आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विशेष अवस्थामा शिक्षकको सरुवा गर्न निर्देशिका जारी

मङ्गलबार, २६ मङ्सिर २०८०, १७ : ०७
मङ्गलबार, २६ मङ्सिर २०८०

काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विशेष अवस्थामा स्थायी शिक्षकको सरुवा गर्न निर्देशिका जारी गरेको छ । विशेष कारणको अवस्थामा रहेको सामुदायिक विद्यालयका शिक्षकको व्यवस्थापन गर्ने सम्बन्धी निर्देशिका २०८० जारी भएको हो ।

शिक्षा ऐन, २०२८ को दफा १९ (क) तथा शिक्षा नियमावली २०५९ को नियम (९) को खण्ड (ङ) ले दिएको अधिकार प्रयोग गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उक्त निर्देशिका जारी गरेको हो ।  

अब विशेष अवस्थामा स्थायी शिक्षकको एउटा विद्यालयबाट अर्को विद्यालयमा सरुवा गर्न बाटो खुलेको हो ।

अर्को विद्यालयमा पठाउनुपर्ने आधार पहिचान तथा विश्लेषण गर्न, विशेष कारणसम्बन्धी विषयलाई व्यवस्थित, अनुमानयोग्य, वस्तुनिष्ठ र वास्तविकतामा आधारित बनाउन र न्यूनतम तथा अधिक सेवा अवधिको कारण विशेष कारणबाट प्राप्त गर्ने सुविधालाई सहजीकरण गर्न निर्देशिका जारी गरेको हो ।

विशेष कारण भएको अवस्थामा शिक्षकको सरुवा गर्न सकिने विषयलाई उक्त निर्देशिकाले सम्बोधन गर्नेछ । विशेष कारण भन्नाले निर्देशिका अनुसार कुनै शिक्षक नियुक्त भइसकेपछि आकस्मिक घटना वा आपतकालीन अवस्थामा परेकाले निजको जीवनलाई जोखिममुक्त गर्नुपर्ने वा नियुक्त भइसकेपछि प्रचलित कानुनबमोजिम परिभाषित घातक वा कडा रोग लागी सोको उपचार गर्नुपर्ने अवस्थाको कारण सम्झनुपर्छ ।

घातक वा कडा रोग वा कुनै दुर्घटनाको कारण स्थानीय अस्पताल र स्वास्थ्य केन्द्रमा उपचार हुन नसक्ने र निजलाई उपचारको सुविधा भएको स्थानमा तीन महिनाभन्दा बढी समयसम्म उपचार गर्नुपर्ने भनी नेपाल मेडिकल काउन्सिलले प्रमाणपत्र प्राप्त चिकित्सकको रायसहित जिल्ला वा प्रदेश वा नेपाल सरकारको अस्पतालको प्रमुखबाट सिफारिस भएको अवस्थामा विशेष सरुवा गर्न सकिनेछ ।

त्यस्तै कुनै महिला शिक्षकलाई प्रजनन स्वास्थ्य सम्बन्धी कुनै कडा वा घातक रोग लागेमा वा कुनै घटनामा परेमा समेत विशेष सरुवा गर्न सकिने निर्देशिका उल्लेख छ ।

त्यस्तै कुनै शिक्षक आकस्मिक घटनामा परी वा प्राकृतिक विपद्मा परी गम्भीर घाइते भएको अवस्थामा र अपाङ्गता सम्बन्धी सङ्घीय कानुन बमोजिमको ‘क’ ‘ख’ र ‘ग’ वर्ग अन्तर्गत परी शारीरिक अवस्थाको कारण नियुक्ति पाएको सम्बन्धित विद्यालयमा आवतजावत गरी पठनपाठन गर्न नसक्ने शिक्षकको हकमा समेत सरुवा गर्न सकिनेछ ।    

त्यसरी सरुवा गर्दा जुन विषयको शिक्षक रिक्त भएको हो सो विषयको शिक्षक भएको अवस्थामा मात्र त्यसरी काम काजमा खटाउन सकिने निर्देशिका उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप