आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हरेक कुरामा बच्चा रिसाउन र झगडा गर्न थाल्यो भने के गर्ने ?

आइतबार, २४ मङ्सिर २०८०, १८ : ३३
आइतबार, २४ मङ्सिर २०८०

काठमाडौँ । किशोर किशोरीहरूलाई सम्हाल्नु चानचुने कुरा होइन । कुनै बेलाको चकचके र मायालु बच्चा अचानक चिडचिडे हुँदै जान्छ । स्वभाव फेरिँदै जान्छ । आफू भन्दा ठूलाको खिसी गर्ने, अपमान गर्ने भइसक्छ ।  

बच्चालाई के भइरहेको छ भनेर अभिभावकले भेउ पाउनु अघि नै बच्चा झगडालु हुन्छ, हरेक कुरामा रिसाउने भइसक्छ । यस्तो स्थितिमा बच्चालाई कसरी फकाउने ? सही बाटो कसरी देखाउने ? 

के रिसाएर उसलाई गाली गरेर स्थिति नियन्त्रणमा ल्याउनु ठिक हुन्छ ? सावधान, यो निकै घातक सिद्ध हुनेछ । यस्तो गर्नुभन्दा समझदारी देखाउनु वेश हुन्छ । आज हामी यस्ता विद्रोही स्वभावका बच्चाहरूलाई कसरी सम्हाल्ने भनेर जानकारी दिँदैछौं ।

बच्चालाई बुझ्ने कोसिस गर्नुस्

आफ्नो बच्चाको गलत व्यवहारले हरेक अभिभावकलाई बिझाउँछ, चित्त दुःख्छ । तर, विद्रोही बच्चालाई गाली गर्नुको सट्टा समझदारी देखाउनु वेश हुन्छ । 

रिसाहालाई रिसै देखाएर साम्य पार्न सकिन्न । आफू शान्त बनेर उनीहरूको रिसलाई तार्किक ढंगले सम्झिने कोसिस गर्नुहोस् । यतिबेला बच्चामा शारीरिक र मानसिक बदलाव आइरहेको हुन्छ । यस्तोमा बच्चा जतिबेला पनि रिसाइरहने हुन्छ । आफैँले धैर्यता देखाएर उनीहरूको अवस्थालाई बुझ्ने, मनन गर्ने कोसिस गर्नुस् ।

बच्चासँग मित्रवत् व्यवहार गर्नुस्

किशोरावस्थामा बच्चाको व्यक्तित्व विकास भइरहेको हुन्छ । तर, यतिबेला कहीँ न कहीँ उनीहरूले सिक्ने पनि अभिभावकबाटै हो । यस्तोमा उनीहरुसँग संयमित र मित्रवत् व्यवहार गर्नुस् । 

उनीहरूलाई हरेक कुरामा कराउने गर्नु भयो भने उनीहरूले पनि तपाईँलाई मुख फर्काउन थाल्छन् । तपाईँको उग्र व्यवहारले उनीहरू झन् झन् उग्र बन्दै जान्छन् ।

तर, तपाईँले छोराछोरीसँग मित्रवत् व्यवहार देखाउनु भयो भने बच्चा रिसाएको बेलामा आफ्नो नजिक राखेर उनीहरूलाई शान्त पार्न सक्नुहुनेछ । 

बच्चाले अभिभावकसँग लजिकल कुरा गर्न थालेपछि उनीहरुमा सामाजिक विकास पनि हुन्छ । उनीहरुले अर्को व्यक्तिको कुराकानी अनि उनीहरूको दृष्टिकोणको सम्मान गर्न सिक्छन् ।

बच्चालाई सधैँ छुट दिनु हुन्न

अभिभावकले बच्चामा आउने हरेक परिवर्तनमाथि ध्यान दिन निकै जरुरी हुन्छ । केही अभिभावकहरुले किशोरावस्थामा बच्चामा आउने परिवर्तनलाई सामान्य मानेर खासै ध्यान दिँदैनन् । अनि बच्चालाई एक्लै ती समस्यासँग जुध्न छाडिदिन्छन् । ती समस्याबाट बाहिर आउन मद्दत गर्दैनन् । बच्चाले एक्लै संघर्ष गर्छ । 

तरm यस्तो गर्नु ठीक होइन । तपाईँले यस्तो गर्नुभयो भने उनीहरुले गलत बाटो समात्न सक्छन् । बच्चा समझदार बनुन् भन्नका खातिर केही नियम बनाउनुस् अनि ती नियमको पालन गरेका छन् भन्ने सुनिश्चित गर्नुस् ।

बच्चाको संगतमा ध्यान दिने

समझदार अभिभावकले सधैँ आफ्नो किशोरावस्थाको बच्चाको संगत कस्तो छ, उनीहरुको हिमचिम रहेका साथीभाई कस्ता छन् भन्ने कुरामा ध्यान दिन्छन् । बच्चाको बढ्ने उमेर नै यही हो । 

यस्तोमा समय समयमा छोराछोरीका साथीहरुलाई घरमा बोलाउनुस् । बाहिर पनि साथीहरुलाई भेटघाट गर्न दिनुस् । ती बच्चाका अभिभावकहरुसँग पनि कुराकानी गर्नुस् । विद्यालय र कोचिङका शिक्षकलाई भेट्नुस् । यस्तो गरेर बच्चालाई खराब संगतमा पर्नबाट जोगाउन सकिन्छ ।

असफल भएको बेलामा मनोबल गिराउने काम नगर्नुस्

तपाईँको छोरा, छोरी कुनै चिजमा असफल भए या कुनै कुरामा दुःखी छन् भने उनीहरुलाई लेक्चर दिने काम नगर्नुस् । आफू असफल भएको पछुतो बच्चालाई पनि हुन्छ । यस्तोमा तपाईँले उल्टै गाली गरिदिनु भयो भने बच्चालाई बाआमाले आफ्नो भावना नबुझेको महसुस हुन्छ । 

बरु उनीहरुको हौसला बढाउनुस्, हिम्मत दिनुस् । यस्तोमा तपाईँको विद्रोही स्वभावको छोरा छोरी पनि बिस्तारै बिस्तारै समझदार बन्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप