आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
जाजरकोट भूकम्प

भग्नावशेषमा पुरिएर पनि बाँच्न सफल भएकी पुष्पा

शुक्रबार, २६ माघ २०८०, १९ : १९
शुक्रबार, २६ माघ २०८०

जाजरकोट । गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प जाँदा ३० वर्षीय पुष्पा गिरी खलंगाको माथिल्लो थाप्लेस्थित माइती घरमा थिइन् । भोलिपल्ट बहिनीहरु काठमाडौँ जाने भएकाले दिदीबहिनी एकै ठाउँमा बसौँ भनेर उनीहरु भेला भएका थिए ।

पुष्पाको घर खलंगादेखि तलको स्याँला गाउँमा छ । पाँच बहिनीमध्ये पुष्पा जेठी हुन् भने माइली बहिनी विदेशतिर छिन् । साइली बिहे गरेर बारेकोटतिर थिइन् भने बुबाआमा पनि बारेकोट मै ।

पुष्पाका बुबा नरबहादुर गिरी बारेकोट गाउँपालिकाका उपाध्यक्ष हुन् । उपाध्यक्ष हुनुभन्दाअघि सबै परिवार खलंगामै (भेरी नगरपालिका–३, माथिल्लो थाप्ले) बस्थे ।

पुष्पा एक संस्थामा अफिसरका रुपमा कार्यरत छिन् । घर नजिकै उनको कार्यालय । त्यो दिन तीन वर्षीय छोरीसहित पुष्पा र अन्य दुई बहिनीसँगै बसे । भलाकुसारी गरे । सुत्ने बेला कान्छी बहिनी भने सोही घरसँग जोडिएको सानिमाको घरमा गइन् ।

पुष्षाका आमाछोरी, काइँली बहिनी एउटै कोठामा सुते । त्यही मध्यरात आयो भूकम्प । ढुंगा, माटोले बनेको दुई तले कच्चीघर भूकम्पले भत्कियो । माथिल्लो तलाको एक कोठामा सुतेकी पुष्पाका आमाछोरीले भूकम्प आएको पत्तो पाउनु अघि नै घर ढल्यो ।

एकै पटक माथिबाट काठ र ढुंगा खसेर शरीरमा लागेपछि मात्रै उनले थाहा पाएकी रहिछन् । त्यो पनि सपना हो कि जस्तो लागेछ । ‘मलाई त सपना जस्तो लाग्यो, उठ्छु भनेको, उठ्नै सकिनँ,’ उनले भनिन् ।

माथिबाट काठ, ढुंगा–माटो खसेर घर नै भग्नावशेषमा परिणत भइसकेको थियो । माथिबाट खसेको ढुंगा टाउकोमा लागेर रक्ताम्य भइन् उनी । के भएको हो भन्ने बुझ्न नपाउँदै उनी त्यही चोटले बेहोस भइन् ।

पुष्पा भन्छिन्, ‘म बेहोस भएँ, छोरीलाई काखमा च्यापेकै छु । टाउकोबाट बगेको रगत मेरो मुखभित्र पस्यो, त्यही रगत मुखमा पसेपछि बल्ल होस आयो ।’

पुष्पाका अनुसार उनकै शरीरमाथि तेर्सिएको एउटा काठले छानोको भागलाई अड्याएको थियो । छोरीलाई काखमै च्यापेका कारण कुनै चोट नलागे पनि बाहिरबाट हावा नपस्दा बेहोस् भइसकेकी थिइन् ।

त्यसपछि चिच्याउनु बाहेक पुष्पासँग केही विकल्प थिएन । उनले भनिन्, ‘बेस्सरी चिच्याइरहेकी थिएँ । समय बित्दै गयो, निकै अत्यास लाग्दो, सबै भत्केर धुलोधुलो भइरहेको थियो ।’

केहीबेरपछि अंकल (सानिमाका श्रीमान्) आएको उनले सुनाइन् । ‘अंकलले हामी चिच्याएको आवाज सुन्नु भएछ । छोरीको आधा शरीर बेडमुनि परेको रहेछ । माथिको भाग मैले कभर गरेको कारण उसलाई चोट लाग्न पाएनछ । तर, मेरो शरीरभरि चोटै चोट छ,’ उनले भनिन् ।

अंकल क्षेत्रबहादुर घर्ती आएर उद्धार गरेपछि मात्रै आफू बाँच्न सफल भएको र नयाँ जीवन पाएको पुष्पाले बताइन् ।

क्षेत्रबहादुरले छिटोछिटो काठ, ढुंगाहरु पन्छाए । २०÷२५ मिनेटमै पुष्पाका आमाछोरीलाई भग्नावशेषबाट निकाल्न सफल भएको उनी बताउँछन् ।

उद्धार भइसकेपछि मात्रै आफूले भूकम्पका कारण यस्तो भएको भन्ने थाहा पाएको पुष्पाको भनाइ छ । प्रहरीले पुष्पालाई बोकेर सडक हुँदै जिल्ला अस्पतालमा पुर्यायो । छोरी र काइँली बहिनीलाई भने केही भएको थिइन ।

‘म भाग्यले बाँचेको हो, अंकल चाँडो नआइदिएको भए म बाँच्दिनथें,’ पुष्पा भन्छिन्, ‘बाँच्न लेखेको रहेछ । मेरो लागि त अंकल भगवान हुनुभयो ।’

उनका अनुसार एउटै कोठामा सुतेकी काइँली बहिनी र सोही घरमा भाडामा बस्दै आएकाहरुलाई पनि खासै चोट लागेन ।

‘ढोकातिर टाउको राखेर सुतेकाले खासै चोट लागेन, बिचको कोठाको बहिनी चुकुल खोल्न गएकी रहिछ, घरसँगै बाहिर खसेर बाँच्न सफल भइ,’ पुष्पा भन्छिन् ।

पुष्पाका श्रीमान सरोज ओली तीन किलोमिटर दुरीमा रहेको आफ्नो घरमा थिए । श्रीमती र छोरी च्यापिएको कुरा फोनमै थाहा पाएपछि उनी दौडिएर त्यहाँ पुगे । उसो त सरोज पत्रकार हुन् । उनी कार्यरत रेडियो खलंगामा पनि क्षति पुगेको छ ।

पुष्पाको टाउँकोमा टाँका लगाइएको छ । २४ घण्टा उपचारपश्चात शनिबार बेलुका उनी अस्पतालबाट डिस्चार्ज भइन् ।

पुष्पाको माइती घर नजिकैको एउटा घरका दुई जना किशोरीको भूकम्पमै परेर ज्यान गयो । २४ घण्टासम्म आफू अस्पताल बस्दा कतिपय घाइतेको अवस्था निकै नाजुक देखेकी पुष्पाले तिनको अगाडि आफूलाई सामान्य नै ठानेको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप