आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फ्याट खाँदैमा बढ्छ तौल ?

आइतबार, १६ वैशाख २०८१, १५ : ३९
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । तिहार संघारमै छ । तिहार अर्थात् सेल, पुरी, फिनी यस्तै अनेक परिकारको चाड हो । यी सबैलाई तेलमा चुर्लुम्म डुबाएर पकाइन्छ । 

चिल्लो अर्थात् फ्याट भन्ने बित्तिकै हाम्रो मस्तिष्कमा मोटोपना, कोलेस्ट्रोल मुटुको रोग र हर्ट अट्याक आदि कुरा घुम्न थाल्छ । फ्याट नराम्रो हो भन्ने धारणा हामी सबैको दिमागमा छ । हामी तेल सकेसम्म कम खान्छौँ, तर घ्यू चाहिँ हातबाटै तरर्र चुहिने गरी खान्छौँ । 

यहाँ प्रश्न चाँहि के हो भने फ्याट साँच्चै हाम्रो लागि यति धेरै खतरनाक हो त ? पक्कै होइन । हरेक कुराको राम्रो र नराम्रो पक्ष हुन्छ । त्यस्तैगरी फ्याट पनि दुई खाले हुन्छ: शरीरलाई लाभ पुर्‍याउने र हानी गर्ने । ब्याड फ्याट हाम्रो शरीरको लागि विष हो । यसका कारण मुटुको रोगदेखि शरीरका अंग सुन्निनेसम्मका समस्या निम्तिन्छ । तर गुड फ्याट शरीरको साथी हो । शरीर र दिमागको स्वास्थ्यको लागि यो राम्रो मात्रै होइन अनिवार्य छ । फ्याटको गुण र अवगुण कसरी नाप्ने त ? कुन चाँहि फ्याट शरीरको लागि राम्रो हो अनि कुन नराम्रो भनेर कसरी थाहा पाउने ?

शरीरमा फ्याटको काम के हो ?

मानव शरीरको ठुलो हिस्सा र मस्तिष्कको ७० प्रतिशत हिस्सा फ्याटले बनेको हुन्छ । वयस्क पुरुषमा १० देखि १२ प्रतिशत अनि वयस्क महिलाको शरीरमा २५ देखि २८ प्रतिशतसम्म फ्याट हुन्छ ।

फ्याटले शरीरमा गर्ने कामहरुः

फ्याटले शरीरलाई काम गर्ने ऊर्जा दिन्छ । १ ग्राम फ्याटबाट शरीरले ९ क्यालोरी ऊर्जा पाउँछ भने १ ग्राम कार्बोहाइड्रेट्सबाट ४ क्यालोरी ऊर्जा पाउँछ । शरीरलाई ए, डी, ई र के सबै भिटामिन अत्यावश्यक छ । यी सबै भिटामिन शरीरले शोस्न फ्याट चाहिन्छ । यी सबै भिटामिन सेवन गर्दा फ्याट खाइएन भने शरीरले यी भिटामिन शोस्न सक्दैन ।

फ्याट शरीरको वृद्धि विकासका लागि जरुरी छ । शरीरमा दिनहुँ लाखौं कोशिका टुट्छन् अनि नयाँ बन्छन् । यो प्रक्रियामा फ्याटको महत्त्वपूर्ण भूमिका हुन्छ । फ्याटले हाम्रो शरीरको कोमल अंगका लागि कुशन या कभरको काम गर्छ । हाम्रो दिमागमा ७० प्रतिशत फ्याट हुन्छ । यो कग्निटिभ फङ्शनका लागि जरुरी छ । फ्याट भएन भने मस्तिष्क सुस्त हुन्छ ।

फ्याटले मोटोपना बढाउँछ ?

अब कुरा गरौँ मोटोपनाको । फ्याट खतरनाक हो भनेर प्रायः हामीले सुन्दै आएका छौँ । परम्परागत फ्याट खतरनाक भन्दै ट्रान्स फ्याट अर्थात् वनस्पति घ्यूको प्रयोग थालियो । तर सयौँ अध्ययन र अनुसन्धानहरूले मोटोपनाको लागि खलनायक फ्याट होइन ट्रान्स फ्याट र चिनी अर्थात् गुलियो हो भनेर देखाएका छन् । ‘फ्याटले मोटोपना बढाउँदैन, ट्रान्स फ्याट र चिनीले बढाउँछ ।’ हार्वार्ड विश्वविद्यालयका प्राध्यापक डा. डेविड लुडविगले जरनल अफ अमेरिकन मेडिकल एसोसिएशनमा प्रकाशित एक पेपरमा लेखेका छन् ।

गुड फ्याटलाई कसरी चिन्ने ?

गुड फ्याट हाम्रो स्वास्थ्यको लागि हितकारी छ । वैज्ञानिक भाषामा यसलाई अनस्याचुरेटेड फ्याट पनि भनिनछ । केही प्रकारका तेल चिसोमा जम्छन्, केही जम्दैनन् । जम्ने तेल स्याचुरेटेड तेल हो भने नजम्ने तेल अनस्याचुरेटेड । तोरीको तेल, अलिभ आयल, तिलको तेल सबै अनस्याचेरेटेड तेल हुन् । सर्दीमा जम्ने नरिवलको तेल र घरमा बनाइने गाई भैँसीको घ्यू पनि अनस्याचुरेटेड गुड फ्याट नै हो ।

बुझ्न गाह्रो भयो ? गुड फ्याट र ब्याड फ्याटलाई छुट्याउने चिज भनेको यसको प्रशोधन प्रक्रिया हो । जुन तेललाई उच्च तापमा प्रोसोधन गरेर बनाइन्छ, ती तेलले कम्पल्किेटेड फ्याट चेन एसिड बनाउँछ । यस्तो तेल सजिलैसँग पच्दैन । स्याचुरेटेड फ्याट, ट्रान्स फ्याटजस्ता वनस्पति घ्यूलाई वर्षौसम्म राख्दा पनि बिग्रिँदैनन् । तर मानव शरीरले यस्तो फ्याट पचाउन सक्दैनन् । यो फ्याट आन्द्रा र भित्री अंगको चारैतिर जमेर बस्न थाल्छन् । शरीरले यसलाई सोस्न सक्दैन अनि यही फ्याट कोलेस्ट्रोल र इन्फ्लेमेशनको कारण बन्छ ।

ट्रान्स फ्याट खतरनाक हुन्छ । प्रकृतिले हामीलाई नदिने फ्याट नै ट्रान्स फ्याट हो । अर्थात् यसको निर्माण मानिसले गरेका हुन् । यो खराब मात्रै होइन विष नै हो । यसले कोलेस्ट्रोलदेखि फ्याटी लिभर, मधुमेहदेखि इन्फ्लेमेशन जस्ता रोग निम्त्याउँछ । यस्तो फ्याटले मुटुको रोग, मधुमेह, स्तन क्यान्सर, आन्द्राको क्यान्सर र मोटोपनाको खतरा ४० गुणासम्म बढ्ने जरनल अफ फूड साइन्स एन्ड टेक्नोलोजीको एउटा अनुसन्धानले देखाएको छ ।

गुड फ्याटका स्रोतहरुः

ओखर, काजु, बदाम, पिस्ता जस्ता ड्राई फ्रुट्स

अलिभ आयल,

गाईबस्तुको दूधको घ्यू

बदाम

फर्सी वा सूर्यमुखीको बिया

तिल

माछा तोरीको तेल

नरिवलको तेल

ट्रान्स फ्याटका स्रोतहरुः

प्याकेटमा आउने कुकीज, चिप्स, रस्क

पिज्जा, बर्गर, फ्रइज

फ्रोजन फूड

बारम्बार एउटै तेलमा तलेर बनाइने वस्तु

वनस्पति घ्यू

गुलाब जामुन, लड्डु, जेरी आदि

केक, पेष्ट्री, पेटिज

शरीरका लागि कत्ति चाहिन्छ फ्याट ?

खानामा फ्याट हामीले दुई तरिकाले पाउँछौँ । एउटा भिजिबल फ्याट जसलाई हामी देख्न सक्छौँ । जस्तो कि तेल, घ्यू, नौनी आदि । दोस्रो चाँहि खाद्य पदार्थमै हुने फ्याट । ड्राइ फ्रुट्स वा बियाँ । प्रकृतिले नै यिनीहरुमा  भरपुर फ्याट दिएका हुन्छन् ।

बसेर काम गर्ने मानिसलाई दैनिक रुपमा कम्तीमा २५ ग्राम फ्याट चाहिने बताइन्छ । शारीरिक परिश्रम बढी भएको काम गर्नेहरुको भोजनमा फ्याटको मात्रा ४० देखि ४५ ग्राम हुनुपर्ने बताइएको छ । तपाई पनि आफ्नो भोजनलाई स्वस्थकर बनाउन चाहनु हुन्छ भने फ्याट, कार्बोहाइड्रेट्स र प्रोटिन सबै सन्तुलित हुने गरी खाना खानुस् । दिनहुँ खानामा गुड फ्याटलाई अनिवार्य समावेश गर्नुस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप