आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

केशलीया तटबन्धसँगै सौन्दर्यीकरणका लागि प्रदेश सरकारले आवश्यक पहल लिने

सोमबार, २५ मङ्सिर २०८०, १९ : १७
सोमबार, २५ मङ्सिर २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले केशलीया नदीको तटबन्धसँगै सौन्दर्यीकरणका लागि सरकारले आवश्यक पहल कदमी लिने बताएका छन् ।

आइतबार सरोकारवाला र दातृ निकायसँगको छलफलमा मुख्यमन्त्री कार्कीले विराटनगर बजार पश्चिम रहेको नदीको तटबन्धका साथै सौन्दर्यीकरणका लागि प्रथमिकत्ताका साथ बजेट विनियोजन गर्ने, संघ र स्थानीय सरकारबीच समन्वय गरी नमुना एकीकृत योजनाको निर्माण गर्ने बताएका हुन् । 

विराटनगर महानगरपालिका दुहबी नगरपालिका, बुढीगंगा गाउँपालिका र बर्जु गाउँपालिकाका प्रमुख, उपप्रमुख तथा नदीले छोएका वडाका वडाध्यक्ष सहित स्विस सरकारका प्रतिनिधिहरुसँग वृहत् छलफल भएको हो । स्विस सरकारको सहयोगमा केशलीया तटबन्ध निर्माण लगायत सौन्दर्यीकरण कामको बृहत् गुरुयोजना तथा विस्तृत परियोजना प्रस्ताव स्विस सरकारको सहयोगमा भइरहेको छ । 

मुख्यमन्त्री कार्कीले केशलीया नदीको एकीकृत विकाशले कोशी प्रदेश साझेदारीको पर्यटन तथा कृर्षिमा समेत टेवा पुर्याउने भन्दै यसका लागि संघ प्रदेश र स्थानीय सरकार बिचको सहकार्य जरुरी रहेको बताए । उनले नदी मानव जीवनसँग जन्मदेखि मृत्युसम्म जोडिएको हुनाले यसको संरक्षणसँगै सौन्दर्यीकरण गर्नसके आर्थिक लाभ समेत लिन सकिने बताए । 

छलफल कार्यक्रममा स्विस सरकारका परामर्शदाता महेन्द्र सुब्बाले अहिलेसम्म भएका काम र बाँकी काम सम्पन्न गर्न आइपर्ने चुनौतीका बारेमा विस्तृत जानकारी गराएका थिए । उनले केशलीया कोरिडोरलाई अगाडि बढाउन प्रदेश सरकारले देखाएको चासो र स्थानीय सरकारहरूले देखाएको उत्साहले परिणाम ल्याउनेमा विश्वास व्यक्त गरेका छन् । 

विराटनगर महानगरपालिकाका ४, ५, ६, ११, १२, १६ वडालाई छुँदै केशलीया नदी दक्षिण तर्फ बगेको छ भने बुढीगंगा गाउँपालिकाका २, ३, ४, बर्जु गाउँपालिकाका १, २, ३ लाई छुन्छ । 

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदार, बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर, बर्जु गाउँपालिकाका अध्यक्ष जिवछ कुमार रायलगायतका पालिका उपप्रमुख तथा वडाध्यक्षहरूको सहभागिता रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप