आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
जाजरकोट भूकम्प

राजनीतिक गतिविधि स्थगन गरेर उद्धार र सहयोगमा दलहरू

कुन दलले कसरी गर्दैछ योगदान ?
सोमबार, १७ वैशाख २०८१, ०९ : २३
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । शुक्रबार राति जाजरकोट र रुकुम पश्चिममा भूकम्पले मानवीय र भौतिक क्षति पुर्‍याएपछि यतिबेला राज्यसंयन्त्र राहत र पुनर्निर्माणमा सक्रियता बढाएको छ । भूकम्पपछि मध्यराति नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पीडितहरूको उद्धारमा खटिन निर्देशन दिए । भोलिपल्ट बिहानै चिकित्सकसहितको  टोली लिएर उनी आफै प्रभावित क्षेत्रको अनुगमनमा निस्किएका थिए । 

सरकारले मृतकका परिवारलाई २ लाख दिने निर्णय गरेको छ । पीडितहरूको उद्धारमा सरकारले देखाएको सक्रियतालाई धेरैले प्रशंसा गरेका छन् । 

अबको ध्यान पीडितहरूको स्थायी आवास निर्माण, खाद्यान्न र सुरक्षामा केन्द्रित रहने भएको छ । त्यसका लागि सुर्खेतलाई मुख्य सम्पर्कस्थल र नेपालगन्जलाई सहायक सम्पर्कस्थल बनाएर काम गर्ने खोज, उद्धार र राहतसम्बन्धी कार्य एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने निर्णय भएको छ ।  

भूकम्पबाट तहसनहस भएको कर्णाली प्रदेशका जाजरकोट, रुकुम पश्चिमलगायत जिल्लामा राहत र उद्धारको  काम अन्तिम  चरणमा पुगेको सरकारले जनाएको छ । 

भूकम्पमा परी हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ भने २५६ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार भूकम्पबाट जाजरकोट, रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान, जुम्ला, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला, प्युठानलगायत ११ जिल्ला प्रभावित बनेको छ । 

भूकम्पले ९ सय ३२ घरमा पूर्ण क्षति र दुई हजार आठसय ३८ वटा घरमा आंशिक क्षति भएको छ । 

भूकम्पपछि प्रभावित क्षेत्रका जनतालाई राहत, पुनर्निर्माणमा सहयोग गर्न राज्यसंयन्त्र सँगसँगै राजनीतिक दल, भातृसंगठन, संघसंस्थासमेत सक्रिय छन् । पुनर्निमाणमा सहयोग गर्न छिमेकी मुलुक चीन, भारतलगायत दातृ निकायहरू इच्छुक देखिएका छन् । सबै क्षेत्रबाट आएको नगद र जिन्सीलाई सरकारले एकद्वार प्रणालीमार्फत वितरण गर्ने भएको छ । 

प्रभावितको सहयोगमा दलहरू 

भूकम्पबाट प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनर्निर्माणमा सहयोग पुर्‍याउन दलहरू राजनीति गतिविधि स्थगन गरेर जाजरकोट र रुकुममा केन्द्रित भएका छन् । आ–आफ्ना दल तथा तीनका भातृसंगठन, शुभेच्छुक संघसंस्थाले प्रभावित क्षेत्रमा बाँडिएका राहत तथा उद्धारका कार्यहरूको तस्बिर तथा भिडियोले सामाजिक सञ्जाल भरिएको छ । 

माओवादी केन्द्रको ५० लाख सहयोग

सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रले प्राकृतिक विपद्मा परेका जनताको उद्धार, राहत र पुनर्निर्माणमा सक्रियतापूर्वक लाग्न कर्णालीलगायत सिंगो पार्टीपंक्ति, जवस/मोर्चा, विभागहरूलाई निर्देशन दिएको छ । 

भूकम्पपीडितको राहत र पुनर्निर्माणमा सहयोगका लागि ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ । सबै प्रदेशसँग समन्वय गर्नका लागि महासचिव देव गुरुङलाई जिम्मेवारी दिएको सचिव गणेश शाहले जानकारी दिएका छन् । 

उपमहासचिव एवं रुकुम पश्चिमका सांसद जनार्दन शर्मा आफ्नै हिसाबले सक्रिय देखिएका छन् । बालुवाटारको बैठकपछि शर्मा सिधै जाजरकोट प्रस्थान गरेका छन् । त्यहाँ प्रभावित क्षेत्रका जनतालाई राहत र उद्धारका लागि खटिने उनको सचिवालयले जनाएको छ । 

त्यस्तै, अनेरास्ववियु क्रान्तिकारीले पनि उपाध्यक्षको कमाण्डमा छुट्टाछुट्टै टोली प्रभावित क्षेत्रमा पठाउने निर्णय गरेको छ । सम्पूर्ण कमिटीलाई प्रभावित क्षेत्रमा गएर काम गर्न माओवादीले निर्देशन दिइसकेको छ । 

यसैगरी, तीनै तहका सरकार, सुरक्षा निकाय, सामाजिक संघसंस्थालगायत आम नागरिकलाई राहत तथा पुनर्निमार्णमा लाग्न अपिल गरेको छ । घाइतेहरूको खोज, उद्धार, उपचारको व्यवस्था, खाद्यान्न र विस्थापितहरूको अस्थायी टहरा निर्माणमा सहयोग गर्न सरकारसँग आग्रह गरेको छ ।

महामन्त्रीद्वयको नेतृत्वमा कांग्रेसले बनायो अनुगमन समिति

सत्तारुढ दल कांग्रेसले पार्टीको तर्फबाट राहत तथा पुननिर्माणका लागि रु. ५० लाख दिने निर्णय गरेको छ । 

साथै, पार्टीले उपलब्ध गराएको रकमबाहेक संघीय सांसदहरूबाट १५ दिन बराबरको पारिश्रमिक सहयोग गर्ने निर्णय गरेको छ । आइतबार संसदीय  दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय समितिको बैठकले उक्त निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले बताए ।

त्यस्तै, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको संयोजकत्वमा भूकम्प प्रभावित क्षेत्रको अनुगमन तथा सहजीकरण समिति गठन गरेको छ । 

आइतबार बिहान देउवा निवास धुम्बाराहीमा बसेको कार्यसम्पादन समितिको बैठकले प्रभावित क्षेत्रको स्थलगत अवलोकन र राहत वितरणमा सहजीकरणको लागि महान्त्रीद्वयको संयोजकत्वका समिति गठन गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए । 

यस्तै, भातृसंगठनले आ–आफ्ना हिसाबले राहत तथा पुनर्निर्माणमा सहयोग गर्ने उनको भनाइ छ ।

प्रभावित क्षेत्रका सहयोगका लागि आन्तरिक छलफलमा एमाले 

प्रमुख प्रतिपक्ष दल एमालेले भूकम्प प्रभावित क्षेत्रका जनताको राहत, पुनर्स्थापनाका लागि पार्टीपंक्ति परिचालित हुन आह्वान गरिसकेको छ । राहत वितरण र पुनर्स्थापनाका लागि सहजीकरण गर्न उपमहासचिव विष्णु रिमालको टोली जाजरकोट पठाएको छ । 

उनले भूकम्पको केन्द्रबिन्दु रहेको जाजरकोट र प्रभावित जिल्ला रुकुम(पश्चिम) पुगेर भूकम्प पीडितको राहत र सहयोगमा जुट्न निर्देशन दिएका छन् । रिमालले प्रभावित क्षेत्रमा क्षति पुगेको घरहरूको निरीक्षण र घाइतेहरूको अवस्था बुझेका थिए । 

यद्यपि राहत वितरण र जिन्सी सहयोगका लागि पार्टीभित्र छलफल भइरहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । 

‘हामीले अहिलेसम्म नगदी वा जिन्सी दिने घोषणा गरेका छैनौँ । पार्टीको  तर्फबाट प्रभावित क्षेत्रका जनताको अवस्था, राहत वितरण तथा पुनर्स्थापनामा देखिएको समस्याबारे बुझ्न उपमहासचिव विष्णु रिमाललाई खटाएका छौँ’, गौतमले भने, ‘जनताको तत्काल उद्धार, राहत वितरण, पुनर्स्थापना र पुनर्निर्माण गर्ने जिम्मा सरकारको हो । पार्टीको तर्फबाट संस्थागत निर्णय गर्ने विषयमा छलफल भइरहेको छ ।’

अलमलमा एकीकृत समाजवादी 

सत्तारुढ घटक एकीकृत समाजवादीले संस्थागत रूपमा कुनै राहत वा सहयोग घोषणा नभए पनि पार्टी मातहतका समितिहरू भूकम्प प्रभावित क्षेत्रमा सक्रिय रहेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । यद्यपि, राहत तथा पुनर्निर्माणको विषयमा सोमबार बस्ने सचिवालयले निर्णय गर्न सक्ने उनले बताए । 

‘संस्थागत रूपमा हामीले प्रभावित क्षेत्रका जनताका लागि कुनै नगद घोषणा गरेको छैनौ । यद्यपि मातहतका समितिका नेता तथा कार्यकर्ताहरू भूकम्प प्रभावित क्षेत्रमा  खटिएका छन् । राहत तथा पुनर्स्थापनाका लागि के गर्ने भन्ने विषयमा सचिवालय बैठकले निर्णय गर्ला’, उनले भने । 

प्रभावित क्षेत्रमा एफएममार्फत् लाइभ चलाउँदै रास्वपा 

संसद्को चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राहत तथा उद्धार कार्यलगायत अन्य कार्यमा राज्यका संयन्त्रहरूसँग आवश्यक समन्वय गर्नका लागि विभिन्न समिति गठन गरेको छ । जसमा सुमना श्रेष्ठ व्यवस्थापन, डा. तोसिमा कार्की, डा. प्रभात अधिकारी स्वास्थ्य उद्धार, विष्णु कुमार श्रेष्ठ राहत तथा उद्धार र प्रतिभा रावलको नेतृत्वमा टिम व्यवस्थापन एवं अन्य समन्वय समिति गठन गरेको हो । 

शनिबार नै आवश्यक राहत, लत्ताकपडा र आवश्यक बन्दोबस्तीका सामान लिएर प्रभावित क्षेत्र जाजरकोट, पश्चिम रुकुम लगायतका क्षेत्रमा समिति सदस्यलगायत अन् य खटिएका छन् । त्यहाँका स्थानीय एफएममा ‘हेलो रवि’ कार्यक्रममार्फत स्थानीयको गुनासो सुन्ने र स्थानीय प्रशासनसम्म ध्यानाकर्षण गराउने काम गरिरहेका छन् ।  

‘मेरो अभिव्यक्तिमा राजनीति घुसेछ भने क्षमा गर्नुहोला । विपद्मा मेरो स्टन्टबाजी हुँदैन । सकेको  मद्दत गर्छु । खाद्यान्न, लत्ताकपडा, त्रिपाल र कम्बलको व्यवस्था गरेको छु’, स्थानीय एफएममा ‘हेलो रवि’ लाइभ कार्यक्रम चलाउँदै उनले भने, ‘पीडितका समस्या सुन्ने, स्थानीय प्रशासन पीडितसँग जोडिएका छन् वा छैनन् जान्ने कार्यक्रमको उद्देश्य हो । म कुनै पार्टी विशेषबाट नभई एक पूर्वसञ्चारकर्मीको हिसाबले जनताको पीर मर्कामा मलमपट्टी लगाउन आएको हुँ ।’

उनले ३०० भन्दा बढी परिवारलाई पुग्ने राहत सामग्री जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई हस्तान्तरण गरेको बताए ।

के गर्दैछन् अन्य दलहरू ? 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलका प्रमुख सचेतक एवं प्रवक्ता ज्ञानेन्द्र शाहीको नेतृत्वमा राहत वितरण, पुनर्स्थापनाका लागि प्रभावित क्षेत्रमा खटाएको छ । भूकम्प पीडितका सहयोगका लागि सांसदको एक महिनाको तलबसहित २५ लाख दिने निर्णय गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । 

डा बाबुराम भट्टराई नेतृत्वको दल नेपाल समाजवादी पार्टीले भूकम्प प्रभावित क्षेत्रका जनतालाई सहयोग स्वरूप रु. १० लाख उपलब्ध गराउने निर्णय गरेको छ । आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले भूकम्प प्रभावितहरूको सहयोगका लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा १० लाख प्रदान गर्ने निर्णय गरेको हो । 

यस्तै, विपतमा परेकाहरूको उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन उपाध्यक्ष भक्तबहादुर शाहीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । जसको सदस्यहरूमा आर्थिक विभाग प्रमुख हरि रिजाल र केन्द्रीय कार्यालयका प्रमुख रोशन पोखरेल रहेका छन् । 

त्यस्तै, भूकम्पपीडितको सहयोगका लागि अन्य सामाजिक संघसंस्था, निजी क्षेत्रलगायत मनकारी हात बढ्दै गएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे
लेखकबाट थप