आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भूकम्पबाट आठबीसकोटमा मात्रै चार हजार बढी घर पूर्णरुपमा ध्वस्त

शनिबार, १५ वैशाख २०८१, १५ : ३२
शनिबार, १५ वैशाख २०८१

त्रिवेणी । गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको छ दशमलव चार रेक्टरस्केलको भूकम्पले रुकुम पश्चिममा पनि मानवीयसँगै भौतिक संरचनामा ठूलो क्षति पुर्‍यायो । सोही भूकम्पले गर्दा हजारौँको घरबास उजाड भएको छ भने हजारौँको सङ्ख्यामा स्थानीय वासिन्दा त्रिपालको साहारामा चिसो रात कटाउन बाध्य भएका छन् । 

भूकम्पले घर पूर्णरुपमा क्षति पुर्याउदा शनिबारदेखि नै त्रिपाल साहारा बनेको र त्रिपालमै चिसो रात कटाउनु परेको आठबीसकोट नगरपालिका–१३ भल्लमाका ४१ वर्षीया हरिबहादुर ओलीले बताए । त्रिपालमा चिसो रात कटाउन आफ्नो परिवारलाई निकै मुस्किल भएको उनको गुनासो थियो  ।

गत शुक्रबार गएको भूकम्पले आठबीसकोट नगरपालिकाकामा चार हजार दुई सय ७३ घर पूर्णरुपमा क्षति भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिए । उनका अनुसार भूकम्पले नगरपालिकाको ९, १०, ११, १२, १३ र १४ नम्बर वडाका घर बढी क्षति भएका र  अन्य बाँकी वडामा भने कमै मात्रा क्षति पुगेको छ।

नगरपालिकामा भएका जम्मा आठ हजार छ सय ३७ घरमध्ये चार हजार दुई सय ७३ घर पूर्णरुपमा क्षति हुँदा दुई हजार १८ घरमा आंशिक क्षति पुगेको  निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहको भनाइ थियो । भूकम्पले नभएका वडामा पनि सामान्य क्षति पुगेको छ । सामान्य क्षति हुनेमा एक हजार सात सय घर छन् । त्यस्तै स्थानीयस्तरमा उत्पादन हुने खाद्यन्नमा पनि ठूलो क्षति पुगेको छ । 

घरमा राखिएको धान, गहुँ र मकै पनि पुरिएर क्षति  हुनाका साथै १४ वटा भैँसी, आठ वटा गोरु, ६१ वटा भेडाबाख्रा र पाँच सय ७८ कुखुरा मरेको नगरपालिकाले जनाएको छ । गत शुक्रबार गएको भूकम्पले रुकुम पश्चिममा ५२ जनाको मृत्यु हुनाका साथै भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको छ । अहिले ती क्षेत्रमा पीडितलाई राहत वितरणको काम चलिरहेको छ  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप