आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
ग्राउण्ड जिरो

राज्यलाई चिउरीवासीको अनुरोध : चिसोले बालबालिका मर्ने भए, तत्काल त्रिपाल ल्याइदेऊ

मङ्गलबार, २६ मङ्सिर २०८०, १६ : ४५
मङ्गलबार, २६ मङ्सिर २०८०

जाजरकोट (चिउरी) । गत शुक्रबारको भूकम्पबाट एउटै बस्तीका १३ जना र एकै परिवारका चार जनाले ज्यान गुमाएको बस्ती हो–नलगाड नगरपालिका–१ को चिउरी । दलित समुदायको बाहुल्यता रहेको यो बस्ती सम्भवतः जाजरकोटमा भूकम्पबाट सबैभन्दा बढी प्रभावित र क्षति भएको बस्ती हो । तर, यही बस्तीमा राज्यको उपस्थिति हुन सकिरहेको छैन ।

गत शुक्रबारको भूकम्पले जमिनमा समेत चिरा पारेको छ यहाँ । भेरी नदीको एक किनाराको खोँचमा रहेको यस बस्तीमा १८६ घरधुरी छन् । अधिकांश घरमा भूकम्पले क्षति पु¥याएको छ ।

IMG_20231105_085551_803

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि उपप्रधानमन्त्री तथा रक्षामन्त्री पुर्णबहादुर खड्का, जाजरकोट निवासी सरकारका ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेत, कर्णाली सरकारका अर्थमन्त्री बेदराज सिंहदेखि कर्णालीका मुख्यमन्त्री लगायतका भीआईपीहरु जाजरकोट पुगेका छन् । अझ भनौँ चिउरी बस्तीको माथि आकाश हुँदै रक्षा मन्त्री खड्काले पटक–पटक ओहोर–दोहोर गरिरहेको स्थानीयवासीले देखिरहेका हुन्छन् । तर यो बस्तीमा कुनै पनि भीआईपीहरुको उपस्थिति नभएको स्थानीय युवा हात्तीराम महर बताउँछन् ।

१३ वटा लासहरुको लावालस्कर

सोमबार भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने खालीहात त्यहाँ पुगेर सान्त्वना दिने काम गरेको महरले रातोपाटीलाई जानकारी दिए ।

शुक्रबार राति जिल्लामा भूकम्पमा ज्यान गुमाएका १३ जनाको सामूहिक दाहसंस्कार आइतबारमात्र गरिएको थियो । भूकम्पले अचेत गाउँवासीले शनिबार दाहसंस्कार व्यवस्थापनको कुनै भेउ पाएनन्, गाउँ रोइरह्यो । शनिबारदेखि आइतबारसम्म एउटा पाल हालेर लासहरु लस्करै राखियो र गाउँका मान्छेहरु ती लासहरु कुरेर रात बिताए ।

IMG_20231105_094432_839

आइतबार त्यहाँ विभिन्न निकायका प्रतिनिधिहरुको उपस्थिति थियो । उनीहरुको सहयोगमा लासहरु गाउँ नजिकैको नदीमा लगेर सामूहिक रुपमा अन्त्येष्टि गरियो । दाहसंस्कार स्थलमा भने केही भीआईपीहरुको उपस्थिति थियो ।

पाँच परिवारका १३ जनाको मृत्युपछि गाउँ रोइरहेको छ । ‘यति ठुलो घटना घटेको बस्तीमा कोही नआउँदा यहाँका नागरिकलाई दुःख लागेको छ,’ महर भन्छन्, ‘वडाध्यक्षज्यूले हाम्रै जिल्लाको नेता शक्ति बस्नेतज्यू हिजो आउने भन्नुभएको थियो, अहिलेसम्म आउनुभएको छैन ।’

IMG-74b463dc0a8084f74ab6033cb2b31fcf-V

गाउँका समाजसेवीका रुपमा चिनिने प्रकाश विक राज्यबाट आउने राहत अझै आइनपुगेको बताउँछन् । संघ–संस्था, दातृ निकायबाट भने केही चामल आएको छ । उनका अनुसार बस्तीका नागरिकको अवस्था बिजोग छ ।

‘यहाँ पाल नहुँदा रात काट्न कठिन छ,’ उनले रातोपाटीसँग भने, ‘केही सहयोगदाता आएर सामान्य सहयोग गरे पनि राज्यबाट राहत पाइएको छैन ।’ दातृ निकायबाटै पाएको थोरै त्रिपाल छ, जसमा एक जनामात्र सुत्न मिल्ने खालको छ । कसैको एउटै परिवारका ६–७ जना परिवार भएकाले उक्त पालले आवाश्यकता पूर्ति नभएको विक बताउँछन् ।

एउटै पालमुनि बसिरहेका भूकम्प प्रभावितहरु

हात्तीराम लगायतका केही युवाले गाउँमा आउनेहरुको तथ्याङ्क नै संकलन गर्ने गरेका छन् भने कुन निकायबाट के प्राप्त भएको भन्ने विवरणसमेत रेकर्ड राख्ने गरेका छन् । उनका अनुसार यहाँको जनसंख्या ९ सयभन्दा बढी छ । अहिलेसम्म एक सय बोरा चामल, सय पेटी चाउचाउ र ४० वटा जति त्रिपाल आएको छ ।

एउटै पालमुनि बसिरहेका भूकम्प प्रभावितहरु2

करिब २५० भन्दा बढी मान्छे अझै पनि त्रिपाल नभएर बाहिर खुला आकाशमुनि सुत्न बाध्य रहेको उनले बताए । ‘हाम्रो मुख्य आवश्यकता नै त्रिपाल हो,’ उनी भन्छन्, ‘यहाँ बालबालिकालाई जोगाउन समस्या छ, त्रिपाल नहुँदा र आवश्यक कपडाहरु नहुँदा चिसोका कारण बालबालिका मर्ने सम्भावना बढेको छ । हाम्रो राज्यलाई अनुरोध छ कि यहाँ तत्काल त्रिपालहरु पु¥याइयोस् ।’

चिसोका कारण बालबालिकालाई निमोनिया, टाइफाइट लगायतका रोगहरुको संक्रमण हुने खतरा बढेको उनको भनाइ छ ।

भत्केको घर र चिउरी गाउँ

भूकम्पबाट मृत्यु भएकाहरुको सामूहिक दाहसंस्कारका दिन नदीमा पुगेका कर्णालीका अर्थमन्त्री बेदराज सिंहले त्यहाँ पीडित परिवारका लागि राहतका लागि पहल भइरहेको बताएका थिए । यद्यपि उनी पनि गाउँमा भने पुगेका छैनन् । गाउँमा चारवटा ग्रुप बनाएर बसेका छन् चिउरीवासी । प्रकाश विकका अनुसार बढी मृतक हुने ठाउँमा सबै केन्द्रित भएर नागरिकहरु बसिरहेका छन् ।

भत्केको घर

सोही गाउँका बासिन्दा तथा वडाध्यक्ष धनबहादुर महर राहत पर्याप्त मात्रामा आउन नसकेको बताउँछन् । ‘हामीलाई अन्य दातृ निकाय, संघसंस्थाहरुले सहयोग गरेपछि वितरण गर्ने हो, हामी लागिरहेका छौँ, पर्याप्त सामग्री आइरहेको छैन,’ उनले रातोपाटीसँग भने, ‘विशेषगरी मृतकका परिवार र ध्वस्त घर भएका परिवारलाई राहत सामग्री दिएका छौँ । सबैलाई पु¥याउन सकिएको छैन ।’

बस्तीका कुनै पनि घर सुरक्षित नरहेको बताउँदै महर राहत आवश्यक रहेको बताउँछन् । उनले सहयोगका लागि अपेक्षा पनि गरे । पुनः सोमबारको भूकम्पले वडाअध्यक्ष महरको सहित यहाँका चारवटा घर ध्वस्त बनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप