आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

म्याक्सवेलको दोहोरो शतकसामु चकनाचुर बन्यो अफगानिस्तानको सपना

बिहीबार, २५ माघ २०८०, २२ : ३५
बिहीबार, २५ माघ २०८०

काठमाडौँ । ग्लेन म्याक्सवेलको कीर्तिमानी दोहोरो शतकको मद्दतले अफगानिस्तानलाई हराउँदै अस्ट्रेलियाले आईसीसी एकदिवसीय विश्वकपको सेमिफाइनलमा स्थान बनाएको छ । मंगलबार मुम्बईको वानखेडे स्टेडियममा म्याक्सवेलले २ सय १ रन बनाउँदै अस्ट्रेलियालाई ३ विकेटको रोमाञ्चक जीत दिलाएका हुन् ।

अफगानिस्तानले यसअघि श्रीलंका, इङ्ल्यान्ड र पाकिस्तानजस्ता पूर्व विश्वविजेता टोलीलाई पराजित गरेको थियो । कुनै समय पाँच पटकको विश्वकप च्याम्पियन अस्ट्रेलियालाई पनि तनावमा राखेको टोली एक्लो म्याक्सवेलसामु नतमस्तक बन्यो । ९१ रनमा ७ विकेट गुमाएको अस्ट्रेलियालाई म्याक्सवेलले अफगानिस्तानले प्रस्तुत गरेको २ सय ९२ को लक्ष्यसम्म पुर्‍याए । अफगानिस्तानले म्याक्सवेललाई आउट गर्ने मौका नपाएको हैन तर उनको क्याच ड्रप भएको थियो । त्यसपछि भने म्याक्सवेलले अफगानिस्तानलाई कुनै अवसर दिएनन् ।

घाइते भए पनि मैदानमा टिकेका म्याक्सवेलले १२८ बलमा २१ चौका र १० छक्का हिर्काए । यो विश्वकपमा कुनै पनि ब्याट्सम्यानले बनाएको यो सबैभन्दा ठुलो व्यक्तिगत स्कोर हो भने  कुनै पनि एकदिवसीय खेलमा अस्ट्रेलियाका लागि कुनै पनि खेलाडीले बनाएको सबैभन्दा उच्च स्कोर पनि हो । म्याक्सवेलले यसै विश्वकपमा विश्वकप इतिहासको सबैभन्दा चाँडो शतकको कीर्तिमान पनि बनाएका थिए ।

370862

म्याक्सवेललाई कप्तान प्याट कमिन्सले १२ रन बनाउँदै अन्तिमसम्म साथ दिए । उनले यसका लागि ६८ बलको सामना गरे । यसअघि मिचेल मार्सले २४ तथा डेभिड वार्नरले १८ र मार्नस लाबुसेनले १४ रन बनाएका थिए । विश्वकपमा अस्ट्रेलियाले पछ्याएको यो सबैभन्दा ठुलो स्कोर पनि हो ।

अफगानिस्तानका लागि नविन उल हक, अजमतुल्लाह ओमारजाइ र रासिद खानले २–२ विकेट लिए पनि म्याक्सवेललाई रोक्न सकेनन् । ८ खेलपछि अस्ट्रेलियाले १२ अङ्क बटुलेको छ । यता अस्ट्रेलियालाई हराएर सेमिफाइनलमा आफ्नो दाबेदारी सशक्त बनाउने अफगानिस्तानलाई भने ठुलो झट्का लागेको छ । ८ खेलपछि अफगानिस्तानको ८ अङ्क रहेको छ । नेट रन रेटको अनुसार टोली छैटौँ स्थानमा रहेको छ ।

यसअघि अफगानिस्तानले पाँच विकेट गुमाएर २९१ रन बनाएको थियो । ओपनर इब्राहिम जाद्रानले शतक प्रहार गर्दै १२९ रनको अविजित इनिङ खेले । अफगानिस्तानका ओपनर रहमानउल्लाह गुरबाजले तीव्र सुरुवात गर्ने प्रयास गरे र २५ बलमा २१ रन बनाएर आउट भए । 

त्यसपछि अफगानिस्तानका ब्याट्सम्यानले एकपछि अर्को गर्दै आउँदै जाँदै गरे तर जादरान अर्को छेउबाट अडिग रहे । रहमत शाहले ४४ बलमा ३० रन, हसमतुल्लाह शाहिदीले ४३ बलमा २६ रन, अजमत उल्लाह उमरजाईले १८ बलमा २२ रन बनाए । राशिद खानले अन्तिम ओभरमा आक्रामक पाली खेले । खानले १८ बलमा ३५ रन बनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप