आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’

प्रचण्डलाई सहिद परिवारको प्रश्न– युद्धताका सुगम भएको रोल्पा अहिले किन दुर्गम ?

आइतबार, २८ माघ २०८०, २० : ३८
आइतबार, २८ माघ २०८०

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ६ वर्षपछि रोल्पाको थवाङ पुगे । शुक्रबार बिहान काठमाडौँबाट नेपालगञ्ज उडेका उनी त्यहाँबाट नेपाली  सेनाको हेलिकोप्टरमार्फत थवाङ पुगेका हुन् ।

सुरुमा थवाङ गाउँपालिका पुगेका उनले गाउँपालिका बैठकको ‘इञ्चार्जसीप’ गरे । माओवादी केन्द्रले सञ्चालन गरेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’मा अध्यक्षले सात वटै प्रदेशका एक/एक वटा वडाको जिम्मेवारी लिने निर्णयअनुसार प्रचण्डले थवाङ गाउँपालिकाको इञ्चार्जसीपको भूमिका निर्वाह गरेको लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले बताए ।

बरालका अनुसार प्रचण्डले पालिकाको इन्चार्जको रूपमा निर्णय पुस्तिकामा हस्ताक्षर गर्नुको साथै सम्बोधन गरेका थिए । ‘माओवादी रुपान्तरण अभियानकै क्रममा प्रधानमन्त्रीज्यू बिहान थवाङ आइपुग्नुभएको थियो । आएलगत्तै पालिकाको इन्चार्जसिप गर्नुभयो । निर्णय पुस्तिकामा हस्ताक्षर गरी सम्बोधन गर्नुभयो’, बरालले भने ।

प्रशिक्षणमा उनले सहिद परिवार तथा घाइते योद्धाका कुरा सुने । उनको साथमा रोल्पाका जनप्रतिनिधि एवं उपमहासचिव वर्षमान पुन, लुम्बिनीका इन्चार्ज हितमान शाक्य पनि थिए ।

युद्धताका नेताहरूलाई सुगम रहेको रोल्पा शान्ति प्रक्रियामा आएपछि दुर्गम लाग्न थालेको सहिद तथा बेपत्ता परिवारका सदस्यहरूबाट गुनासो आएको प्रदेश अध्यक्ष बरालले बताए ।

‘अध्यक्ष लगायत शीर्ष नेताहरू लामो समयदेखि आउनुभएन । युद्धको बेला सबैलाई सुगम हुने, अहिले सबैलाई दुर्गम हुने स्थिति किन आयो भन्नेजस्ता प्रश्न राखेका थिए । सत्तामा पुगेपछि नेताहरू  सुविधाभोगी भएको, रोल्पाको विकासमा भूमिका नखेलेको, सहिद मार्ग, पार्क निर्माणमा ध्यान नदिएको जस्ता गुनासो पोखेका थिए’, बरालले भने ।

जवाफमा प्रचण्डले रोल्पाली जनताले पार्टीभित्र युद्धकालमा दुई लाइन संघर्षलाई बचाएको, शीर्ष नेतृत्वलाई बचाएको चर्चा गर्दै आफू फेरि जनयुद्धको आधारभूमि रोल्पा आउन पाउँदा गर्व लागेको बताएका थिए ।

थवाङ नेपालको मात्र नभइ अन्तर्राष्ट्रिय रुपमै क्रान्तिकारीहरूको पहिचान बोकेको स्थलको रुपमा चित्रण गर्दै उनले यसलाई बचाउनका लागि के गर्नुपर्छ, त्यसमा आफू तयार रहेको प्रतिबद्धता जनाएका थिए ।

प्रशिक्षणमा उपमहासचिव पुनले आफू लामो समय बिरामी भएकाले रोल्पा आउन नपाएको भन्दै अब नियमित रुपमा आउने, कार्यकर्ता र जनताको गुनासो सुन्ने प्रतिबद्धता जनाएका थिए । सहिद पार्क, सहिद मार्ग निर्माणका साथै रोल्पाको विकासका लागि आफूले पहल गरिरहेको आश्वासन पनि उनले दिएका थिए ।

बरालका अनुसार प्रशिक्षणमा पुनको स्वास्थ्यस्थितिलाई ख्याल गरेर पूर्ण स्वास्थ्य लाभको कामनासहित भावनात्मक कुराकानी भएको थियो ।

प्रचण्डले जनयुद्धको तयारीका लागि ४० वर्षअघि पहिलो पटक थवाङ आएको स्मरण गर्दै अब नयाँ चरणको क्रान्तिको तयारीमा रहेको बताए । ‘६ वर्षपछि हाम्रो आधारक्षेत्र थवाङ आउन पाउँदा मलाई हर्ष र गौरवको अनुभूति हुन्छ । म ४० वर्षअघि पहिलोपटक थवाङ आएको थिएँ । जनयुद्धको तयारी, उठान र सञ्चालन यहीँ आधार बनाएर गरिएको थियो’, त्यतिबेलाको अवस्था स्मरण गर्दै उनले भने, ‘थवाङ विचार र क्रान्तिको प्रतीक हो । यसले विचार दियो, गुणात्मक परिवर्तन दियो । एउटा ऐतिहासिक क्रान्तिको नेतृत्व गरेको छ ।’

जनवादी क्रान्तिको चरणमा थवाङले ऐतिहासिक भूमिका खेलेको चर्चा गर्दै प्रचण्डले अब नयाँ चरणको क्रान्तिको तयारीमा रहेको बताए । समाजवादी क्रान्तिका लागि थवाङले फेरि पनि अग्रणी भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।

प्रशिक्षणको काम सकिएपछि प्रचण्डले सहिद स्मृति राजमार्गको थवाङ खोलामा निर्मित मोटरेवल पुल उदघाटन गरे । उदघाटनको क्रममा उनले गणतन्त्र प्राप्तिको लडाइँमा अग्रणी योगदान गर्ने रोल्पा जिल्लालाई गणतान्त्रिक सरकारले विशेष महत्त्व दिएको दाबी गरे ।

सहिद स्मृति सडक निर्माणको काम, कृषिका लागि सहयोग, उत्पादनमुलक नमुना कृषि प्रोजेक्ट लगायत विषयमा आफू गम्भीर रहेको र ती माग पूरा गर्ने प्रतिबद्धता पनि उनले जनाए ।

त्यसपछि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दिउँसो तीन बजे सेनाको हेलिकोप्टर मार्फत सदरमुकाम लिवाङ आइपुगेको जिल्ला इन्चार्ज पूर्ण घर्तीले बताए । त्यहाँ उनले ५० शय्या क्षमताको जिल्ला अस्पताल उद्घाटन गरे । त्यसपछि लिवाङमा माओवादी केन्द्रले आयोजना गरेको जनसभालाई सम्बोधन गरेका प्रचण्ड दिउँसो ४ बजे काठमाडौँ फर्किएको घर्तीले जानकारी दिए ।

अभियान ७० दिन पुगेको अवसरमा आफूले जिल्लाको वस्तुगत अवस्थाबारे प्रचण्डलाई ब्रिफिङ गरेको घर्तीले बताए । प्रत्येक प्रदेशको एक वडामा जाने प्रतिबद्धता अनुसार अध्यक्ष प्रचण्ड रोल्पा आएको उनको भनाइ थियो ।

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा प्रधानमन्त्री प्रचण्ड रोल्पा–२ र काठमाडौँ–१० बाट भारी मतले निर्वाचित भएका थिए । तर उपनिर्वाचनमा रोल्पा–२ छोडेकोमा उनीसँग रोल्पाली असन्तुष्ट देखिन्थे ।

२०७० को निर्वाचन पश्चात पार्टीले निरन्तर धक्का खाँदै गएपछि माओवादी केन्द्रले भदौ १६ गतेदेखि तीन महिने विशेष रुपान्तरण अभियान चलाएको छ । सात प्रदेशमा ७ वडा जाने पूर्वप्रतिवद्धता अनुसार प्रचण्ड शुक्रबार रोल्पा गएका हुन् । यसअघि उनी काठमाडौँको चन्द्रागिरि–२ र रुकुम(पश्चिम)को बाफिकोट गाउँपालिका पुगेर कार्यकर्ता तथा जनताका गुनासा सुनेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप