आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राहत पाए–नपाएको अनुगमन गर्न संसद्को राज्यव्यवस्था समितिको टोली भूकम्प प्रभावित क्षेत्रमा जाँदै

मङ्गलबार, १८ वैशाख २०८१, ११ : ३६
मङ्गलबार, १८ वैशाख २०८१

काठमाडौँ ।  प्रतिनिधि सभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिको टोली भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुममा अनुगमनका लागि जाने भएको छ । 

बुधबार बिहान ९ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गर्ने र पीडितहरूको अवस्था, राहत वितरण तथा स्वास्थ्य अवस्था आदीको अध्ययन गरी सरकारलाई निर्देशन दिने योजना रहेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए । 

सभामुख देवराज घिमिरेले फोन गरी संसद्को राज्य व्यवस्था तथा सुशासन समिति घटनास्थलमा जाओस् भन्ने चाहना राखेको सभापति खतिवडाले बताए । 

संसद्को अधिवेशन नभएकोले संसदीय समितिको बैठक बस्न कोरम नपुग्ने समस्या लगायतका कारण भूकम्प प्रभावित क्षेत्रमा संसदपनि पुगोस् भन्ने उद्देश्य सभामुखले राखेकोले घटनास्थलमा पुगेर अध्ययन गर्न लागिएको उनले बताए । 

रातोपाटीसँग कुरा गर्दै सभापति खतिवडाले भने, ‘भूकम्प प्रभावित क्षेत्रमा जाने, फोटो खिच्ने, आउनेमात्र भएको छ कि राहत कसरी वितरण भएको छ, जनताको अवस्था कस्तो छ संसदीय समितिले पनि हेरौँ भनेर हामी त्यसतर्फ जान लागेका छौँ । यस्तो अवस्थामा हामीले राज्यलाई आर्थिक भार दिँदैनौँ । जाने आउने टिकट खर्च, खाने बस्ने सबै खर्च सबै हामी आफैले व्यवस्थापन गरेका छौँ ।’

सभापति खतिवडाले सो क्षेत्रमा जाने ९ जना सबै सांसदहरुको टिकटको व्यवस्था गरिसकेका छन् । सुर्खेतसम्म विमानमा गएर त्यहाँबाट भूकम्प प्रभावित क्षेत्रमा गएर राहत वितरणको अवस्था के छ, स्वास्थ्यको अवस्था के छ, के गर्नुपर्ने त्यसबारेमा अनुगमन र अध्ययन गरेर सरकारलाई निर्देशन दिने सभापति खतिवडाले जानकारी दिए । 

समिति सभापति खतिवडाले अनुगमन टोली सर्वपक्षीय हुने जानकारी दिएका छन् । अनुगमनमा समिति सभापति खतिवडासँगै सांसदहरु गगन थापा,  विश्वप्रकाश शर्मा, हृदयराम थानी, कृष्णगोपाल श्रेष्ठ, रवि लामिछाने, बुद्धिमान तामाङ, सर्वेन्द्रनाथ शुक्ल, चित्रबहादुर केसीलगायत जाँदैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप