आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कृषि

सामूहिक फूल खेतीमा भरतपुरका महिला, बजारीकरणको चिन्ता

मङ्गलबार, २६ मङ्सिर २०८०, ०६ : ०४
मङ्गलबार, २६ मङ्सिर २०८०

मकवानपुर । महत्त्वपूर्ण चाड दीपावली (तिहार) नजिकिएसँगै नेपाली बजारमा फूलको अभाव हुने गरेको छ । बजारको माग धान्न हरेक वर्ष नेपाली बजारमा भारत लगायतका देशबाट ठुलो परिमाणमा फूल आयात हुने गरेको तथ्याङ्क छ ।

हरेक वर्ष यो समस्या नेपाली बजारमा हुने गरेको छ । गत वर्ष पनि तिहारको समयमा नेपाली बजारमा फूलको निकै अभाव देखियो । ठुलो परिमाणमा भारतबाट फूल आयात हुँदा समेत बजारमा फूलको माग धान्न मुस्किल भयो ।

सोही समस्या चितवनको भरतपुरमा पनि देखियो । तिहारमा विशेष गरी मखमली र सयपत्री फूलको बढी प्रयोग हुने गर्दछ । तिहार कै समयमा भरतपुर–८ की शैलजा घिमिरेले फूल अभावमा निकै समस्या भोगिन् ।

घिमिरे पेसाले सहकारीकर्मी हुन् । उनी भरतपुर–८ मा रहेको बिस हजारी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको अध्यक्ष छिन् ।

flower (9)

गत वर्ष तिहारको समयमा फूलको अभावमा समस्या भोगेकी उनलाई यस पटक भने फूलको बजार कहाँ खोज्ने भन्ने चिन्ता छ । गत वर्ष फूल नपाएको दुःख सम्झेर घिमिरेको नेतृत्वमा सहकारी संस्था मार्फत फूल खेती गरिएको छ ।

उनले लगाएको फूल अहिले ढकमक्क फूलेको छ । सप्रिएका सयपत्री फूलका बोटमा ठुलाठुला थुङ्गा फूल फुलेका छन् । अहिले सो फूल टिप्ने चटारोमा छिन् घिमिरे । 

आफूसहित सहकारीको कार्यसमितिका सदस्य र साधारण सदस्यहरूलाई साथमा लिएर घिमिरेले फूल खेती सुरु गरेकी थिइन् । उनले घर–भान्सामा व्यस्त हुने महिलालाई साथमा लिएर केही आर्थिक उपार्जन हुने उद्देश्य अनुसार फूल खेती गर्ने योजना बनाएकी थिइन् । सोही योजना अनुसार उनले सामूहिक फूल खेती सुरु गरेकी थिइन् ।

घिमिरेको नेतृत्वमा रहेको सहकारीले विशेष गरी कृषि क्षेत्रमा काम गर्दै आएको छ । धान, तोरी, गहुँ, मकै जस्ता कृषि बाली उत्पादनमा काम गरेको उनको सहकारीले पहिलो पटक फूल खेती गरेको हो ।

एक हजारभन्दा बढी सदस्य रहेको उक्त संस्थाको नेतृत्व गरिरहेकी घिमिरे आफैँ फूलबारीमा काम गर्दै गरेको अवस्थामा भेटिन्छिन् । तिहारमा आफैँलाई आवश्यक पर्ने र स्थानीयस्तरमै खपत हुने भएकाले फूल खेती गर्ने निर्णयमा पुगेको अध्यक्ष घिमिरे बताउँछिन् ।

flower (7)

‘गत वर्षको तिहारमा फूलको कारण निकै दुःख बेहोर्नु प¥यो । बजारमा फूल पाउनै मुस्किल भयो । बजारमा फूलको अभाव हुँदा निकै समस्या भएको थियो । त्यसैले फूल खेतीको योजना बनाएका हौँ,’ उनले भनिन्, ‘सुरुवातमा त आफ्नै प्रयोगका लागि फूल खेती गर्ने योजना बनेको थियो । तर, पछि महिलाहरूको रोजगारीको हिसाबले फूल खेतीको सुरुवात गरिएको हो ।’

आर्थिक उपार्जनको हिसाबले पनि राम्रो हुने देखिएपछि संस्थाको सञ्चालक समितिको बैठकबाट निर्णय गरेर काम सुरु गरेको उनले बताइन् । बैठकले उत्पादन तथा बजारीकरणको योजनाहरू निर्माण गरेर परीक्षणका रूपमा एक बिघा क्षेत्रफलमा फूल खेती गरेको उनको भनाइ छ ।

फुर्सदको समय र संस्थाको हरेक बैठकपछिको २ घण्टा समय खर्चेर फूल हुर्काएको घिमिरे बताउँछिन् । ‘फूल उत्पादनमा आर्थिक रूपमा धेरै लगानी परेको छ । आफैँले पनि मेहनत गरेर काम गरेका छौँ । हामीले गरेको परिश्रमको मूल्य राखेका छैनौँ । गोडमेल, पानी पटाउने काम आफैँले गर्ने गरेका छौँ,’ उनले भनिन्, ‘अहिले फूल ढकमक्क फुलेको छ । फूल देख्दा मन नै रमाएको छ । दुःख गरे अनुसार फूल उत्पादन राम्रो भएको छ ।’

फूल खेतीका लागि विशेषज्ञको अभाव हुँदा उक्त पेसामा लाग्नेहरूलाई समस्या भएको उनले बताइन् । ‘विज्ञको अभाव रहेछ । हामीले फूल खेती सुरु गर्न कृषि ज्ञान केन्द्रमा सम्पर्क गर्दा पनि फूल खेतीका लागि आवश्यक परामर्श दिने विशेषज्ञ रहेको पाइएन । स्थानीय तहको कृषि शाखामा पनि विज्ञ भेटिएन,’ घिमिरेले भनिन्, ‘फूल खेतीका लागि आवश्यक प्राविधिक विषयहरूको तालिम तथा जानकारी पाउन कठिन भयो ।’

यसअघि फूल खेती गरेका कृषकहरूको सल्लाह सुझाव अनुसार काम गरेको घिमिरेले बताइन् । फुल खेतीका लागि आवश्यक परामर्श तथा सुझावका लागि स्थानीय तहसँगै सरकारले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

flower (6)

बजारीकरणमा समस्या

घिमिरेको नेतृत्वमा रहेको सहकारीले गरेको फूलखेतीमा फूल उत्पादन भइसकेको छ । तर, कहाँ बेच्ने भन्ने अन्योल उनीहरूमा छ ।

फूलको बजारीकरणमा समस्या भएको घिमिरेको भनाइ छ । उत्पादित फूल बिक्रीको प्रबन्ध कसरी गर्ने भन्ने विषयमा अलमलमा परेको उनी बताउँछिन् । उत्पादित फूलले उचित बजार पाउने अवस्था नरहेको उनको भनाइ छ ।

‘आम्दानी कसरी लिने भन्ने अन्योल छ । बजारीकरणमा समस्या भइरहेको छ । फूल उत्पादन भए अनुसार खपत गर्ने स्थान देखेका छैनौँ,’ उनले भनिन्, ‘संस्थाका सदस्यहरूले मात्र खपत गरेर सकिने अवस्था पनि छैन । बाहिरी बजारमा बिक्री गर्नुपर्ने हुन्छ ।’

भारतीय बजारको फूलसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले आफूहरूले उत्पादन गरेको फूलले उचित बजार पाउन सक्छ जस्तो नलागेको उनले सुनाइन् ।

विभिन्न चुनौतीका बिच पनि घिमिरेको नेतृत्वमा रहेको सहकारीका सदस्यहरूले बजारीकरणका लागि योजना बनाएका छन् । उनीहरूले सामाजिक सञ्जाल र स्थानीय बजारका होलसेल पसलहरूबाट फूल बिक्री वितरणको योजना बनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप