नक्कली नोट र फोटोकपी मेसिनसहित काठमाडौँबाट युवक पक्राउ
सोमबार, १७ वैशाख २०८१, १३ : २४
काठमाडौँ । काठमाडौँबाट नक्कली नोट र फोटोकपी मेसिनसहित एक जना युवक पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका-६ सरस्वती नगरबाट महांकाल डेरा गरी बस्ने डोल्पाका २९ वर्षीय कार्मा लुप्डुप गुरुङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
उक्त स्थानमा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले गुरुङलाई पक्राउ गरेको बताइएको छ । उनको कोठाबाट १ हजार दरको २ सय २५ थान नक्कली नोट, नक्कली नोट फोटोकपी गर्ने मेसिन १ थान, डिजिटल तराजु १ थान, नगद २६ हजार ८ सय रुपैयाँ, ल्यापटप १ थान र नोट छाप्न प्रयोग हुने मसीको बट्टा ४ थान बरामद भएको छ । यस सम्बन्धमा प्रहरी वृत्त बौद्धबाट आवश्यक अनुसन्धान भइरहेको छ ।