
दसैँ, तिहारमा लाहुरबाट फर्कने 
लाहुरे दाइ पनि गाउँमा आछैनन् । 

गाउँको भट्टीमा रक्सी पिएर
दुनियाँलाई बचन दिएर हिँडने 
धुरीघरे काका पनि गाउँमा छैनन्
गाउँ यतिबेला सुनसान छ
सुनसान हुनाले नमज्जा छ।

अर्म, पर्म गर्दै खेतीबाली स्याहर्ने
जोताइ खनाई गर्दै खेत छर्ने 
पल्लाघरे साइलो, पारीघरे गौरी
माझघरे कान्छो, खोला घरे सेतु
कोही पनि यतिबेला गाउँमा छैन।

वडासचिव भएका मामाले
स्कुल पढाउने नेपाली सरले
वडासदस्य चुनिएका पुसाइले
घर सहरमा बनाए, 
दसैँ पनि उतै मनाए
गाउँमा यतिबेला कोही छैन
त्यसैले, गाउँमा रमाइलो पनि छैन।

छन् त गाउँमा, 
छोरो आउँछ कि भनी खोक्दै
बाटो कुरिरहने आमाहरु छन्
बा, बा भन्दै बोल्न सिक्दै गरेका
तर, बालाई नदेखेका बालबच्चाहरु छन्

श्रीमान्ले पठाएको पैसाले 
घर सम्हालेका महिलाहरु छन्
भोलि विदेशिने भाग्य बोकेका
स्कुले भाइबहिनीहरु छन्

यति हुँदा गाउँ आधा छ 
के भनुँ, बस्
गाउँजस्तो गाउँ छैन
गाउँमा, गाउँ छैन ।

त्यसैले फेरि, आज म
गाउँ खोज्न सहरमा छु
हिजो सहरका चोक चोकमा
भेटिने गाउँलेहरु 
भेटिन्छन् कि भन्ने आशमा छु

आखिर
सहरमा पनि कोही छैन
सहरमा पनि गाउँ छैन
भेटिएका,
दुई चार गाउँले अनुहारहरु
त्रिभुवन विमानस्थल अगाडि छन्
बाँकी गाउँ खोइ कहाँ छ?

खोज्दै जाँदा 
पत्तो पाए गाउँ देशमा छ
हरेक देश, देशमा छ 
तर,
मेरो गाउँ,
मेरो देश बाहेकको देशमा छ
अर्थात् विदेशमा छ 

गाउँमा नभेटिएको गाउँ 
यहाँ नभेटिएको नाउँ
सायद,
अब विदेशमै भेटिन्छ होला ।
गुराँस गापा–७, लालीकाँडा, दैलेख
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र कुमार बिसी ‘दिपु’
दीपेन्द्र कुमार बिसी ‘दिपु’
लेखकबाट थप