आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

उपाधिको आश सकिएपछि च्याम्पियन्स ट्रफीलाई लक्ष्य बनाएका इङ्ल्यान्ड र नेदरल्यान्ड्सबिच भिडन्त

शुक्रबार, १४ वैशाख २०८१, १० : ४०
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपमा सातौँ चरणको अन्तिम खेल बुधबार खेलिँदै छ । पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसनको स्टेडियममा हुने उक्त खेलमा साविक विजेता इङ्ल्यान्डले नेदरल्यान्ड्सको सामना गर्नेछ । खेल नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुनेछ । 

उपाधि होडबाट बाहिरिइसकेका यी दुई टोलीबिचको भिडन्तले सेमिफाइनल समिकरणमा भने कुनै फरक पार्ने अवस्था छैन । तर, यो खेलले सन् २०२५ मा आयोजना हुने आयोजना हुने आईसीसी च्याम्पियन्स ट्रफीमा छनोट हुने टोलीको समिकरणमा भने प्रभाव पार्न सक्छ । 

जारी विश्वकपको माथिल्लो सात स्थानमा रहने टोलीले मात्र सन् २०२५ मा आयोजना हुने च्याम्पियन्स ट्रफी खेल्ने अवसर पाउने छन् । यो विश्वकपमा हालसम्म सात खेल खेलेको इङ्ल्यान्ड एक जित र ६ हारको नतिजाबाट चार अंक बटुलेर तालिकाको अन्तिम (१०औँ) स्थानमा छ । 

समान खेल खेलेको नेदरल्यान्ड्स भने दुई जित र पाँच हारबाट चार अंक जोड्दै तालिकाको नवौँ स्थानमा आसिन छ । साविक विजेताको पगरी गुथेको इङ्ल्यान्ड औपचारिक रुपमै उपाधि होडबाट बाहिरिइसकेको छ । नेदरल्यान्ड्स भने प्राविधिक रुपमा मात्र सेमिफाइनल होडमा कायम छ ।

यो विश्वकपमा इङ्ल्यान्डको प्रदर्शन अत्यन्तै निराशाजनक रह्यो । इङ्ल्यान्डले बंगलादेशवाहेक अन्य कुनै पनि टोलीलाई हराउन सकेको छैन । यो विश्वकपमा क्रिकेटको जननी राष्ट्र इङ्ल्यान्डको ब्याटिङ र बलिङ दुबै बिर्सनलायक रह्यो । 

अर्कोतिर, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को एसोसिएट्स सदस्य राष्ट्र नेदरल्यान्ड्सले भने यो विश्वकपमा दुईपटक अप्रत्यासित नतिजा निकालेको छ । सुधारिएको ब्याटिङ र निखारिएको बलिङको भरमा नेदरल्यान्ड्सले यो विश्वकपमा अप्रत्यासित नतिजा निकाल्दै बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकालाई ३८ रनले हराएको थियो । 

दक्षिण अफ्रिका यो विश्वकपको सबैभन्दा बलियो टोलीमध्येको एक हो । भारतलाई पछ्याउँदै जारी विश्वकपको सेमिफाइनलमा पुग्ने दोस्रो टोली पनि बनेको थियो, दक्षिण अफ्रिका । यस्तो बलियो टोलीलाई हराएर आत्मविश्वास बढाएको नेदरल्यान्ड्सले अर्को खेलमा पनि टेस्ट राष्ट्र बंगलादेशलाई ८७ रनले पराजित गरेको थियो । 

त्यसैले बलिया प्रतिद्वन्द्वीहरुलाई हराउन पल्किएको नेदरल्यान्ड्स बुधबार हुने खेलमा पनि साविक विजेता इङ्ल्यान्ड्सलाई हराएर अर्को अप्रत्यासित नतिजा निकाल्ने धुनमा छ । इङ्ल्यान्डले भने नेदरल्यान्ड्सलाई हराएर थोरै भएपनि आफ्नो साख जोगाउने अभियानमा रहने छ । 

यसका अतिरिक्त इङ्ल्यान्ड जारी विश्वकपमा आफूले खेल्न बाँकी रहेको दुबै खेलमा जित हात पार्दै सन् २०२५ को आईसीसी च्याम्पियन्स ट्रफीमा पनि छनोट हुन चाहन्छ । नेदरल्यान्ड्सको आँखा पनि अब च्याम्पियन्स ट्रफीमै केन्द्रित हुनेछ । त्यसैले यो विश्वकपमा समान नियति भोगेका र बाँकी दुई खेलमा समान लक्ष्य राखेका यी दुई टोलीबिचको भिडन्त निकै रोमाञ्चक हुने देखिएको छ ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म यी दुई राष्ट्रबिच केवल ६ वटा खेल खेलिएको छ । ती ६ वटै खेलमा इङ्ल्यान्डले नेदरल्यान्ड्सलाई हराएको छ । पछिल्लो पटक यी दुई टोलीबिच सन् २०२२ को जुन २२ मा एकदिवसीय प्रतियोगिता खेलिएको थियो । त्यो खेलमा इङ्ल्यान्ड आठ विकेटले विजयी भएको थियो । 

इङ्ल्यान्ड र नेदरल्यान्ड्सबिच खेल हुने पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियमको पिच खासगरी ब्याट्सम्यानहरुका लागि निकै उपयुक्त मानिन्छ । यो स्टेडियमको पिचले बलरहरुलाई खासै सहयोग पुर्‍याएको पाइँदैन । 

यो स्टेडियममा खेलिएको पछिल्ला १० एकदिवसीय खेलको तथ्याङ्कलाई हेर्दा ६ पटक पहिले ब्याटिङ गर्ने टोलीले औसतमा तीन सयभन्दा बढी रन बनाएका छन् । यो स्टेडियममा खेलिएका पछिल्ला १० मध्ये पाँच खेलमा पहिले ब्याटिङ गर्ने टोली र पाँच खेलमा जवाफी ब्याटिङ गर्ने टोलीले सफलता हात पारेको इतिहास छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप