आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
१२ बुँदे पक्षधरको बैठक

प्रचण्डलाई ओलीको ढाडस–अप्ठ्यारो पर्दा प्रतिरोध गर्न तयार छौँ

शुक्रबार, २६ माघ २०८०, १८ : २७
शुक्रबार, २६ माघ २०८०

काठमाडौँ । पछिल्लो समय संघीय गणतन्त्र विरोधी शक्तिहरू सक्रिय बन्न थालेपछि त्यसका विरुद्ध प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षी दल एमालेको साथ खोजेका छन् ।

व्यवस्थामाथि सदन, सडक, सामाजिक सञ्जालमार्फत व्यवस्था विरोधी शक्तिहरूले सरकार र गणतन्त्र पक्षधर शक्तिहरूविरूद्ध प्रहार गर्न थालेपछि उनले प्रमुख प्रतिपक्षको साथ खोजेको एमालेका नेताहरूले दाबी गरेका छन् । पछिल्लो राजनीति अवस्थाबाट निकै चिन्तित रहेका प्रचण्डले मंगलबार १२ बुँदे पक्षधर दलहरूको बैठक राखे । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा उनले पछिल्लो राजनीति अवस्था, व्यवस्थामाथि सुरु भएको प्रहारबारे दलहरूलाई ब्रिफिङ गरेका थिए । सोही क्रममा प्रमुख प्रतिपक्षी दलको साथ खोजेको एमालेका सचेतक महेश बर्तौलाले रातोपाटीलाई बताए । 

 

उनले भने,‘प्रधानमन्त्रीले सुरुमा पछिल्लो राजनीति अवस्थाबारे संक्षिप्त ब्रिफिङ गर्नुभयो । विशेष गरी यो व्यवस्था ल्याउन निर्णायक भूमिका खेलेका दलहरूलाई मैले बोलाएको छु भन्नुभयो ।’ अहिले व्यवस्था, संघीयता र शान्तिमाथि संविधानको विरुद्धमा चलखेल हुन थालेको विषय दलहरूलाई जानकारी गराएको बर्तौलाले भने । 

‘संघीयता, संविधान, गणतन्त्रविरुद्ध चलखेल हुनथाल्यो, खेतीपाती हुन थाल्यो चुनौती सिर्जना हुनथाल्यो राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्‍यो । देश गम्भीर संकटमा छ । यस्तोबेला प्रमुख प्रतिपक्षी पनि हाम्रो साथमा भइदिए हुन्थ्यो । गणतन्त्र पक्षधर शक्ति एक ठाउँमा भइदिए त्यस्ता अराजक शक्तिहरूलाइ निस्तेज पार्न सक्छौँ’, प्रधानमन्त्रीको भनाई उदृद्ध गर्दै उनले भने । 

सरकारको नेतृत्वमा रहेका प्रचण्डले नै देश संकटमा छ, व्यवस्थामाथि प्रहार सुरु भयो भनिसकेपछि एमालेको तर्फबाट अध्यक्षले केही कुरा प्रष्ट पारिएको उनले बताए । 

‘त्यसमा हामीले उहाँलाई प्रष्ट भन्यौँ । यो देशका लागि लडेको शक्ति हो एमाले । शान्ति, मानवअधिकारको पक्षमा लगातार लागिरहने हाम्रो स्थायी मान्यता हो । संविधान निर्माणको एउटा प्रमुख शक्ति भएको कारणले यसको रक्षामा लाग्ने स्वाभाविक हो’, ओलीको भनाई उदृद्ध गर्दै बर्तौलाले भने, ‘व्यवस्था, संघीयता, संविधानविरूद्ध हुने जुनसुकै खालको गतिविधिलाई निस्तेज पार्न एमालेले सबै खालको प्रतिवाद, सशक्त प्रतिरोध गर्न तयार छ अध्यक्षले भन्नुभयो ।’

साथसाथै देश गम्भीर अवस्थामा किन पुग्यो ? किन यस्तो असहज स्थिति भयो ? त्यसबारे गम्भीर समीक्षा गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको उनले बताए । ‘तपाईँले कानुन र संविधानलाई च्यात्नुभएको छ अनि दोष अरूलाई लगाउँदै हुनुहुन्छ । व्यवस्थाविरुद्ध सरकार स्वयम उभिएको छ । दोष अरूलाई लगाउनु हुन्छ, यो मिलेन नि ! यही कुरानै हामीले उहाँलाई भन्यौँ’, उनले भने । 

बैठकमा कांग्रेसका नेताहरूको चिन्ता पनि सामाजिक सञ्जाल दुरुपयोग गरी समाजमा अराजकता मच्चाएको, उनीहरूले आजको हेरे भोलिको व्यवस्था नहेरेको, आज के बिक्छ भन्ने कुरामा ध्यान दिएर राजनीति स्टन्डबाजी गरेको भन्ने चिन्ता गरेको पनि बर्तौलाले जानकारी गराए ।  

सरकारले जनतालाई ठिक डेलिभरी दिन नसक्दा अहिलेको स्थिति आएको एमालेका नेताहरूले आरोप लगाएका थिए । ओलीको सुझावपछि प्रधानमन्त्रीले केही रियलाइज गर्न खोजेको जस्तो देखिएको तर व्यवहारबाट हेर्न बाँकी रहेको उनले बताए ।  

‘अहिले संकट निम्त्याउने मुख्य हिस्सेदार उहाँहरू आफै हो । व्यवस्था सुदृढ बनाउने दायित्व सरकारको हो । सहयोग गर्ने कुरा हाम्रो पनि कर्तव्य हो । व्यवस्था पुरै असफल हुनेगरी अहिले बलियो शक्ति उदाएको छैन । यो व्यवस्थामा उभिएको शक्तिबाहेक बलियो शक्ति कतै उदाएको छैन’, बर्तौलाले भने, ‘सरकारले नागरिकलाई डेलिभरी दिन सकेन । नागरिकको चुल्हो बल्ने स्थिति बनेन । सरकारले सुशासन दिन सकेको छैन । बेरोजगारी बढेको छ । रोजगारीको सुनिश्चितता दिन सकेको छैन । किसानको सामान्य समस्या समाधान गर्न सकिएको छैन । खेतबारी सबै बाँझो छ । रेमिट्यान्सबाट अर्थतन्त्र धानेको छ । यसले जनतामा जनआक्रोश बढ्यो ।’

उनले अहिलेको राजनीतिमा दुईवटा प्रवृत्ति देखा परेको चित्रण गरे । एक तत्काल पब्लिसिटी र राजनीति स्टन्डका लागि जे पनि बोलेर हिँड्ने भए । पुराना  राजनीति शक्तिहरू पुरै खतमै हो भन्ने चित्रण गर्न थाले । अर्को सामाजिक सञ्जालमा कपोलकल्पित ढंगले असामाजिक हिसाबले अगाडि बढ्ने खेती भयो । यसले सरकार प्रति जनआक्रोश बढेको बर्तौलाको बुझाइ थियो । त्यसमा थप मलजल गर्न व्यवस्थालाई ढाल्नुपर्छ भनेर लाग्ने शक्ति पनि लागेको उनको आरोप छ ।  देशीविदेशी शक्तिहरुले पनि नेपालमा अस्थिरता मच्चाएर आफ्नो स्वार्थ पुरा गर्न खोजेको उनको भनाइ छ । यी सबै सरकारको अकर्मण्यता, नालायकीपनले जनतालाई ठिक डेलिभरी दिन नसकेको तथा सुशासनको प्रत्याभूति गर्न नसक्दा समस्या देखियो बर्तौलाको आरोप छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप