आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
जाजरकोट भूकम्प

जाजरकोट र रुकुम पश्चिमबाहेक अन्य प्रभावित जिल्लामा गएन राहत

गृह प्रवक्ता भन्छन्, ‘अन्यत्र माग आएको छैन’
मङ्गलबार, १८ वैशाख २०८१, १५ : ०७
मङ्गलबार, १८ वैशाख २०८१

काठमाडौँ । भूकम्पबाट प्रभावितहरूलाई उद्धार गरेसँगै सरकारले राहत वितरण कार्यक्रम जाजरकोट र पश्चिम रुकुममा मात्र केन्द्रित गरेको छ । कात्तिक १७ मा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर जाजरकोट र पश्चिम रुकुममा मात्र १५३ जनाको मृत्यु  भएको थियो । 

मुख्य प्रभावित दुई जिल्ला बाहेक कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा पनि भूकम्पले क्षति गरेको छ । तर, ती जिल्लामा केन्द्र सरकारले राहत पठाएको छैन । गृह मन्त्रालयको तथ्याङ्क अनुसार जाजरकोट र रुकुम पश्चिम सहित दैलेख, जुम्ला, सल्यान, अर्घाखाँची, रोल्पा, प्युठान, बैतडी, दाङ र रुकुम पूर्वमा पनि भूकम्पले क्षति गरेको छ । 

अन्य ९ जिल्लाबाट माग नआएको हुनाले राहत सामग्री त्यसतर्फ नपठाएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) नारायण प्रसाद भट्टराईले रातोपाटीलाई बताए । 

भूकम्पका कारण दैलेखमा ३ जना, जुम्लामा ३ जना, सल्यानमा २ जना, अर्घाखाँचीमा १ जना, रोल्पामा १ जना, प्युठानमा ३ जना र बैतडीमा ३ जना घाइते भएका छन् ।  दाङमा १ जना घाइते भएका छन् । कम प्रभावित जिल्लामा प्रमुख जिल्ला अधिकारीहरूले स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेको गृह प्रवक्ता भट्टराईले बताए । भट्टराईले भने, ‘जुम्ला लगायतमा प्रजिअहरुसँग कुरा हुँदा उहाँहरुले स्थानीय तहसँग समन्वय भइरहेको भन्नुभएको छ ।’ 

सरकारी निकायका पुनस्र्थापनाको चरणमा प्रवेश नगरेको र दोस्रो चरणमा त्यसबारे निर्णय गरिने सह–सचिव भट्टराईले जानकारी दिए । पुनर्स्थापना र पुनर्निर्माणबारे निर्णय गर्दा प्रभावित सबै जिल्लामा कसरी काम गर्ने भन्नेबारे निर्णय गरिने उनले बताए ।

 मुख्य प्रभावित जिल्ला पश्चिम रुकुम र जाजरकोटमा घाइतेहरूको उपचारका गर्न नेपाल प्रहरी अस्पतालका डीआईजी गोपेश ठाकुरको नेतृत्वमा स्वास्थ्यकर्मी परिचालन गरिएको छ । गम्भीर घाइतेहरूलाई सुर्खेत, नेपालगन्ज र काठमाडौँमा ल्याएर उपचार भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप