आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पिताको यी ५ बानीले बन्छन् बच्चा समझदार

शनिबार, २७ माघ २०८०, १६ : २२
शनिबार, २७ माघ २०८०

काठमाडौँ । बच्चाले असल मान्छे बन्ने प्रेरणा सुरुमा आफ्नो माता पिताबाटै पाउँछ । अभिभावकहरू जसरी बोल्छन्, जस्तो खालको व्यवहार गर्छन् बच्चाले पनि त्यस्तै सिक्छन् र त्यस्तै खालको व्यवहार गर्छन् । भविष्यमा उनीहरू पनि आफ्नो मातापिता जस्तै बन्छन् । बच्चाको जीवनमा खासगरी पिताको प्रभाव÷छाप धेरै हुन्छ । हरेक बच्चाले आफ्नो बाबुलाई हिरो मान्छन् । आफ्नो रोल मोडल ठान्छन् ।

त्यसैले आफ्नो बच्चालाई आमाले जस्तै ध्यान दिनु हरेक पिताको जिम्मेवारी हो । उनीहरूलाई राम्रो राम्रो कुरा सिकाउनुस्, खराब आचरणबाट टाढा रहन प्रेरित गर्नुस् । नराम्रो र राम्रोबीचको अन्तर सिकाउनुस् । 

बच्चाको जीवनमा खास छाप छाड्न मातापिताले उनीहरूलाई धेरै कुरा बताउन, सम्झाउन वा सिकाउनु पर्छ । आजको यो लेखमा हामीहरू पिताले आफ्ना छोराछोरीलाई सिकाउनु पर्ने आफ्ना केही बानीबारे कुराकानी गर्नेछौँ ।

१. एक अर्काको सम्मान गर्ने:

हरेक व्यक्तिको सम्मान गर्नु राम्रो बानी हो । तपाईँले अर्को व्यक्तिको सम्मान गर्नु हुन्छ भने आफ्नो बालबालिकालाई पनि यस्तै गर्न भन्नुस् । अरुलाई सम्मान गर्दा, उसलाई इज्जत दिँदा कोही पनि सानो हुन्न भनेर छोराछोरीलाई सिकाउनुस् । तपाईँले अरुको कुराको जति इज्जत गर्नुहुन्छ, उनीहरूको जति सम्मान गर्नुहुन्छ भने तपाईँले पनि त्यति नै सम्मान पाउनु हुन्छ । तपाईँको मनमा अरुको सम्मानको भावना छैन भने तपाईँको इज्जत कसैले पनि गर्दैनन् ।

२. गल्ती स्वीकार गर्नेः

आफ्ना छोराछोरीलाई उनीहरूले गरेको गल्ती स्वीकार गर्न लगाउनुस् । केही मान्छे आफूले गल्ती गरेर पनि मैले गरेकै होइन, मेरो कुनै गल्ती छैन भनेर ढिपी गर्छन् । उल्टै आफ्नो गल्ती ढाकछोप गर्न अनि अरुसँग झगडा गर्छन् । तपाईँ घरको मुली हुनुहुन्छ र तपाईँले केही गल्ती गर्नु भएको छ भने सोलाई स्वीकार गर्नुस् । तपाईँमा भएको यो गुण बच्चाले पनि देख्छन् अनि आफूले गरेको गल्ती स्वीकार गर्छन् । आफूले गरेको गल्तीका लागि तपाईँले माफी माग्नु भयो भने बच्चाले पनि त्यस्तै गर्छन् ।

३. हार्नु गलत होइन:

कुनै पनि प्रतियोगितामा हार बेहोरेपछि प्रायः बच्चाहरू रुन थाल्छन् । बिस्तारै बिस्तारै बच्चाहरू हारिने डरले प्रतिस्पर्धाहरूमा सहभागी हुनै डराउँछन् । पिता भएको नाताले हार्नु नराम्रो होइन भनेर बच्चालाई सम्झाउनु तपाईँको जिम्मेवारी हो । प्रतिस्पर्धामा हार भयो वा परीक्षामा थोरै अंक ल्याउँदैमा जीवन सकिँदैन । जीवनमा अगाडि कयौं मौका अवसर आउँछन् जहाँ मेहनत अनि निरन्तरको प्रयासले जित हासिल गर्न सकिन्छ । त्यसैले बच्चालाई मेहनत गर्न प्रेरित गर्नुस् ।

४. माया व्यक्त गर्न सिकाउनुस्:

घरमा पिताले अरुलाई मायालु व्यवहार गर्छन् भने बच्चामा पनि यस्तो बानी विकास हुन्छ । पिता रिसाउने, कडा खालको छन् भने बच्चाले पनि त्यस्तै बानी अपनाउँछन्, कसैसँग मायालु ढंगले प्रस्तुत हुँदैनन् । अरुसँग सधैँ झर्केर, रिसाएर कुरा गर्छन् । तपाई कसरी बोल्नु हुन्छ ?

५. कुनै पनि काम सानो– ठूलो हुन्न:

घरको मुली भएको नाताले तपाई आफ्नो कामलाई मात्रै ठूलो र राम्रो मान्नु हुन्छ अनि घरायसी कामकाजलाई तुच्छ ठान्नु हुन्छ ? तपाईँका बच्चाहरूले पनि त्यस्तै सोच्न थाल्छन् । घरको काम महिलाले मात्रै गर्ने हो भने भन्ने खालको व्यवहार वा कुरा बच्चाको अगाडि नगर्नुस् । घरको होस् या बाहिरको सबै काम उत्तिकै महत्त्वपूर्ण हुन्छ, छोरा होस् या छोरी हरेकले सबै खाले काम गर्नु पर्छ भनेर सिकाउनुस् त बच्चाले पनि त्यस्तै सिक्छन् । हरेक कामको सम्मान गर्न थाल्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप