आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

एमालेले आफ्नै दलका नेतालाई ५ वर्षसम्म मुख्यमन्त्री बनाउनै नसक्ने गरी अयोग्य बनायो : आङ्बो

एमालेमा हमासको जन्म हुनसक्ने चेतावनी
सोमबार, २५ मङ्सिर २०८०, १८ : ३९
सोमबार, २५ मङ्सिर २०८०

विराटनगर । कोशी प्रदेश नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले नेकपा एमालेले आफ्नै संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई अयोग्य बनाएको दाबी गरेका छन् ।

कोशी प्रदेशसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै आङ्बोले नेता कार्कीविरुद्ध आक्रोश व्यक्त गरे । यसअघि मुख्यमन्त्री केदार कार्कीले विश्वासको मन लिनुभन्दा अगाडि प्रदेशसभामा मन्तव्य दिँदै आङ्बो विरुद्धमा भाषण गरेका थिए । त्यसबेला उनले आङ्बोको नाम नलिइ, ‘केन्द्रीय गठबन्धनले लज्जास्पद निर्णय गरेपछि हामी विक्षिप्त भयौँ । यो संविधान अनुकूल भएन । गठबन्धनले यहाँका अमुक नेताको नाममा सहमति गरेको विज्ञप्ति आयो । त्यसपछि हामी रन्थनियौँ । त्यही बेला केदार कार्कीले हिम्मत गर्नुभयो । हामीले समर्थन ग‍र्यौँ । उहाँलाई हामीले समर्थन ग¥यौं र मध्यावधिमा जानसक्ने चक्रको अन्त्य गर्यौं,’ भनेका थिए ।

त्यसको जवाफ दिँदै आङ्बोले कार्कीलाई लक्षित गर्दै गठबन्धनले २०७९ साल पुस पुस २३ गते आफ्नो नेतृत्वमा सरकार गठन गर्ने निर्णय गर्दा चाहिँ किन विक्षिप्त नभएको भन्ने प्रश्न गरे । ‘त्यसबेला गठबन्धनले निर्णय गरेर मुख्यमन्त्री बनाउँदा विक्षिप्त हुनुपरेन । ढुनमुनिनु परेन ? अब ५ वर्ष नै विक्षिप्त हुनु परेन ?,’ आङ्बोले प्रश्न गर्दै भने, ‘न्यूनतम राजनीतिक संस्कार एमालेले देखाउन सकेन ।’

आङ्बोले गठबन्धनबाटै निर्वाचित एक जना माननीय मुख्यमन्त्री बनेको विषयमा आफूहरुले स्वीकार गरेको बताउँदै केदार कार्की मुख्यमन्त्री हुँदा आफैँ भएकोजस्तो भएको बताए । ‘उहाँ मुख्यमन्त्री हुँदा म आफैँ मुख्यमन्त्री भएजस्तो भयो । एमालेलाई भने न्यूनतम राजनीतिक संस्कारमा नबसेपछि अझै विक्षिप्त हुने अवस्था आयो । एमालेले नै संविधानको धारा १६८ को उपधारा ५ मा पुगेको होइन ?,’ आङ्बोले थप प्रश्न गरे, ‘एमालेले के ग¥यो बहादुरी ? प्रतिपक्षमा थियो । जम्माजम्मी आङ्बोलाई मुख्यमन्त्री हुन दिइएन भन्ने भन्दा के बहादुरी ग¥यो ?’

आफूलाई मुख्यमन्त्री हुन नदिने दुई वटा कारण रहेको पनि उनले खुलाए । ‘मलाई मुख्यमन्त्री हुन जम्माजम्मी दुई वटा कारणले दिनुभएन । एक कम्युनिस्ट पार्टीकै मुख्यमन्त्री हुन्छ भनेर दिनुभएन । अर्को आदिवासी जनजाति समुदायबाट आएको मान्छेलाई दिनुहुँदैन थियो भनेर दिनुभएन । अब जनतामा त्यही भनेर जानुहुन्छ ? अर्को विकल्पमा त देखिएन,’ उनले थपे, ‘सत्ता साझेदार दलबिच अझै धेरै सम्भावना छ । एमाले दलका नेतालाई फेरि उम्मेदवार हुनै नपाउने अवस्था आएको छ । यो अयोग्य र अपमानित भनेको संसारमा सबैभन्दा खतरनाक हुन्छ । यसको व्यवस्थापन एमालेले गरोस् । एमालेभित्रै हमास नजन्मियोस् ।’

यसअघि प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोलेका एमाले संसदीय दलका उपनेता रामबहादुर राना मगरले प्रदेशको राजनीतिक अस्थिरताको जिम्मेवारी यहीका दलले लिनुपर्नेमा जोड दिए ।

‘५ पटकसम्म हामी सरकार बनाउने र भत्काउने काममा मात्रै लाग्यौँ । हाम्रो बजेट अध्यादेशकै भरमा छ । असारमै गर्नुपर्ने काम अहिलेसम्म आइपुग्दा पनि पूरा नहुने लाजमर्दो अवस्था छ । त्यो बाहिरको भन्दा हामी आफैँ जिम्मेवार छौँ,’ उनले भने, ‘कानुन बनाउन नसकेको कुराले हामी दुःखी छौँ । सँगसँगै एमालेको तर्फबाट अहिले बनेको सरकारलाई विश्वासको मत दिएको हो । परिस्थिति अलिकति अप्ठ्यारो भयो । अविश्वास नहटेको कारण सरकारबाट बाहिर बसेका हौं ।’

यद्यपि पल्लो डिलमा पुगेर सरकार बनेको कारण आफूहरु धेरै अविश्वास गरिहाल्ने र यसलाई सरकारबाट हटाइहाल्ने भन्ने तहमा नपुगेको उनले बताए । उनले भने, ‘खोला तर्ने बेलामा लठ्ठी चाहियो । पारीपट्टी पुगेपछि मान्छे गयो लठ्ठी हेरिरहयो जस्तो चाहिँ भएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप