आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘फ्लड लाइट’ जडानलगत्तै कीर्तिपुरमा आईसीसीको रोहबरमा दिवा—रात्रि खेल

शुक्रबार, १४ वैशाख २०८१, १४ : ४९
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ । नेपाली क्रिकेटप्रेमीले अबको केही महिनापछि घरेलु मैदानमै दिवा—रात्रि क्रिकेटको स्वाद पनि लिने पाउने भएका छन् । ‘फ्लड लाइट’ जडानको कार्य सम्पन्न हुनासाथ कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिवा—रात्रि खेल आयोजना गरिने भएको छ । 

‘फ्लड लाइट’ जडानको कार्य सम्पन्न भएपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का प्रतिनिधिहरुको उपस्थितिमा एउटा दिवा—रात्रि खेल खेलाइने छ । आईसीसीका प्रतिनिधि र प्राविधिकहरुले मान्यता दिएपछि मात्र ‘फ्लड लाइट’ जडानको काम सम्पन्न भएको मानिने छ ।

राष्ट्रिय खेलकुद परिषद्को पूर्वाधार निर्माण तथा मर्मत शाखाका प्रमुख राजु श्रेष्ठका अनुसार, ‘फ्लड लाइट’ जडानका लागि निर्माण कम्पनीसँग सम्झौता गर्दा नै यस्तो प्रावधान राखिएको छ । उनले नेपाली खेलकुदका लागि क्रिकेट रंगशालामा ‘फ्लड लाइट’ जडान कार्य पहिलो अनुभव भएको पनि बताए ।

‘क्रिकेट स्टेडियममा फ्लड लाइट जडानको कार्य हाम्रो लागि पनि नयाँ अनुभव हो । यो प्राविधिक पक्ष भएकाले निर्माण कार्य सम्पन्न भएपछि आईसीसीका प्रतिनिधि र प्राविधिकहरुबाट पनि पास हुनुपर्छ । त्यसअघि कम्तिमा एउटा दिवा—रात्रि खेल पनि खेलाइने छ,’ उनले भने । 

‘फ्लड लाइट’ जडानका लागि सम्पूर्ण सामाग्री विदेशबाट ल्याउनु पर्ने जानकारी पनि उनले दिए । ‘अधिकांश सामाग्री जर्मनीबाट ल्याउनु पर्ने हुन्छ । केही सामाग्री भारतबाट पनि ल्याउनु पर्ने हुन्छ,’ प्रमुख श्रेष्ठले भने । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चारवटा ‘फ्लड लाइट’ रहेकोमा कीर्तिपुर क्रिकेट मैदानमा ६ वटा ‘फ्लड लाइट’ जडान हुने जानकारी पनि उनले दिए । ‘कीर्तिपुर क्रिकेट मैदानमा ६ वटा फ्लड लाइट जडान हुनेछ । अत्याधुनिक प्रविधिको यो फ्लड लाइटलाई आफ्नो इच्छाअनुरुप कम्प्यूटरबाट सञ्चालन गर्न सकिने छ । आईसीसीका प्रतिनिधि र प्राविधिकहरुसँग छालफल गरेर नै फ्लड लाइट जडानको काम अगाडि बढाइएको हो,’ उनले भने ।

‘फ्लड लाइट’ जडानको जिम्मेबारी सिनामंगलस्थित एमएसआईपीएल-एएससी पावर जेभीलाई दिइएको छ । दोस्रोपटक आव्हान गरिएको टेन्डरबाट ‘फ्लड लाइट’ निर्माणको जिम्मा उक्त कम्पनीले पाएको हो । उक्त कम्पनीले २७ करोड ४० लाख दुई हजार २२ रुपैयाँमा ‘फ्लड लाइट’ जडानको ठेक्का पाएको हो । सबैभन्दा कम रकम कबोल गरेको कम्पनीलाई फ्लड लाइट जडानको काम दिइएको श्रेष्ठले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप