आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेस र एमालेले देशभरका उद्योग बेचेर खाए : उपेन्द्र यादव

आइतबार, २४ मङ्सिर २०८०, २१ : १८
आइतबार, २४ मङ्सिर २०८०

बारा । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस र नेकपा एमालेले देशभरका उद्योग बेचेर खाएको आरोप लगाएका छन् ।

दीपावली तथा छठ पर्वको अवसरमा बाराको बरियारपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले वीरगञ्ज चिनी कारखाना, कृषि औजार कारखाना, विराटनगर जुट मिल, हेटौंडा कपडा कारखाना, बाँसबारी जुत्ता, हेटौंडा सिमेन्ट कारखाना नेपाली कांग्रेस र एमालेले बेचेर खाएको आरोप लगाएका हुन् ।

‘भारत, रसिया र चीन सरकारको सहयोगमा नेपालमा स्थापित भएका सबै कारखाना ३४ वर्षमा बन्द भए, यसको जिम्मेवारी देशमा ३४ वर्षदेखि शासन गर्दै आएका नेपाली कांग्रेस र नेकपा एमालेले लिनुपर्छ,’ जसपा अध्यक्ष यादवले भने, ‘आज शिक्षा क्षेत्र ध्वस्त भयो, कृषि ध्वस्त भयो, उद्योगधन्दा, कारखाना ध्वस्त भयो । गरिबी र बेरोजगारी बढ्दै गयो, यो सबै नेपाली कांग्रेस र एमालेको कारण भएको हो ।’

गत वैशाखमा सम्पन्न उपनिर्वाचनमा बारा निर्वाचन क्षेत्र नं २ मा सत्ता गठबन्धनको सहयोगमा निर्वाचित यादवले आइतबार  महागढीमाई नगरपालिकामा आयोजित कार्यक्रममा नेपाली कांग्रेसप्रति एकोहोरो खनिएका थिए ।

संघीय सांसद यादवले ५३ प्रतिशत जनसंख्या भएको मधेस प्रदेशलाई संघीय सरकारले जम्मा १२ प्रतिशतमात्रै बजेट विनियोजन गरेको भन्दै गुनासो गरे । ‘सरकार त त्यही कांग्रेस, कम्युनिस्टको हातमा छ, ५३ प्रतिशत जनसंख्या भएको मधेस प्रदेशलाई १२ प्रतिशत बजेट छ, त्यो बजेटले यहाँको विकास हुन कति वर्ष लाग्ला ? जबसम्म जनता समाजवादी पार्टीको हातमा सत्ता र शक्ति आउँदैन, तबसम्म विकास गर्न धेरै कठिन छ,’ उनले भने ।

संघीयता र समावेशी खारेज गर्न एउटा पक्ष लागिरहेको भन्दै यादवले  संघीयता र समावेशी खारेज भए लोकतन्त्र पनि जाने र शाही व्यवस्था लागु हुने बताए । ‘संघीयता कार्यान्वयन गर्नका लागि पुलिस, कर्मचारी प्रशासन, आर्थिक स्रोत प्रदेशलाई हस्तान्तरण गरोस्, प्रदेशलाई अधिकार सम्पन्न गर्न कानुन बनाओस्,’ अध्यक्ष यादवले भने, ‘हामीलाई अधिकार चाहियो, सुशासन चाहियो, प्रशासन आफ्नो चाहियो, संघीय सरकारले पठाएका प्रशासन हामीलाई चाहिँदैन, संघीयताको अर्थ केन्द्रमा साझेदारी, प्रदेशमा आफ्नो शासन, प्रशासन हो । तबमात्र अधिकार सुरक्षित हुन्छ ।’

अध्यक्ष यादवले जथाभावी चुरे उत्खनन् गर्दा त्यसको प्रत्यक्ष असर मधेस प्रदेशमा परेको बताए । ‘मैले संसद र सरकारलाई चेतावनी दिएको छु, चुरे क्षेत्रमा छेडखानी गरेर मधेसलाई मरुभूमि बनाउने कुनै निर्णय भए मधेसका जनताले कसैलाई छोड्नेवाला छैनन्,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप