आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भूकम्प प्रभावितलाई एमालेको जिन्सीमात्र सहयोग !

शुक्रबार, १४ वैशाख २०८१, १२ : १३
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ । कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले पश्चिम नेपालले ठुलो जनधनको क्षति व्यहोर्नुपरेको छ । भूकम्पमा परि १५३ जनाले ज्यान गमाएका छन् भने हजारौँ नागरिक प्रभावित भएका छन् । उनीहरूलाई मध्यनजर गर्दै सरकार, विभिन्न राजनीतिक पार्टी, सामाजिक सङ्घ संस्थादेखि अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्ने क्रम जारी छ । 

प्रभावितलाई सहयोगका निम्ति कतिपयले जिन्सी सामाग्री त कतिले नगद नै सहयोगको घोषणा गर्ने क्रम जारी छ । यसैक्रममा भूकम्प प्रभावितलाई सहयोगका लागि दोस्रो ठुलो दल नेकपा एमालेले भने जिन्सीमात्र सहयोग गर्ने घोषणा गरेको छ । 

(एमाले) ले जाजरकोट भूकम्पमा परी घरबारबिहीन भएका पीडितलाई एक करोड रुपैयाँ बराबरको राहत सामग्री वितरण गर्ने यसअघि नै घोषणा गरेर वितरण भइरहेको नेता मोतिलाल दुगडले बताए । उनका अनुसार पार्टीको सामाजिक सेवा केन्द्रले भूकम्प पीडितहरूका लागि राहत सामग्री जाजरकोट र रुकुम पश्चिम पठाएर वितरण गरिरहेको हो । 

केन्द्रका प्रमुख समेत रहेका केन्द्रीय सदस्य दुगडले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा भूकम्पबाट बिपित्तमा परेकालाई सहयोग गर्न केन्द्रको अगुवाइमा विभिन्न राहत सामाग्रीहरू जस्तै चामल, दाल, चाउचाउ, बिस्कुट, नुन, औषधी, टेन्ट, त्रिपाललगायतका केही सामग्री उपलब्ध गराइसकिएको र केही पठाउने क्रम जारी रहेको बताए । 

नेता दुगडका अनुसार राहत सामग्रीमध्ये केही काठमाडौँ, नेपालगन्ज, दाङलगायतका ठाउँमा खरिद गरेर प्रभावित क्षेत्रमा पठाइएको हो  । 

‘हामीले एक करोड बराबरको राहत सामाग्री प्रदान गर्ने घोषणा गरेअनुसार पहिलो दुई चरणमा सो बराबरको सामग्री प्रदान गर्नेछौ’, दुगडले भने, ‘हाम्रै पार्टीका नेता र सरकारी संयन्त्रमार्फत राहत सामग्रीहरू वितरण भइरहेका छन् ।’ एमाले उपमहासचिव समेत रहेका नेता प्रदीप ज्ञवालीले एमलेले नगद भन्दा पनि पीडितलाई आवश्यक पर्ने जिन्सी सामग्री सहयोग गर्ने पार्टीको नीति अनुसार राहत सामाग्रीहरू प्रदान गरिएको बताए । 

प्रभावित क्षेत्रमा एमाले नेता 

भूकम्पपछि नेकपा एमालेका केन्द्रीय नेताहरू उपमहासचिव विष्णु रिमाल, सचिव पद्यमा अर्याल, केन्द्रीय सदस्य नीरज आचार्य लगायतका नेताहरू प्रभावित स्थानमा पुगेर क्षतिको विवरण सङ्कलन गर्नुका साथै राहत सङ्कलन र वितरणमा खटिएका छन् । लुम्बिनी प्रदेश इन्चार्ज समेत रहेकी सचिव पद्यमा अर्यालको नेतृत्वमा पोलिटब्युरो सदस्य तथा राष्ट्रियसभाका प्रमुख सचेतक भैरबसुन्दर श्रेष्ठ , पोलिटब्युरो सदस्य खेममान खड्का, केन्द्रीय सदस्यहरू भगवती न्यौपाने, शान्ति ढकाल, मोहनमाया ढकाल तथा बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपति, बर्दियाका अध्यक्ष लालबहादुर श्रेष्ठसहितको टोली जाजरकोट र रुकुम पश्चिममा पुगेर राहत वितरणमा खटिएको हो । 

जाजरकोटका प्रभावितहरूलाई मात्रै एमालेले ३५० थान ब्लाङ्केट, चारसय बोरा चामलसहित चाउचाउ, दाल र तीन लाख रुपियाँ बराबरको लत्ताकपडा राहतका रूपमा वितरण गरिएको सचिव अर्यालले बताइन् । 

यसैगरी, रुकुम पश्चिममा १५० थान ब्लाङ्केट, एकसय क्विन्टल चामल र केही नगद राहत वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय, नगरपालिका र नेकपा (एमाले) का स्थानीय कमिटीको रोहबरमा राहत सामग्री हस्तान्तरण गरिएको सचिव अर्यालको भनाइ छ । 

एमाले नेता कार्यकर्ताहरूको टोलीले भूकम्प प्रभवित स्थानमा पुगेको क्षतिको निरीक्षण समेत गरेको थियो । योबाहेक नेकपा (एमाले) गण्डकी प्रदेशसभाका सदस्यहरूले आफ्नो एक साताको तलब भूकम्प पीडितका लागि प्रदान गर्ने घोषणा गरेका छन् । 

बागमती प्रदेशको संसदीय दलले पनि जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि पाँच लाख ७० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको नेता जगन्नाथ थपलियाले जानकारी दिएका छन् ।

384543823_310012025258146_6773800509651298644_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप