आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
तुलसी सहकारीको रकम घोटाला प्रकरण

मन्त्रालयको टोलीद्वारा कागजात जफत, पीडित बचतकर्ताको आवेदन माग गर्ने तयारी

सोमबार, २५ मङ्सिर २०८०, १९ : ५३
सोमबार, २५ मङ्सिर २०८०

विराटनगर । बचतकर्ताको ४१ करोड ६३ लाख रुपैयाँ हिनामिना गर्ने तुलसी बहुउद्देश्यीय सहकारी संस्थाको कर्पोरेट कार्यालयमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले छापा मारेको छ ।

समितिका सदस्यसचिव केशव पौडेल नेतृत्वको टोलीले सोमबार सहकारीको विराटनगरको बरगाछीस्थित कर्पोरेट अफिसमा छापा मारी महत्त्वपूर्ण कागजात जफत गरेको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय र वडाको प्रतिनिधिको रोहबरमा समितिले कार्यालयको सम्पूर्ण कागजात जिम्मा लिएको समितिका सदस्यसचिव पौडेलले जानकारी दिए ।

‘हामीले आज कागजात जफत गरेर विराटनगरको कार्यालयमा शिलबन्दी गरेका छौँ । भोलि लेटाङको मार्ट र झापाको दमकमा रहेको कार्यालय सिल गर्छौँ,’ पौडेलले भने, ‘तुलसी सहकारीको गाईघाटमा रहेको शाखामा सिल भइसकेको छ । सिरहाको गोलबजार शाखामा पनि हामी केही दिनपछि सिल गर्छौँ ।’

उनले समितिले सबै कागजात लिएर काठमाडौँ गएपछि सहकारी ऐन २०७४ को ११२ अनुसार बचतकर्तालाई रकम दाबी पेस गर्न आह्वान गर्ने बताए । ‘सहकारीबाट लिनुपर्ने सावाँ ब्याजसहित माग गर्न अनलाइन मार्फत बचतकर्तालाई आह्वान गर्दै ३५ दिने सूचना जारी गर्ने तयारीमा छौँ,’ उनले भने, ‘कसैले फारम भर्न नछुटाउनु होला भनेर मैले पीडितहरुलाई भनेको छु ।’

सञ्चालकहरुको र ऋणीको जग्गा जमिन खोज्ने क्रम अगाडि बढेको पौडेलले बताए । यसअघि नै तुलसी सहकारीले बचतकर्ताको रकम हिनामिना गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ठगीको मुद्दा चलाइसकेको छ ।

तर, बचतकर्ताको व्यवस्थापन गर्ने काम समितिको भएको हुनाले मुद्दामा गए पनि केही फरक नपर्ने पौडेलले बताए । ‘त्यहाँ पनि समन्वय गरेर अगाडि बढ्छौँ । हाम्रो तर्फबाट उजुरी र दाबी आएपछि मात्रै बचतकर्ताको कति रकम दायित्व रहेको भन्ने थाहा हुनेभयो,’ उनले भने ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्रालय अन्तर्गतको निकाय हो । सरकारले समस्याग्रस्त घोषणा गरेको सहकारीको सम्पत्तिको व्यवस्थापन र दायित्व भुक्तानीको जिम्मा पनि यही समितिलाई छ । सरकारले तुलसी बहुउद्देश्यीय सहकारी संस्थालाई गत भदौ २५ गते समस्याग्रस्त घोषणा गरेको हो ।

विराटनगरमा मुख्य कार्यालय रहेको तुलसी बहुउद्देश्यीय सहकारी संस्थाले ४१ करोड ६३ लाखभन्दा बढी रकम नियम विपरीत लगानी गरेको सीआइबीको अनुसन्धानबाट खुलेको थियो । यस्तै उक्त सहकारीले झण्डै १७ करोड रुपैयाँको हिसाब नै नराखेको पाइएको छ ।

सहकारीको कुल निक्षेप १ अर्ब ६५ करोड ६५ लाख ९३ हजार २९१ रुपैयाँ अनुसन्धानबाट खुलेको छ । उक्त संस्थाबाट ऋण तथा लगानी भएको रकम १ अर्ब ४८ करोड ६८ लाख ५० हजार ७५१ रुपैयाँ छ । हिसावमै नभएको (स्रेस्तामा नदेखिएको) रकम १६ करोड ९७ लाख ४२ हजार ५४० रुपैयाँ रहेको छ ।

यस्तै सहकारीले नियम विपरीत प्रा.लि. कम्पनीहरुमा ऋण लगानी ४१ करोड ६३ लाख ९५ हजार ३८७ रुपैयाँ गरेको मोरङ प्रहरीले गरेको अनुसन्धान र लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।

प्रहरीले गत चैत २३ गते सहकारीका अध्यक्ष केदारनाथ शर्मासहित ८ जना सञ्चालकविरुद्ध ठगी मुद्दा दायर गरेको थियो । जसमा सहकारीका अध्यक्ष  शर्मा, सञ्चालक समितिका सदस्यहरु बन्टी अधिकारी, आदित्यराज भट्टराई, निर्मला पोखरेल भट्टराई,  छविलाल विश्वकर्मा, क्षेत्रीय प्रबन्धक मन्दिप खवास, उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपाने छन् ।

उनीहरुलाई सहकारी ऐन २०७४ को दफा १२२ को उपदफा (ख), (घ), (ङ), (च) र (ज) बमोजिम ६ वर्षदेखि ८ वर्षसम्म कैद सजाय र उपदफा (१) को देहाय (घ) तथा (५) बमोजिम बिगो ५० करोड ८८ लाख ७८ हजार ७२८ रुपैयाँ जाहेरवालाहरुलाई र बिगो १६ करोड ९७ लाख ४२ हजार ५४० रुपैयाँ तुलसी सहकारी संस्थालाई भराई बिगो बमोजिम जरिवाना तथा कैद सजाय माग दाबी लिएको जिल्ला सरकारी वकिलको कार्यालय मोरङले जानकारी दिएको छ ।

सहकारीका सञ्चालकहरुले ३ हजार ६३ जना सर्वसाधारणको एक अर्ब ४५ करोड ७५ लाख ४५ हजार ९९१ रुपैयाँ रकम हिनामिना गरेको आरोप छ । तुलसीको चार वटा शाखा छ । विराटनगरमा १ हजार ९ सय ७८ जनाले ६० करोड ४१ लाख ८ हजार ८६२ रुपैयाँ बचत  गरेका छन् । ठगी गरिएको भन्दै १ हजार ३०७ जना बचतकर्ताले जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी गरेका थिए ।

अध्यक्ष शर्माले निजी खाद्यान्न, मोटर, इलेक्ट्रिक, चिउरा मिल, जुत्तादेखि मिडिया कम्पनीमा पनि लगानी गरेको पाइएको छ । निजी उद्योगबाहेक जग्गामा पनि शर्माले लगानी गरेको पाइएको छ ।

उदयपुर र झापामा मात्र शर्माका नाममा ३६ हजार २ सय ८ दशमलव ८७ वर्गमिटर अर्थात् ५ बिघा ६ कठ्ठा जग्गा छ । उनको जन्मस्थल उदयपुरमा १५ कित्ता र झापामा ३ कित्ता जग्गा छ ।

शर्माले सहकारीको रकम दुरुपयोग गर्दै सबैभन्दा बढी लगानी विराटनगर–१९ स्थित तुलसी मोटर पम्पमा गरेका छन् । उनले उक्त मोटर पम्पमा ३२ करोड, झापाको गौरादहमा भएको चिउरा र चामल मिलमा ३४ करोड, झापाको दमक बजारमा रहेको गार्डेन मार्ट, उदयपुर जिल्लाको गाईघाटमा रहेको गार्डेन मार्ट र मोरङको लेटाङमा रहेको गार्डेन मार्टमा गरी जम्मा २५ करोड लगानी गरेका छन् ।

यस्तै सिरहा गोलबजारमा मार्ट खोल्न तयारीका लागि १ करोड लगानी गरेका छन् ।

निजी कम्पनी र जग्गाबाहेक सवारी साधनमा पनि करोडौं रुपैयाँ खर्चेको पाइएको छ । शर्माले आफू चढ्ने गाडी चार करोडमा खरिद गरेको पाइएको छ । त्यसबाहेक सहकारीको नामा दुई वटा कार ९० लाखमा खरिद गरेको भेटिएको छ । ती कार तुलसी सहकारी संस्थाको नाममा दर्ता छ ।

सहकारीको नाममा रहेको प्रदेश ३–०२४ च ४५९२ नम्बरको कार सहकारीका प्रबन्धक मन्दिप खवासले चढ्ने गरेका थिए । अर्को कार सञ्चालक बन्टी अधिकारीले चढ्ने गरेकी थिइन् । मुद्दा परेपछि उनी अहिले फरार छिन् ।

सहकारी सचिव सविना न्यौपाने निसान कम्पनीको टेरानो कार चढ्ने गरेकी थिइन् । जुन गोर्खा टि.एण्ड कफी इण्डष्ट्रिज प्रा.लि.को नाममा दर्ता छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप