आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एक दिवसीय विश्वकप

इङ्गल्यान्डलाई हराउन नेदरल्यान्ड्सले ३४० रन बनाउनुपर्ने

शुक्रबार, २६ माघ २०८०, १८ : १७
शुक्रबार, २६ माघ २०८०

काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकपको बुधवारको खेलमा साबिक विजेता इङ्गल्यान्डले नेदरल्यान्ड्सलाई जितका लागि तीन सय ४० रनको लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको इङ्गल्यान्डले निर्धारित ओभरमा नौ विकेट गुमाएर तीन सय ३९ रन बनाएको हो । 

पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसनको स्टेडियममा खेलिएको उक्त खेलमा इङ्गल्यान्डका लागि अनुभवी खेलाडी बेन स्टोक्सले सतकीय योगदान गरे । उनले टोलीका लागि अविजित एक सय आठ रन बनाए । आक्रामक रूपमा प्रस्तुत भएका स्टोक्सले केवल ८४ बलको सामना गरी ६ छक्का र ६ चौका पनि हिर्काएका थिए । 

त्यसअघि ओपनर ब्याट्सम्यान डेविड मलानले पनि टोलीका लागि ८७ रनको योगदान गरेका थिए । उनले केवल ७४ बलमा दुई छक्का र १० चौका प्रहार गरेका थिए । इङ्गल्यान्डले ४८ रनको कुल स्कोरमै आफ्नो पहिलो विकेट गुमाएको थियो । 

ओपनर जोनी ब्रेस्टो १५ रन बनाउँदै पेभेलियन फर्किएका थिए । त्यसपछि स्टोक्स र मलानले टोलीको स्कोरलाई एक सय ३३ रनसम्म डोर्‍याएका थिए । मलान रनआउट भएपछि यो साझेदारी टुटेको थियो । इङ्गल्यान्डका लागि आठौँ नम्बरका ब्याट्सम्यान क्रिस वोक्सले पनि अर्धसतकीय पाली खेले । 

क्रिसले केवल ४५ बलको सामना गरी एक छक्का र पाँच चौकाको मद्दतले ५१ रन बनाएका थिए । जो रुटले टोलीको खातामा २८ रन थपेका थिए । ह्यारी ब्रुकले ११ रन बनाएका थिए । इङ्गल्यान्डले अतिरिक्त रूपमा पनि २९ रन पाएको थियो ।

नेदरल्यान्ड्सका बलर बास डी लिडले तीन विकेट लिए । उनले १० ओभरमा ७४ रन खर्चिएका थिए । आर्यन दत्त र लोगन भान बिकले पनि दुई—दुई विकेट हात पारे । पल भान मिकेरनले पनि एक विकेट लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप