आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भूकम्प पीडितलाई एनएसएल र ड्रोग्बा फाउन्डेसनको २० लाख, नेपाल आउने ड्रोग्बाको चाहना

शनिबार, १५ वैशाख २०८१, १५ : ०३
शनिबार, १५ वैशाख २०८१

काठमाडौँ । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर पश्चिम नेपालमा गएको विनाशकारी भूकम्पबाट प्रभावितहरुका लागि नेपाल सुपर लिग (एनएसएल) र डिडियर ड्रोग्बा फाउन्डेसनले संयुक्त रुपमा आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । 

नेपाल सुपर लिग र ड्रोग्बा फाउन्डेसनले २० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषलाई उपलब्ध गराउने नेपाल स्पोर्टस एन्ट इभेन्ट्स म्यानेजमेन्टका निर्देशक श्रेयान्स कार्कीले जनाएका छन् । 

गत शुक्रबार गएको भूकम्पमा परी एक सय ५३ जनाले ज्यान गुमाएका छन् । भूकम्पमा परी सयौँ व्यक्ति घाइते भएका छन् भने हजारौँ परिवार विस्थापित भएका छन् । यसका लागि ड्रोग्बा आफैले सक्रियता देखाएको समाचारमा जनाइएको छ ।

४५ वर्षीय ड्रोग्बा आफ्नो समयका चर्चित फुटबल खेलाडी हुन् । आइभरी कोस्टका यी स्ट्राइकरले इङ्लिस प्रिमियर लिग क्लब चेल्सीबाट लामो समय व्यवसायीक फुटबल खेलेका थिए । यसका अतिरिक्त उनले युरोपका अन्य क्लबबाट पनि व्यवसायी फुटबल खेलेका थिए ।

ड्रोग्बाले सन् २००२ देखि सन् २०१४ सम्म देशका लागि एक सय पाँच खेल खेलेका थिए । उनी आइरी कोस्टको राष्ट्रिय टोलीका कप्तान पनि थिए । उनले नेपाल सुपर लिगको दोस्रो सिजनका लागि नेपाल आउने प्रतिबद्धता पनि ब्यक्त गरेका छन् । 

नेपाल सुपर लिगको दोस्रो संस्करण आगामी मसिर ८ देखि पुस २१ गतेसम्म काठमाडौँको दशरथ रंगशालामा आयोजना हुँदैछ । आफ्नो समयका यी प्रभावशाली फुटबलरले पछिल्लो समय डिडियर ड्रोग्बा फाउन्डेसनमार्फत विभिन्न सामाजिक तथा मानवीय कार्यमा सहयोग गर्दै आएका छन् ।

हालै महान् अर्जेन्टिनी फुटबलर लियोनल मेसीले कीर्तिमानी रुपमा आठौँ पटक बालन डी’ओर अवार्ड पाएका थिए । त्यो अवार्ड मेसीलाई हस्तान्तरण गर्ने अवसर पनि ड्रोग्बालाई नै प्रदान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप