आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपालको जलविद्युतमा लगानी गर्न एसियाली मुलुकका बैंकका सीईओहरुलाई अर्थमन्त्रीको आग्रह

शनिबार, १५ वैशाख २०८१, १३ : ५३
शनिबार, १५ वैशाख २०८१

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले एसियाली मुलुकका बैंकका सीईओहरुलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । बिहीबार काठमाडौँमा भएको ३९औँ एसियन बैंकर्स एशोसिएशनको जनरल मिटिङ एण्ड कन्फ्रेन्सलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले नेपालको जलविद्युत क्षेत्रमा लगानी गरे सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । 

अर्थमन्त्री महतले अर्थतन्त्रका सबै क्षेत्रलाई कार्बनरहित बनाउँदै सन् २०४५ भित्र विशुद्ध शून्य कार्बन उत्सर्जनमा पुग्ने लक्ष्य रहेको बताए। उनले सरकारले नीतिगत रूपमा व्यवस्था गरी हरित ऊर्जालाई प्रोत्साहन गर्ने जिकिर गरे । उनले भारतले यो भन्दा अगाडि १० वर्षमा १० हजार मेगावट जलविद्युत खरिद गर्ने प्रतिबद्धता जनाएको स्मरण गराए ।  सरकारले जलविद्युत क्षेत्रमा लगानी गर्ने लगानीकर्ताको सुरक्षामा सरकार प्रतिबद्ध रहेको उनको भनाई थियो। 

मन्त्री महतले विश्व बैंक र एडिबीले पनि नेपालको ठुलो जलविद्युत आयोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएको पनि जानकारी दिए । उनले पछिल्लो समय नेपालको जलविद्युत क्षेत्रमा वैदेशिक लगानी वृद्धि हुँदै गएको बताए । 

अर्थमन्त्री महतले सरकारले विद्युत् उत्पादन,साना उद्योग तथा कृषिमा प्रमुख प्राथमिकतामा राखेर नीतिगत व्यवस्था गरिरहेको दाबी गरे। उनले आम जनतालाई समेत प्रत्यक्ष लाभ हुने गरी ग्रिन अर्थतन्त्रको विकासमा जोड दिएको बताए । उनले बैंक तथा वित्तीय क्षेत्रले मुलुकको अर्थतन्त्र लयमा ल्याउने ठुलो योगदान पुर्‍याएको भन्दै प्रशंसा गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप