आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोशी प्रदेशसभा : शून्य समयमा कसले के भने ?

भूकम्प पीडितलाई राहत र दूधको बजारीकरणमा सांसदको जोड
सोमबार, १७ वैशाख २०८१, १५ : २७
सोमबार, १७ वैशाख २०८१

विराटनगर । कोशी प्रदेशसभाको आज बसेको बैठकमा सांसदहरूले  भूकम्पबाट पीडितहरूको उद्धार र पशुपालन किसानले उत्पादन गरेको दूध तथा दूधजन्य वस्तुहरूको बजारीकरणमा जोड दिएका छन् । 

प्रदेशसभाको शून्य समय लिएर बोल्दै उनीहरूले यस्तो बताएका हुन् । सांसद इन्दिरा थापाले कर्णालीको जाजरकोट र रुकुममा भूकम्पमा परेका घाइतेहरूको उचित उपचारको व्यवस्था गर्न माग गर्दै भूकम्प प्रभावित क्षेत्रमा राहत सहयोग गर्न निजी क्षेत्रलाई आह्वान गरिन् ।

उनले सहमतीय सरकारको सोचलाई कार्यान्वयन गर्न वर्तमान सरकारले खोजिरहेको भन्दै एमालेलाई सरकारमा आउन आह्वान गरिन् । 

यस्तै सांसद खिनु लङ्वा लिम्बूले इलामको जौबारी, बन्दुके, हिले, कैयाँकट्टा, छब्बिसे मेची लगायतका स्थानमा राखिएका छोटी भन्सार द्वन्द्वको कारण सारिएको भए पनि अहिलेसम्म स्थापना नभएको बताइन् । अहिले पनि ती छोटी भन्सार सञ्चालन नहुँदा सर्वसाधारणलाई समस्या भइरहेको बताउँदै उनले नाका सञ्चालनको माग गरिन् ।

सांसद गोपाल तामाङले झापाको मेचीनगरमा किसान गोपाल रिजाललाई हात्तीले आक्रमण गरेर घाइते बनाएको भन्दै उनले बाहुनडाँगी क्षेत्रको हात्ती नियन्त्रण गर्न माग गरे । हात्तीको आक्रमणबाट घाइते भएका रिजालको निःशुल्क उपचारको व्यवस्था प्रदेश सरकारले गर्नुपर्ने माग गरे ।

सांसद गोपालप्रसाद विश्वकर्माले साउन १७ गतेदेखि सभामुखको रिक्तता भएको भन्दै परिपूर्ति गर्नुपर्ने माग गरे । उनले राप्रपाका सांसदहरूले एक महिनाको सेवा सुविधा भूकम्प पीडितको राहत तथा घाइतेको उपचारका लागि दिने निर्णय गरेको बताउँदै कोशी प्रदेशले भूकम्प पीडितलाई १ करोड दिएको र थप राहतको व्यवस्था गर्न अन्य क्षेत्रमा पनि पहल गर्नुपर्नेमा जोड दिए । 

सांसद गोम्बु शेर्पाले भूकम्प पीडितको उद्धार र राहतमा संघीय सरकारले खेलेको भूमिकाको प्रशंसा गर्दै प्रदेश सरकारले राहत र नगद सहयोग गर्ने निर्णयको स्वागत गरेका छन् । 

उनले प्रदेशमा गाई, भैँसी पालन गरेर दूध उत्पादन गरिरहेका किसान र डेरी उद्योगहरू समस्यामा रहेको बताउँदै करोडौँको घ्यू, छुर्पी नबिकेर फ्रिजिङ गर्नुपर्ने अवस्था रहेको र मिल्क होलिडेको कारण किसान मारमा परिरहेको बताए । उनले नेपालको दूधलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याएर विक्री हुने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

सांसद मिना श्रेष्ठले दूधबाट उत्पादित सामाग्रीको विक्री वितरण नभएको र बजारीकरण गर्न नसकेको तर, भारतबाट दूधजन्य पदार्थहरू आयात भइरहेको भन्दै यसको नियन्त्रणका लागि पहल गर्न माग गरिन् । नेपालकै किसानहरूले उत्पादन गरेका तरकारीजन्य वस्तुहरू आयातमा कडाइ गर्नुपर्ने उनको भनाइ छ । यस्तै सयपत्री फूलको माला पनि भारतबाट आइरहेको र स्वदेशबाट उत्पादित फूल बजारीकरण नहुँदा किसान मारमा परेको उनको भनाइ थियो । सांसद मैया श्रेष्ठले साउन १७ गतेदेखि सभामुखविहीन भएको भन्दै तत्काल सभामुख चयन गर्न माग गरिन् ।

सांसद रमेश बस्नेतले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सरकारको खराब नियतका कारण धरासायी भएको बताए । प्रतिष्ठानले नेपाल सरकारलाई वार्षिक ३५ करोड बढी बुझाउने गरेको र अप्रत्यक्ष ६५ करोड आम्दानी गर्ने गरेको भन्दै संघीय सरकारले २०, २५ प्रतिशत बजेट अनुदानमा दिएको बहाना गरेर बाहिरबाट मानिसहरू नियुक्ति गर्दा समस्या उत्पन्न भइरहेको दाबी गरे । प्रतिष्ठानको समस्या समाधानमा प्रदेश सरकारले संघीय सांसदसँग आग्रह गर्नुपर्ने बताए । 

सांसद रामदेव यादवले नेपालमा चिनीको हाहाकार भइरहेको बताए । चिनी उद्योगबाट उखु किसानले पैसा पनि नपाएको बताउँदै सरकारले दिएको अनुदान पनि किसानले अहिलेसम्म नपाएको बताए । किसानहरूले उखु लगाउन छोडिरहेको बताउँदै सरकारले यस विषयको समाधानमा जोड दिनुपर्ने बताए ।

नेकपा एमालेका प्रमुख सचेतक रेवती रमण भण्डारीले केन्द्रीय सरकारले भूकम्पपीडितको घर निर्माणमा अस्थायी घर निर्माण गर्ने भन्दै कम पैसा छुट्याएको भन्दै पर्याप्त रकम पठाउन माग गरे । उनले सार्वजनिक सवारी साधनमा यात्रुहरू ठगिने गरेको भन्दै त्यसको नियन्त्रणको माग गरे । उनले कर्मचारीको सरुवा गर्न कार्यविधि बनाएर मात्रै काम गर्न मुख्यमन्त्रीलाई आग्रह गरे । यस्तै प्रदेशको सुशासनको लागि ऐनहरूको कमजोरीलाई सच्याउन पनि उनले आग्रह गरे । 

सांसद शोभा चेम्जोङले कर्णालीका भूकम्प पीडित नागरिकहरूलाई आ–आफ्नो सेवा सुविधाबाट कटाएर सहयोग गर्नुपर्ने बताइन् । उनले सभामुख पद अहिले खाली रहेको भन्दै यथाशीघ्र आवश्यक तयारीको लागि दलका नेतालाई आग्रह गरिन् । सांसद शिला दीक्षित कार्कीले मोरङको बेतनामा लोपोन्मुख कछुवा पाइएको बताउँदै यसको संरक्षणमा जोड दिइन् । 

सांसद सुनिता कुमारी गुरुङले विराटनगरबाट सुनसरी जाने ब्रम्हपुरा क्षेत्रको बाटोको अवस्थाले आवतजावत गर्न कठिनाइ भएको भन्दै बाटो सुधारको माग गरिन् । उनले सो क्षेत्रमा बाढी आउने र सडक बिगार्ने गरेको, केशलीया खोला नजिकै डम्पिङ साइड राखेको भन्दै त्यसले आसपासका बासिन्दालाई असर गरिरहेको बताइन् । उनले उक्त डम्पिङ साइड स्थानान्तरण गर्न माग पनि गरिन् । 

सांसद सिर्जना राईले कृषि पेसामा संलग्न किसान लक्षित ऐन कानुन नबनेको बताउँदै किसानले उत्पादन गरेको वस्तुको उचित मूल्यको व्यवस्था गर्न माग गरिन् । उनले गाँजा खेतीको विषयमा अध्ययन अनुसन्धान गर्ने विषयमा केन्द्र सरकारले बजेटमा ल्याए पनि कार्यान्वयन भएको भन्दै तत्काल त्यो विषय अगाडि बढाउनु पर्ने बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप