आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

उस्तै नियति भोगेका श्रीलंका र बंगलादेश आत्मसम्मानका लागि भिड्दै

सोमबार, १७ वैशाख २०८१, १० : ४७
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपमा सोमबार बंगलादेश र पूर्वविजेता श्रीलंकाबिच आत्मसम्मानका लागि भिडन्त हुँदैछ । यी दुबै टोली यसअघि नै जारी विश्वकपको उपाधि होडबाट बाहिरिइसकेका छन् ।

श्रीलंका र बंगलादेशबिचको खेल दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुनेछ । यी दुबै टोलीले जारी विश्वकपमा आठौँ खेल खेल्न लागेका हुन् । हालसम्म सात खेल खेलेको श्रीलंकाले केवल दुई खेलमा जित र पाँच खेलका हारको नतिजा निकालेको छ ।

अर्कोतिर टेस्ट राष्ट्र बंगलादेशले जारी विश्वकपमा खेलिएको सातमध्ये ६ खेलमा हार र एक खेलमा जितको नतिजा निकालेको छ । श्रीलंका चार अंकसहित तालिकाको सातौँ र बंगलादेश दुई अंकसहित तालिकाको नवौँ स्थानमा आसिन छन् । 

बंगलादेश आधिकारीक रुपमै उपाधि होडबाट बाहिरिइसकेको छ भने श्रीलंकाको अगाडि बढ्ने सम्भावना प्राविधिक रुपमा मात्र बाँकी छ । जारी विश्वकपमा यी दुबै टोलीको प्रदर्शन अत्यन्तै निराशाजनक देखिएको छ । 
००००
तथ्याङ्कमा श्रीलंका बलियो
यी दुई राष्ट्रबिच हालसम्म खेलिएको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको तथ्याङ्कलाई हेर्दा भने बंगलादेशभन्दा श्रीलंका निकै बलियो देखिन्छ । हालसम्म यी दुई राष्ट्रबिच ५३ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिएको छ ।

त्यसमध्ये ४२ खेलमा श्रीलंकाले बंगलादेशलाई हराएको छ । बंगलादेशले भने श्रीलंकालाई नौवटा खेलमा मात्र हराउन सकेको छ । यी दुई राष्ट्रबिचको दुई खेल भने अनिर्णित रुपमा सकिएको छ । 

श्रीलंकाले २० वटा खेलमा बंगलादेशलाई आफ्नै घरेलु मैदानमा हराएको छ भने बंगलादेशले आफ्नो घरेलु मैदानमा खेलिएको ६ वटा खेलमा श्रीलंकालाई पराजयको स्वाद चखाएको छ । श्रीलंकाले बंगलादेशको घरेलु मैदानमा १४ खेल जितेको छ ।

बंगलादेशले भने श्रीलंकाको मैदानमा दुईवटा खेलमा सफलता हात पारेको छ । यसका अतिरिक्त ‘न्यूट्रल भेन्यू’ मा खेलिएको आठवटा खेलमा श्रीलंका र एउटा खेलमा बंगलादेश विजयी भएका छन् । यो तथ्याङ्कले बंगलादेशको तुलनामा श्रीलंकालाई बलियो देखाउँछ । 
००००
विश्वकपमा श्रीलंकाविरुद्ध पहिलो जित निकाल्ने धुनमा बंगलादेश
यसैगरी एकदिवसीय विश्वकपमा हालसम्म यी दुई राष्ट्रबिच चारवटा खेल खेलिएको छ । त्यसमध्ये तीन खेलमा श्रीलंकाले सफलता हात पारेको छ । विश्वकपमा खेलिएको यी दुई टोलीबिचको एक खेल भने अनिर्णित रुपमा सकिएको छ । 

सबैभन्दा पहिले सन् २००३ को विश्वकपमा यी दुई राष्ट्रबिच भिडन्त भएको थियो । त्यो खेलमा श्रीलंकाले बंगलादेशलाई १० विकेटले हराएको थियो । सन् २००७ को विश्वकपमा पनि श्रीलंका एक सय ९८ रनले विजयी भएको थियो ।

सन् २०१५ को विश्वकपमा पनि श्रीलंकाले बंगलादेशलाई ९२ रनले हराएको थियो । सन् २०१९ को विश्वकपमा भने यी दुई टोलीबिचको खेल रद्द भएको थियो ।
००००
स्पिनरलाई साथ दिने पिच
श्रीलंका र बंगलादेशबिचको खेल दिल्लीस्थित अरुण जेट्ली क्रिकेट स्टेडियममा खेलिने छ । यहाँको पिच स्पिन बलरका लागि निकै उपयुक्त मानिन्छ । यहाँको पिच कालो माटोबाट तयार पारिएको छ । त्यसैले सम्हालिएर खेले ब्याट्सम्यानहरुले पनि यो पिचमा राम्रो रन बनाउन सक्छन् । 

यो स्टेडियमको ‘बाउन्ड्री’ पनि तुलनात्मक रुपमा सानो छ । त्यसैले यो स्टेडियममा निकै चौका र छक्का प्रहार हुने गरेको छ । यसका बावजुद अरुण जेट्ली स्टेडियमको पिचलाई सबैभन्दा उपयुक्त भने स्पिनरहरुकै लागि मानिन्छ । 

यो स्टेडियममा हालसम्म ३२ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिएको छ । पहिलो ब्याटिङ गर्ने टोलीले यो स्टेडियममा १६ खेल जितेका छन् । जवाफी ब्याटिङ गर्ने टोली भने यो स्टेडियममा १५ वटा खेलमा सफलता हात पारेका छन् ।  

भारतको राजधानी सहर दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा पहिलो पाली ब्याटिङ गर्ने टोलीले बनाएको औसत स्कोर दुई सय ३८ रन हो । दोस्रो ब्याटिङ गर्ने टोलीले बनाएको औसत स्कोर भने दुई सय ६ रन हो । यो स्टेडियममा टस जित्ने टोलीले पहिले बलिङको निणर्य लिने सम्भावना रहन्छ ।
०००० 
वायु प्रदुषणको मारमा पर्न सक्छ खेल
अहिले भारतको राजधानी दिल्लीमा वायु प्रदुषणको अवस्था निकै चिन्ताजनक छ । वायु प्रदुषणको अवस्था खतराको सिमाभन्दा निकै माथि उक्लिएको छ । सरकारले आफ्ना नागरिकलाई वायु प्रदुषणको जोखिमबाट जोगाउन विभिन्न उपाय पनि अपनाउँदै आएको छ । 

यस्तो अवस्थामा जारी विश्वकपको श्रीलंका र बंगलादेशबिचको खेल सोमबार दिल्लीमै खेलिँदैछ । त्यसैले त्यो खेल बायु प्रदुषणको मारमा पर्न सक्ने सम्भावना बढेको छ । वायु प्रदुषणले खेलाडीको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्ने टिप्पणी पनि हुँदै आएको छ ।  वायु प्रदुषणकै कारण खेलाडीको स्वास्थ्यलाई ध्यानमा राखी श्रीलंका र बंगलादेशको अभ्यास सत्र पनि रद्द गरिएको थियो । वायु प्रदुषणका कारण श्रीलंकाली खेलाडी अभ्यास सत्रमा सहभागी नै भएनन् भने बंगलादेशी खेलाडीले केही समय मास्क लगाएर अभ्यास गरेका थिए । 

आइतबार साँझसम्म दिल्लीमा वायु प्रदुषणको अवस्था ४५७ एक्यूआईभन्दा माथि रहेको बताइएको छ । मंगलबारसम्म वायु प्रदुषणको खतरा कायमै रहेको समाचारमा जनाइएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० ले भने खेल हुने दिन सोमबार दिउँसोको वायु प्रदुषणको अवस्थालाई हेरेर श्रीलंका र बंगलादेशबिचको खेलको विषयमा निणर्य लिने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप