आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
जाजरकोट भूकम्प

भूकम्पले उजाडिए कर्णालीका गाउँबस्ती

२० हजारभन्दा बढी घरमा क्षति, साढे ५ हजारभन्दा बढी घर पूर्ण रूपमा ध्वस्त
मङ्गलबार, १८ वैशाख २०८१, १४ : १८
मङ्गलबार, १८ वैशाख २०८१

जाजरकोट । गत शुक्रबार मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्यूडको भूकम्पले कर्णालीका सयौँ गाउँबस्ती उजाड बनाइदिएको छ ।

विशेषगरी भूकम्पको केन्द्रविन्दुमा रहेका बस्ती पूर्ण रूपमा ध्वस्त भएका छन्, जहाँका मान्छे अहिले भत्किएको आफ्नो जायजेथा हेर्दै खुला आकाशमुनि दिन बिताउन बाध्य छन् ।

jajarkot earthquake- Nepal Photo Library4

जाजरकोटको भेरी नदी आसपासका चिउरी, छेपारे लगायतका बस्ती भूकम्पका कारण पूर्ण रूपमा ध्वस्त भएका छन् । छेपारे रुकुम पश्चिमको पनि पश्चिम क्षेत्रमा पर्ने आठबिसकोट नगरपालिका–१४ को गाउँ हो । यहाँ करिब ४० घर थिए । ती सबै घर पूर्ण रूपमा ध्वस्त बनेको स्थानीय प्रदिप विक बताउँछन् ।

यो बस्तीका ११ जनाको भूकम्पमै परी ज्यान गयो । जसका कारण गाउँ शोकमा छ भने नागरिकहरू बारीमा त्रिपाल टाँसेर बसिरहेका छन् ।

यो त एउटा प्रतिनिधिमुलक घटनामात्रै हो । भूकम्पले क्षति पुर्‍याएको आज पाँच दिन भइसक्यो । अहिलेसम्म प्राप्त विवरण अनुसार कर्णालीका २० हजार ८८८ घरमा भूकम्पले क्षति पुर्‍याएको छ । जसमध्ये ५ हजार ५१६ घर पूर्ण रूपमा ध्वस्त भएका छन् ।

भूकम्पले कर्णालीका रुकुम पश्चिम, जाजरकोट, सल्यान, दैलेख, कालिकोट, जुम्ला र सुर्खेतमा असर पुर्‍याएको छ । यद्यपि अहिलेसम्म सुर्खेतमा भएको क्षतिको कुनै विवरण प्राप्त छैन ।

जिल्ला प्रहरी कार्यालय तथा प्रदेश प्रहरी कार्यालयबाट प्राप्त विवरणअनुसार रुकुम पश्चिममा मात्रै ११ हजार ७८८ वटा घरमा क्षति पुगेको छ । यहाँका ४ हजार २३६ घर पूर्ण रूपमा ध्वस्त भएका छन् ।

jajarkot earthquake- Nepal Photo Library12

सबैभन्दा बढी क्षति हुने मध्येको पालिका हो आठबिसकोट । यो नगरपालिकाका मात्रै ३ हजार ७३६ घरमा क्षति पुगेको छ, जसमा १ हजार ५० घरहरू पूर्ण रूपमा ध्वस्त भएका छन् । यस्तै १ हजार ५१० घरमा आंशिक र १ हजार १७६ घरमा सामान्य क्षति पुगेको छ ।

रुकुम प्रहरीले अनुमानित क्षतिको विवरण पनि निकालेको छ । जस अनुसार आठबिसकोटमा १ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान छ ।

सानोभेरीमा ३ हजार ५२३ घरधुरीमा भूकम्पले क्षति पुर्‍याएको छ भने २ हजार ९८० घर पूर्ण रूपमा ध्वस्त भएका छन् । यहाँ ९३ घरमा आंशिक र ५० घरमा सामान्य क्षति पुगेको छ । यहाँ अनुमानित ५ करोड ३० लाख बराबरको क्षति भएको रुकुम पश्चिम प्रहरीलाई उद्धृत गर्दै प्रदेशको कानुन मन्त्रालयको शान्ति सुरक्षा शाखाले जनाएको छ ।

यसैगरी मुसिकोट नगरपालिकामा क्षति पुगेका १०९ घरमध्ये ३४ घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने ७५ घरमा आंशिक क्षति पुगेको छ । बाँफिकोट गाउँपालिकामा भने कुनै पनि भौतिक संरचनामा क्षति पुगेको छैन ।

चौरजहारी नगरपालिकाका १३० घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने यहाँ ६६ लाख रुपैयाँ बराबरको अनुमानित क्षति विवरण प्राप्त भएको छ ।

jajarkot earthquake- Nepal Photo Library17

सबैभन्दा बढी अर्थात् ४ हजार २९० घरमा क्षति पुगेको त्रिवेणी गाउँपालिकाका ४२ घरमा पूर्ण, ७१४ घरमा आंशिक र ३ हजार ५३४ घरमा सामान्य क्षति पुगेको छ । यहाँ ४३ करोडको क्षति भएको अनुमान छ । 

भूकम्पको इपिसेन्टरका रूपमा रहेको जाजरकोटमा अहिलेसम्म प्राप्त विवरण अनुसार ८ हजार ३४५ घरमा क्षति भएको छ । त्यसमध्ये १ हजार १७९ वटा घर पूर्ण रूपमा ध्वस्त बनेका छन् । यस्तै ७ हजार १६६ घरमा आंशिक क्षति भएको छ ।

जाजरकोटमा सबैभन्दा बढी क्षति पुगेका पालिका हुन् भेरी नगरपालिका, नलगाड नगरपालिका र बारेकोट गाउँपालिका । त्यसमध्ये मानवीय क्षति धेरै भएको नलगाड हो ।

भेरी नगरपालिकामा ४४ घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने ७१२ घरमा आंशिक क्षति पुगेको छ । दुई सय घर पूर्ण रूपमा ध्वस्त भएको नलगाड नगरपालिकामा ६ सय घरमा आंशिक क्षति पुगेको छ । नगरपालिकाका मेयर डम्बर रावल अझै पनि क्षतिको विवरण संकलनको काम भइरहेको र क्षति अझै बढी हुन सक्ने बताउँछन् ।

jajarkot earthquake- Nepal Photo Library14

नलगाडको चिउरी गाउँमा मात्र १८६ घरधुरीमध्ये अधिकांश घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने आंशिक रूपमा सबै घरमा क्षति पुगेको छ, जहाँ मान्छे बस्न लायक अवस्था छैन । मेयर रावलका अनुसार पालिकामा ९० प्रतिशत भन्दा बढी घरमा भूकम्पले क्षति पुर्‍याएको छ ।

बारेकोट गाउँपालिकाका १६० घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने ५६० घरमा आंशिक क्षति पुगेको छ । यस्तै जुनीचाँदे गाउँपालिकाका २७० घर पूर्ण र ४ हजार ४५६ घर आंशिक रूपमा क्षति पुगेको छ ।

यस्तै छेडागाड नगरपालिकाका एक सय घर पूर्ण रूपमा क्षति भएका छन् भने पाँच सय घरमा आंशिक क्षति पुगेको छ । कुशे गाउँपालिकाका ९५ घर पूर्ण, ३०१ घरमा आंशिक क्षति पुगेको छ भने शिवालयमा १ घर पूर्ण र ३७ घरमा आंशिक क्षति पुगेको छ ।

सल्यानमा ५३० घरमा क्षति पुगेको छ, जसमा ९५ घरमा पूर्ण, २५५ घरमा आंशिक र १७३ घरमा सामान्य क्षति भएको छ ।

सल्यानको दार्मा गाउँपालिकामा सबैभन्दा बढी ९३ घर पूर्ण रूपमा ध्वस्त भएका छन् । यो पालिकामा २३६ घर आंशिक र ६६ घरमा सामान्य क्षति पुगेको छ ।

बागचौर नगरपालिकाका २ घरमा पूर्ण, ७ घरमा आंशिक, १७ घरमा सामान्य क्षति हुँदा शारदा नगरपालिकाको एउटा घरमा आंशिक र २ घरमा सामान्य क्षति भएको छ ।

jajarkot earthquake- Nepal Photo Library9

यस्तै, सिद्धकुमाख गाउँपालिकामा २ घरमा आंशिक, १८ घरमा सामान्य, कपुरकोट गाउँपालिकामा ३ घरमा आंशिक, २३ घरमा सामान्य र त्रिवेणी गाउँपालिकामा १ घरमा आंशिक र बनगाड कुपिण्डेमा ५ घरमा आंशिक र ४७ घरमा सामान्य क्षति पुगेको सल्यान प्रहरीको रेकर्डमा छ ।

भूकम्पले कालिकोटमा पनि सामान्य क्षति पु¥याएको छ । कालिकोटका ९७ घरमा आंशिक क्षति पुगेको विवरणमा उल्लेख छ ।

यस्तै दैलेखको महावु गाउँपालिकामा एक घरमा पूर्ण र ६ वटा घरमा आंशिक क्षति पुगेको छ । जुम्लाका १२२ घरमा क्षति पुग्दा तातोपानी गाउँपालिकाका ५ घर पूर्ण रूपमा ध्वस्त र ११७ घरमा आंशिक रूपमा क्षति पुगेको शान्ति सुरक्षा शाखाले जानकारी दिएको छ ।

क्षति पुगेको अधिकांश घर परम्परागत ढुंगा, माटोबाट बनेका हुन् । सोमबार अपराह्न चार बजे पुनः भूकम्प गएपछि थप क्षति भएको छ । यद्यपि क्षति विवरण भने आउन बाँकी नै छ ।

‘आंशिक, सामान्य क्षति भएका घरमा मानिस बस्न सक्ने अवस्था छैन,’ भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्ती भन्छन्, ‘हामी अझै पनि सूचना संकलनको काममा व्यस्त छौँ । नागरिकहरुलाई राहत वितरणका सक्रिय भएका छौँ ।’

यस्तै प्रहरीले पनि क्षतिका विवरण सम्बन्धित स्थलमै पुगेर लिने गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप