आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

विश्वकपमा आज : जितसँगै सेमिफाइनलमा पुग्ने अस्ट्रेलियाको दाउ, अफगानिस्तान पनि दौडमा कायम

मङ्गलबार, २६ मङ्सिर २०८०, ०७ : १५
मङ्गलबार, २६ मङ्सिर २०८०

मुम्बई । एकदिवसीय विश्वकप क्रिकेटको ३९ औँ खेल अस्ट्रेलिया र अफगानिस्तानबिच मुम्बईको वानखेडे स्टेडियममा हुँदैछ । खेल दिउँसो २:१५ बजे सुरु हुनेछ । 

यो खेल दुवै टोलीका लागि निकै महत्त्वपूर्ण छ । यो खेल जितेर पाँच पटकको विश्व च्याम्पियन अस्ट्रेलिया सेमिफाइनलमा पुग्ने छ । योसँगै यो विश्वकपमा आफ्नो प्रदर्शनले सबैलाई चकित पारेको अफगानिस्तानले यो खेल जित्यो भने सेमिफाइनलको दौडमा न्युजिल्यान्ड र पाकिस्तानलाई पनि उछिनेर अघि बढ्न सक्छ ।

दुवै टोली उत्कृष्ट लयमा

अस्ट्रेलिया यस विश्वकपमा उत्कृष्ट लयमा छ, पहिलो दुई खेलमा हार बेहोरेपछि पाँच खेल जितेको छ । सात खेलमा पाँच जित र दुई पराजयपछि १० अङ्क जोडेको टोली अङ्क तालिकाको तेस्रो स्थानमा छ ।

अर्कोतर्फ अफगानिस्तानले यस विश्वकपमा पूर्व च्याम्पियन इंग्ल्याण्ड, पाकिस्तान र श्रीलंका जस्ता तीन ठुला टोलीलाई पराजित गरेको छ । सात खेलमा चार जित र तीन पराजयपछि ८ अङ्क जोडेको टोली छैटौँ स्थानमा छ ।

हेड टू हेड

एकदिवसीयमा रेकर्ड अस्ट्रेलियाको पक्षमा एकतर्फी हो । यी दुईबीच एकदिवसीय विश्वकपमा अहिलेसम्म कुल दुई खेल खेलिएका छन् । दुवैमा अस्ट्रेलियाले जित हात पारेको छ । विश्वकपका खेलबाहेक एकदिवसीयमा दुई टोलीबिच एउटा मात्र खेल भएको छ । जुन सन् २०१२ मा भएको थियो, जसमा अस्ट्रेलिया ६६ रनले विजयी भएको थियो। यसको मतलब अफगानिस्तानको टोलीले आज जित्यो भने यो अस्ट्रेलियाविरुद्धको एकदिवसीयमा पहिलो जित हुनेछ।

आजको खेलमा दुई टोलीबिच कडा प्रतिस्पर्धा हुनेछ । मुजिब उर रहमान, मोहम्मद नाबी, राशिद खान र नूर अहमदको स्पिन बलिङले अष्ट्रेलियाको ब्याटिङ लाइन अपलाई समस्यामा पार्न कुनै कसर छोड्ने छैन।

प्रभाव पार्ने खेलाडी

अस्ट्रेलियाका लागि यो विश्वकपमा डेभिड वार्नरले सर्वाधिक रन बनाएका छन् । उनले सात खेलमा ४२८ रन बनाएका छन् । उनको नाममा दुई शतक र एक अर्धशतक रहेको छ । बलिङमा एडम जाम्पाले सर्वाधिक १९ विकेट लिएका छन् ।

उता अफगानिस्तानका लागि हसमतुल्लाह शाहिदीले सर्वाधिक २८२ रन बनाएका छन् । उनी प्रतियोगितामा टिमका सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनको नाममा ७ खेलमा ३ अर्धशतक छ । मुजिब उर रहमान ७ विकेट लिएर टिमका सर्वाधिक बलर बनेका छन् ।

टोलीबारे अपडेट

अस्ट्रेलियाका स्टार अलराउन्डर ग्लेन म्याक्सवेल अहिले पूर्ण रूपमा फिट भएका छन् । उनले आज अफगानिस्तानसँग खेल्न सक्छन् । अक्टोबर ३० मा म्याक्सवेल गल्फ कार्टबाट चिप्लिएर खसे, जसका कारण उनी घाइते भएका थिए । उनले इंग्ल्याण्डविरुद्धको पछिल्लो खेल खेल्न सकेनन् । मिचेल मार्स पनि टोलीमा आएका छन्, उनी पनि इंग्ल्याण्डविरुद्ध खेलेका थिएनन् । मार्स व्यक्तिगत कारणले अस्ट्रेलिया गएका थिए तर अहिले फर्किएका छन् ।

पिच रिपोर्ट

मुम्बईको वानखेडे स्टेडियमको पिच ब्याटिङ मैत्री छ । यहाँ ब्याट्सम्यानलाई धेरै सहयोग मिल्छ । प्रतियोगिताको चौथो खेल रंगशालामा हुनेछ । यही मैदानमा इंग्ल्यान्ड–दक्षिण अफ्रिका, बंगलादेश–दक्षिण अफ्रिका र भारत–श्रीलंकाबिचको खेल खेलिएको थियो ।

यस मैदानमा हालसम्म २६ ओडिआई खेल भएका छन् जसमा पहिले ब्याटिङ गर्ने टोलीले १४ खेल जितेको छ भने पछि ब्याटिङ गर्ने टोलीले १२ खेल जितेको छ । पहिलो इनिङ्सको औसत कूल २६० रन हो ।

सर्वाधिक टोलीको स्कोर ४३८ हो जुन दक्षिण अफ्रिकाले सन् २०१५ मा भारतविरुद्ध बनाएको थियो। यस विश्वकपमा श्रीलंकाले भारतविरुद्ध बनाएको सबैभन्दा कम टोलीको स्कोर ५५ हो।

मौसम पूर्वानुमान 

मंगलबार मुम्बईमा मौसम सफा रहनेछ। वर्षाको सम्भावना  १% छ। यस अवधिमा हावाको गति ७ किलोमिटर प्रतिघण्टा रहनेछ । तापमान २७ देखि ३७ डिग्री सेल्सियससम्म हुन सक्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप