आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
ग्राउण्ड जिरो

उद्धार र शव व्यवस्थापनको काम सकियो, अबको ध्यान राहत र पीडितको व्यवस्थापनतिर

राहतको पर्खाइका भूकम्प प्रभावित
आइतबार, २४ मङ्सिर २०८०, १७ : ५४
आइतबार, २४ मङ्सिर २०८०

जाजरकोट । शुक्रबार मध्यराति गएको शक्तिशाली भूकम्पपछि जाजरकोटमा कैयन सर्वसाधारण घरबारविहीन भएका छन् । भूकम्पले घरहरू पूर्णरुपमा क्षति भएका कारण उनीहरू सडक किनार र खुला आकाशै बस्न बाध्य छन् । प्रभावितहरू यतिबेला राहतको पर्खाइमा देखिन्छन् ।

भूकम्पबाट अति प्रभावित भएकोमध्येको एक हो, भेरी नगरपालिका । सोही नगरपालिकाको वडा नम्बर १ स्थित रावत गाउँ यतिबेला शोकमय छ । यहाँका ६ जनाको भूकम्पमा परी मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् ।

 सदरमुकाम नजिकै भए पनि यो गाउँमा अहिलेसम्म राहत सामाग्री पुग्न सकिरहेको छैन । भेरी नदी किनारमा रहेको यो बस्तीका अधिकांश पुराना र कच्ची घरहरू भत्किएका छन् । केही घर नढलेपनि चर्किएर बस्नै नमिल्ने अवस्थामा छन् । आइतबार बिहान साढे ७ बजे रातोपाटी प्रतिनिधि त्यहाँ पुग्दा केही स्थानीयहरू यसअघि तरकारीका लागि प्रयोग हुँदै आएको प्लास्टिकको टनेलमा बसिरहेको अवस्थामा भेटिए । 

स्थानीय बिर्मी खड्काको ८ जनाको परिवार छ । भूकम्पले घर पुरै क्षति हुँदा उनीहरूको बास घरनजिकैको टनेलमा छ । ‘यो भुईँचालो पनि ठुलो आउँदो रहेछ, पहिला पहिला हल्लायो भने भुईँचालो आयो भन्थेँ, अहिले त हामीलाई नै पीडा भरेर गयो’, उनले भनिन् । भौतिक क्षति भए पनि भाग्यले मानवीय क्षति नभएको उनको बताइन् । घरभित्रै हुँदा भूइँचालो आएर टाउकोमा माटो पर्न थालेपछि आफूहरू भागेर बाँच्न सफल भएको उनले बताइन् । उक्त टनेलमा उक्त बस्तीका अन्य पाँच परिवारहरू पनि बस्छन् ।

367983646_1008154160248403_5756673962000909798_n

 यद्यपि अहिलेसम्म कुनै राहत सामग्री नपाएको गुनासो उनीहरूको छ । लत्ता कपडा र खानेकुरा सबै घरमा च्यापिएको र घरमा बस्नै सकिने अवस्था नभएको भूकम्प प्रभावितहरूको गुनासो छ । यो बस्तीका कतिपय भूकम्प पीडितहरू पराल ओछ्याएर बसिरहेका थिए । यस्तै भूकम्पमा मृत्यु भएकाहरू सो गाउँका ६ जनाको आइतबार भेरी नदीमा अन्तिम संस्कार गरिएको छ । 

प्रकाश रावत (३७)ले आमा र दाइ गुमाए । उनको घर पूर्ण रूपमा क्षति भएको छ ।  अहिले दुई थरी तनावले के गर्ने भन्नेमा अन्योलमा छन्, उनी । एकातिर आमा र दाइ गुमाएको पीडा अर्कातिर घरमा क्षति भएर जायजेथा सबै नष्ट । उनी भन्छन्, ‘यस्तो विपत्ति त हामी गरिब, दुःखीलाई मात्रै किन आउँदो हो ।’ 

रावत गाउँ मात्र होइन, भूकम्पले प्रभावित भेरी नदी किनारका बारीपारिका सबै बस्तीका नागरिकहरू राहतको पखाईमा छन् । नदीको वारी जाजरकोटको भेरी नगरपालिका, नलगाड नगरपालिका र नदी पारी रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका बस्तीहरू छरिएको अवस्थामा छन्, जहाँका नागरिकहरू भूइँचालोले निकै पीडामा छन् । 

आइतबार मृत्यु भएकाहरूको दाहसंस्कारले नदी किनारको माहौल शोकाकुल थियो । भेरी करिडोर अन्तर्गत नदीका विभिन्न ठाउँमा मृत्यु भएकाहरुलाई जलाइरहेका भेटिन्थे । घाइतेको उद्धार र मृत्यु भएकाहरूको दाहसंस्कारसँगै प्रभावित नागरिकहरूलाई ठुलो समस्या हो, गाँस, बास । जाजकोटतर्फका कालेगाउँ, रावत गाउँ, रिम्ना, चिउरी लगायतका थुप्रै गाउँहरु भूकम्पबाट प्रभावित छन्, भने नदी पारी रुकुम पश्चिमको आठबिसकोटको छेपारे लगायतका बस्तीहरू छन् । 

371452417_867836208054677_4353809457237915033_n

एकातिर नदीको चिसो सिरेटो, अर्कातिर लत्ताकपडा भत्किएको घरभित्र छ । खाद्यान्न समेत घरसँगै पुरिँदा खानाको समस्या भइरहेको आठबिसकोट नगरपालिका–१४, छेपारेकी गीता पुनले बताइन् । छेपारे गाउँका ४० बढी घरमा भूकम्पले क्षति पु¥याएको छ । ‘अहिलेसम्म हामीले केही पाएका नाइँ, क्या खान्या हो, जाडो निकै बढ्यो, पर खेतमा खुला आकाशमाथि बस्या छौँ,’ उनले भनिन्, ‘त्रिपाल त दिन्या भन्या छन्, आएको नाइँ ।’ 

नलगाडको चिउरे गाउँका १८६ घरमै भूकम्पले क्षति पु¥याएको छ । केही चर्किएका छन् भने अधिकांश घरहरू पूर्णरुपमा क्षति भएका छन् । सम्भवतः जाजरकोटका सबैभन्दा बढी क्षति र प्रभावित भएको गाउँ नै, यही हो । यो गाउँमा १३ जनाले ज्यान गुमाएका छन् । दलित समुदायको बसोबास भएका यहाँका अधिकांश मान्छेहरू रोजगारीका लागि काला पहाड जाने गरेका छन् ।  उब्जनीले छाक टार्न मुस्किल हुन्छ । किनेर नै खानुपर्ने यो गाउँको साढे ९ सय जनसङ्ख्या अहिले बारीमा खुला आकाशमुनि छ । यो गाउँको जमिन समेत चिराचिरा परेको छ भने सडकहरू समेत भत्किएका छन् । स्थानीय कलिवान विक (६१) ले भने, ‘हिजो राति शव कुर्नमै बित्यो, अन्न सबै घरमा पुरियो, पेटभरी खान पाइएको छैन, निकै चिसो छ । हामीले लगाएको कपडा बाहेक कुनै पनि सामाग्री निकाल्न पाएनौँ ।’ 

उनले तत्काल खाद्यान्न, त्रिपालसहित ओढ्ने–ओछ्याउने कपडाको व्यवस्थापन भए आफूहरुलाई राहत हुने बताए । 

371526894_2601951169959391_2181388251502562474_n

यी त केही उदाहरण मात्र हुन्, सदरमुकाम खलंगाका भूकम्प प्रभावितहरूको पनि समस्या उस्तै हो । प्रभावित क्षेत्रमा उद्धार र शव व्यवस्थापनको काम करिब सकिएपनि राहत पुग्न सकेको छैन । 

शुक्रबार जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट जाजरकोटका १०५ जनाको मृत्यु भएको छ भने ८१ जना घाइते छन् । पक्की घर बाहेक परम्परागत ढुङ्गा र काठबाट बनेका अधिकांश घरहरू भत्किएका छन् । 

सरकारी तथा दातृ निकायहरु राहतको काम सुरु गरेपनि व्यवस्थित भइसकेको देखिँदैन ।  अधिकांश उद्धारको काम शनिवार नै सकिएको र राहत वितरणका लागि तथ्याङ्क संकलन भइरहेको स्थानीय पालिका र प्रशासनको भनाइ छ ।

 भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले उद्धारको काम सबै सकिएको र राहत वितरणमा ध्यान केन्द्रित भइसकेको बताए ।  रातोपाटीसँग उनले भने, ‘हाम्रो पालिकाभर ४२ जनाको मृत्यु भयो भने एक हजार भन्दा बढी घरधुरीमा क्षति भएको अनुमान छ । वास्तविक डाटा संकलनको काम भइरहेको छ । त्यसपछि राहत वितरणको काम हुन्छ ।’ 

यद्यपि सदरमुकाम खलंगा लगायतका केही बस्तीका नागरिकहरूलाई भने राहत सामग्री दिएर सुरक्षित ठाउँमा राखिएको उनले बताए । तथ्याङ्क संकलनका लागि सबै वडा सचिवदेखि जनप्रतिनिधिहरू सक्रिय छन् । ‘आंशिक रूपमा क्षति भएका नागरिकहरू पनि घरमा बस्ने स्थिति छैन,’ घर्तीले भने, ‘यद्यपि हामी राहत र व्यवस्थापनको लागि प्रयासरत छौँ ।’

370602455_366615275755931_8107742573673957195_n

जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो तथ्याङ्क अनुसार जाजरकोट जिल्लाभर ९०५ घर पूर्ण रूपमा क्षति भएका छन् भने दुई हजार ७४५ घरहरूमा आंशिक क्षति भएको छ । घरधुरीको सङ्ख्या भने आउन अझै बाँकी रहेको जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखाले जानकारी दियो ।

राहतको विषयमा भने भेरी नगरपालिका–३, थाप्लेबाट वितरणको कामहरू सुरु भइसकेको प्रशासनले जनाएको छ । 

यता रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरि पन्त लम्सालले प्रारम्भिक तथ्याङ्क अनुसार जिल्लाभर दुई हजार एक सय घरधुरीमा आंशिक क्षति भएको बताए ।  दुई हजार घरहरू पूर्ण रूपमा क्षति भएको उनको भनाइ छ ।  ‘राहत अलि पेचिलो विषय हो, सामाजिक आलोचनाको विषय पनि हो,’ उनले भने, ‘हामीले जिल्लामा प्राप्त भएको विवरण पालिकामा पु¥याउने, पालिकाको संयन्त्रबाट सुरक्षाकर्मी, प्रशासनको प्रतिनिधि समेत सहभागी भएर वितरण गरिने छ । त्यसका लागि स्थानीय पालिकाहरू र विपद् व्यवस्थापन समितिको बैठक बसेर तयारी गर्दै हुनुहुन्छ, त्यसपछि जिल्लाको विपद् समितिको बैठक बसेर तत्काल खाद्यान्न, कम्बल लगायतका सामाग्री वितरण गर्ने भन्ने कुरा भइरहेको छ ।’

384565697_6834565373290493_3823028521606709745_n

कर्णाली प्रदेश सरकारका अर्थमन्त्री बेदराज सिंहले पीडित परिवारको लागि राहतका लागि पहल भइरहेको बताए । शनिवार उद्धारमै समय बितेको र आइतबारदेखि नै वितरणका लागि पहल भइरहेको उनले बताए। बासका लागि त्रिपालको व्यवस्थापन सहित राहत सामाग्रीहरू लोड भइरहेको उनको भनाइ छ । प्रदेश सरकारका प्रवक्ता कृष्णबहादुर जिसीले राहत वितरणको कार्य एकद्वार प्रणालीमार्फत गरिने बताए । प्रदेशबाट जिल्ला प्रशासन कार्यालयमार्फत राहत वितरण हुने भन्दै उनले प्रशासनमा भएको रेकर्ड अनुसार सबैलाई राहत उपलब्ध गराइने स्पष्ट गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप