आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

च्याउ उत्पादन बढी भएपछि पोखराका किसान तनावमा

सोमबार, २५ मङ्सिर २०८०, १८ : ३२
सोमबार, २५ मङ्सिर २०८०

पोखरा । पोखराको बजारले दैनिक २ हजार किलो च्याउ खान्छ, सामान्य समयमा । दसैँ तिहार लगायत चाडवाडमा मासुको प्रयोग बढी हुने भएकोले च्याउको माग घट्छ ।

यसपालि पोखरामा दसैँ तिहारकै समयमा बढी च्याउ फल्यो । अहिले किसानलाई बजार नपाएर चिन्ता बढेको छ । ‘दैनिक २ हजार किलो माग छ । दिनमै ४ हजार किलो उत्पादन हुन थाल्यो,’ पोखरा महानगरका कृषि महाशाखा प्रमुख मनहर कडरियाले भने, ‘यसैपनि यो समय च्याउको खपत कम हुन्छ । त्यसमाथी उत्पादन बढेका कारण अहिले किसानलाई समस्या परेको छ ।’ चाडवाडको समयमा उपभोक्ताले च्याउ कम खाने उनको भनाई छ । 

माग घटेका कारण च्याउको मूल्य पनि सस्तिएको किसान मनोरन्जन पौडेलले बताए । २०७५ सालमा प्रतिकिलो ६० रुपैयाँसम्म बिक्री भएको थियो । अहिले किसानले सोही हाराहारीमा च्याउ बेच्न बाध्य भएका छन् । ‘लागत नै डेढसय छ । तर ६०–७० रुपैयाँमा बिक्री गर्न बाध्य छौँ,’ उनले भने, ‘उपभोक्ताले चाहिँ १ सय ३० सम्म तिरेका छन् । बिचौलियाका कारण हामी मारमा पर्यौं ।’ उनले मागभन्दा बढी खेती भएका कारण पनि च्याउ किसानलाई समस्या परेको बताए । 

उनले उत्पादकत्व नभई उत्पादन बढेको बताए । ‘च्याउको उत्पादकत्व बढेको छैन । किसान धेरै भए, धेरै क्षेत्रमा खेती गर्न थाले अनि बढेको हो,’ उनले भने, ‘बजारको आवश्यकता र माग नबुझीकन खेती गर्दा दुर्घटना हुन्छ । अहिले त्यै भइरहेको छ ।’ उत्पादन भएका च्याउ नबिकेपछि किसानले मण्डीमा लगेर त्यत्तिकै छोड्न थालेका छन् । अन्य क्षेत्रमा पनि माग नभएपछि बाहिर पठाउने अवस्था नरहेको महानगरले जनाएको छ । 

महानगरका किसानले मूल्य घटेपनि न्यूनतम १ सय ३० रुपैयाँ महानगरबाट पाउँछन् । त्यसैले उनीहरुलाई खासै चिन्ता छैन । ‘महानगरले न्यूनतम समर्थन मूल्य १ सय ३० तोकेको छ । किसानले त्यो भन्दा सस्तोमा बेच्नुपरे बाँकी रकम महानगरले थपिदिन्छ,’ कडरिया भन्छन्, ‘महानगरका किसानलाई केही सहुलियत भएपनि गाउँका किसानको ढाड सेकिएको छ ।’ गत वर्ष महानगरले प्रतिकिलो न्यूनतम मूल्य १ सय ५० कायम गरेको थियो । यो वर्ष मूल्य घटाइएको हो । 

पोखरामा २२ जना किसान छन् । कास्कीभरी २५ जनाले च्याउको व्यावसायिक खेती गर्छन् । किसानले सस्तोमा पाएपनि उपभोक्ताले महँगो तिर्न परेपछि महानगरले कडाइ गरेको छ । उनले भने, ‘हामीले न्यूनतम समर्थन मूल्य दिएपछि किसानले सस्तोमा च्याउ दिएका छन् । तर उपभोक्ताले सस्तोमा पाएका छैनन् । बीचको मूल्य बिचौलियाले खाएका छन् । यसलाई रोक्ने प्रयास गरेका छौँ ।’ उत्पादित च्याउ नबिकेपछि किसानले कृषि महाशाखामा ल्याएर फालिदिएका थिए । अहिले फार्महरुमै सुकेर गएको छ भने कतिपय कुहिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप