आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सम्पूर्ण नागरिकको आवास र दुर्घटना बीमा गर्न सरकारसँग यादवको माग

मङ्गलबार, १८ वैशाख २०८१, १४ : ४७
मङ्गलबार, १८ वैशाख २०८१

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं कर्णाली प्रदेशका इन्चार्ज मातृका यादवले सम्पूर्ण नागरिकको लागि विपद् जोखिम आवास बीमा तथा प्राकृतिक विपद् जोखिममा सामूहिक दुर्घटना बिमा गर्न सरकारसँग माग गरेका छन् । जाजरकोटमा भूकम्प आएपछि कात्तिक १९ गते बसेको कर्णाली प्रदेशको सचिवालय बैठकबाट सो माग गरिएको हो । 

देशमा पटक–पटक भूकम्प आइरहेकाले जोखिम बढेको कारणले सम्पूर्ण नागरिकको स्वास्थ्य बीमा तथा जोखिम आवास बीमाको व्यवस्था सरकारले गर्नुपर्ने माग आफूहरूले राखेको इन्चार्ज यादवले रातोपाटीलाई बताए । त्यस्तै, बैठकले यथाशीघ्र पुनर्निर्माणको कार्य गर्न एउटा सबल पुनर्निर्माण प्राधिकारिण गठन गर्न पनि माग गरेको उनले बताए । 

बैठकपछि जारी गरिएको विज्ञप्ति अनुसार जाजरकोट, पश्चिम रुकुम, सल्यानलगायत विपद् जोखिम क्षेत्रहरूलाई सङ्कटग्रस्त क्षेत्र घोषणा, विपद् व्यवस्थापन विशेष कार्ययोजना निर्माण, साधन स्रोत तथा जनशक्तिको एकीकृत परिचालन गरी तत्काल पुनर्स्थापना गर्न सरकारसँग माग गरिएको छ ।

त्यस्तै, भूकम्प प्रभावित क्षेत्रलाई लक्षित गरेर स्वरोजगार तथा रोजगारमूलक कार्यक्रम सञ्चालन एवं व्यावसायिक कार्यका लागि सहुलियत ऋणको व्यवस्था गर्न तीनवटै तहका सरकारलाई आग्रह गरिएको उनले बताए ।

कर्णाली प्रदेश कमिटीले सरकारको राहत कोषमा भूकम्प पीडितहरूलाई राहत तथा पुनर्स्थापनाका लागि प्रदेश पार्टीको तर्फबाट पाँच लाख जम्मा गर्ने निर्णय भएको र त्यसमा सबै जिल्लाले सहयोग गर्ने इन्चार्ज यादवले बताए । भूकम्प प्रभावित क्षेत्र स्थायी ठेगाना भएका नेता कार्यकर्ताहरूलाई अभियानको कार्यक्षेत्रबाट गृह जिल्ला फर्केर विपद् व्यवस्थापन कार्यमा क्रियाशील हुन प्रदेश कार्यालयले निर्देशन दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप