आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विज्ञान र प्रविधिमा राज्यको ध्यान केन्द्रित भएन : प्रधानमन्त्री

शनिबार, १५ वैशाख २०८१, ११ : ०१
शनिबार, १५ वैशाख २०८१

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका कुलपति पुष्पकमल दाहाल “प्रचण्ड” ले विज्ञान र प्रविधिमा भएका प्रवर्द्धनात्मक कार्यहरू प्रशंसनीय भए पनि राज्यको ध्यान विज्ञान र प्रविधिमा अझै केन्द्रित हुन नसकेको बताएका छन् ।  बिहीबार बिहीबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ४६ औँ प्राज्ञ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ४० वर्षमा जम्माजम्मी ४ अरबको बजेटबाट गरिएका विज्ञान, प्रविधि र प्रवर्द्धनात्मक कार्यहरू प्रशंसनीय भएको बताए । 

‘तर यो पर्याप्त छैन । राज्यको ध्यान अझै विज्ञान र प्रविधिमा केन्द्रित हुन सकेको छैन, प्राज्ञिकहरूको सुझाव र सल्लाह एवं बन्दै गरेको विज्ञान, प्रविधि र नवप्रवर्तन सम्बन्धी विधेयकअनुसार देशको रूपान्तरका लागि हातेमालो गर्दै काम गर्दै जान निर्देशित गर्दछु’, प्रधानमन्त्रीले भने,  ‘देशमा विज्ञान तथा प्रविधिको विकासका लागि हरतरहले सहयोग गर्न उत्सुक रहेको पनि जानकारी गराउँछु ।’

आजको युग विज्ञान, प्रविधि र नवप्रवर्तनको युग भएको भन्दै प्रधानमन्त्रीले देशलाई समुन्नत बनाउन, आर्थिक विकास निम्ति उत्पादनसँग जोड्न र जनताको जीवनस्तर उकास्न नवप्रवर्तन एवं नवीनतम प्रविधिको महत्त्वपूर्ण भूमिका रहन्छ भन्ने कसैको विमति नरहेको बताए । 

‘नवीनतम र उदीयमान प्रविधि विकासको अपरिहार्यतालाई आत्मसात् गर्दै राष्ट्रको ध्यान यसतर्फ आकर्षित गर्न तपाईँहरूले जुन सत्प्रयासको प्रारम्भ गर्नुभएको छ, विज्ञान र प्रविधिको अनुसन्धानमा सक्रिय रहेर, अनुसन्धानकर्तालाई सहयोग र सहकार्य गरेर, विज्ञान र प्रविधिको विस्तारलाई प्रवर्धन गर्दै जे–जति गर्नुभएको छ, नास्ट र यसका सहयात्री संस्थाहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु’, प्रधानमन्त्रीले धन्यवाद दिँदै वर्तमान परिस्थितिमा सहकार्यको माध्यमबाट नै सफलताको सिँढी उक्लन सहज हुने देखिएकोले सचेत हुँदै अगाडि बढ्न ध्यानाकर्षण गराए । 

‘वैज्ञानिकहरूको मनोबल र क्षमता बढाउँदै युवा वैज्ञानिकहरूलाई काम गर्ने स्थलमा उत्प्रेरणा थप्दै  नास्ट स्थापनाको ४० वर्ष पार गरिसकेको छ’, प्रधानमन्त्रीले भने, ‘यस अवधिमा देशमा विज्ञान तथा प्रविधिको विकास गर्नमा के–कति योगदान नास्टले दियो । अब कुन कुन क्षेत्रमा केन्द्रित भई योजनावद्धरूपमा अवधिलक्षित कार्यक्रमका तर्जुमा गरी कार्यान्वयनतर्फ पनि तपाईँहरूको ध्यान जानेछ भन्ने विश्वास लिएको छु ।’ 

प्रचण्डले आफैँ पनि विज्ञानको विद्यार्थी भएकाले विज्ञान तथा प्रविधिका क्षेत्रमा नेपाली वैज्ञानिक प्राविधिज्ञहरूको क्षमता र योगदानको बारेमा अनभिज्ञ नभएको बताए । ‘नवप्रवर्तनलाई प्राथमिकता दिई स्वदेशी प्रविधिको विकासमा धेरै काम गर्न नसके पनि अभिलेखीकरण गर्न र त्यसैको लागि केन्द्रित प्रयोगशाला स्थापनाको लागि गरेका प्रयास अनुकरणीय छन्’, उनले भने, ‘नेपाल अन्तरिक्ष युगमा प्रवेश गर्नुपर्ने आजको आवश्यकतालाई आत्मसात् गर्दै नेपाल सरकारले नास्टमार्फत नानो स्याटलाइट प्रक्षेपण गरिसकेको छ भने भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इस्रो) को सहकार्यमा मुनाल स्याटलाइट प्रक्षेपण गर्ने तयारीमा युवा वैज्ञानिकहरूलाई समेट्दै अन्य सङ्घ/संस्थासँग सहकार्य गर्दै वैज्ञानिकहरू जुट्नुभएको थाहा पाउँदा खुसी लागेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप