आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्मार्टफोनको लतबाट बालबालिकालाई कसरी छुटाउने ?

शुक्रबार, १४ वैशाख २०८१, १४ : ०७
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ । आजभोलिका बालबालिका स्मार्टफोन, ट्याब्लेट वा ल्यापटपजस्ता इलेकट्रोनिक्स उपकरणको व्यापक प्रयोग गर्छन् । खाने बेलादेखि सुत्ने बेलासम्म पनि हरेक समय उनीहरू यस्तै उपकरणमा झुन्डिइरहेका हुन्छन् । यसले सानो उमेरमै बच्चाको स्वास्थ्यमा निकै असर पुर्‍याइरहेको छ । स्मार्टफोनको अत्यधिक प्रयोग बच्चाको मानसिक स्वास्थ्यका लागि खतरनाक छ ।

डिजिटल प्ले ग्राउन्ड, टेक्नोलोजी अनि ग्याजेटको अधिकतम प्रयोग बच्चाको मानसिक स्वास्थ्यका लागि नै खतरनाक बनिरहेको छ । डिजिटल कन्टेन्टले बच्चाका लागि गम्भीर खतरा पैदा गर्न सक्छ । यसले सानो उमेरमै आँखाको दृष्टिमा असर त पुर्‍याउँछ नै निद्राको प्रवृत्ति र चिन्ताको स्तर पनि प्रभावित भइरहेको छ । यसले बच्चामा डिप्रेसनको खतरा बढिरहेको छ । अहिले अधिकांश घरमा बालबालिकालाई स्मार्टफोनको लत छ । बच्चालाई यी समस्याबाट बचाउने केही तरिका छन् ।

सीमा तय गर्नुस्

मोबाइलको लत छुटाउनेतर्फ पहिलो कदम मोबाइल फोनको प्रयोगमा सीमा तोक्ने हो । कति बेला र कहाँ मोबाइल चलाउन दिइने भन्ने नियम बनाउनुस् । बच्चाको स्वास्थ्यमा असर पुर्‍याउने कन्टेन्टलाई हेर्न नदिने पनि अभिभावककै जिम्मेवारी हो । बच्चाको डिजिटल एक्सपोजरको समय घटाइदिनुस् । बालबालिकाहरूको डिजिटल कन्टेन्टको सीमा तोक्नुस् । उदाहरणका लागि खाना खाँदा वा सुत्ने बेलामा मोबाइल छुनै नपाइने नियम बनाउनुस् । बच्चाले फोनमा कति बेरसम्म बस्न पाउने भनेर समय तोक्नुस् । यी सबै नियमहरू बच्चाले मानिरहेको छ भन्ने सुनिश्चित गर्नुस् ।

वैकल्पिक गतिविधिका लागि प्रेरित गर्ने

मोबाइलको लत प्रायः अल्छी वा प्रेरणाको अभावबाट सुरु हुन्छ । बच्चाहरूलाई मोबाइल फोनबाहेकका गतिविधिमा लगाउनुस् । घरबाहिरका गतिविधि, अध्ययन, चित्र कोर्ने वा घर परिवारका वा साथीभाइसँग खेल्न दिनुस् । बच्चालाई विकल्पहरू दिनुहोस् अनि उसलाई मन पर्ने गतिविधि गर्न दिनुस् ।

आफैँ रोल मोडल बन्नुस्

बच्चाले देखेर सिक्ने हो । तपाईको मोबाइल फोनको प्रयोग स्वस्थ छ कि छैन । बच्चाहरुले हरदम मोबाइलमा झुन्डिन तपाईँबाटै पो सिकेका हुन कि ? बच्चाहरू अगाडि भएको बेलामा मोबाइल फोनको अत्यधिक प्रयोग नगर्नुस् । एक अर्कासँग आमने सामने बसेर कुराकानी गर्नुको महत्त्व सिकाउनुस् । बच्चासँग खेल्नुस्, बाहिर टहल्न जानुस् । तपाईँलाई देखेर बच्चाले पनि बिस्तारै मोबाइल चलाउन छाड्नेछन् ।

मोबाइल फोन छुनै नपाइने ठाउँ तोक्नुस्

घरमा मोबाइल उपकरणहरू छुनै नपाउने ठाउँ बनाएर पनि बालबालिकाहरूको मोबाइल फोनको प्रयोग कम गर्न र लतबाट छुटकारा दिलाउन सकिन्छ । घरमा डाइनिङ कोठा वा शयन कक्ष आदिलाई टेक फ्री बनाउनुस् । यसो गर्दा यी ठाउँहरूलाई बच्चाले मोबाइल फोन प्रयोग भन्दा पनि अन्तरक्रिया गर्ने वा आराम गर्ने ठाउँको रूपमा हेर्नेछन् ।

बच्चाको डाइट प्लान बनाउनुस् । ताकि उसको सम्पूर्ण स्वास्थ्य राम्रो होस् । मोबाइलको लत छुटाउन उसलाई बाहिर खेल्न वा घुमाउन लैजानुस् । उनीहरूलाई घरका महत्त्वपूर्ण गतिविधिहरूमा सहभागी हुन प्रेरित गर्नुस् । बच्चाको मानसिक स्वास्थ्यको सुरक्षाका लागि अभिभावकहरूले सुरक्षा कवचको रूपमा काम गर्नु पर्छ ।

बच्चालाई टन्नै माया र ममता दिनुस् । बच्चाको मनका के कुरा चलिरहेको छ बुझ्ने कोसिस गर्नुस् । उनीहरूसँग खुलेर कुराकानी गर्नुस् । ताकी उनीहरूका चिन्ता समस्या तपाईँलाई निर्धक्क बताउन सकुन् । बच्चालाई खुलेर बाँच्न दिनुस् अनि के गलत हो के सही हो भनेर बाटो देखाउनुस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप