आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
शिक्षा

अध्ययन सुरु भएको दोस्रो वर्षमै सिभिल इन्जिनियर विषय बन्द हुने अवस्थामा

आर्थिक बोझमात्रै लिएर हुँदैन, उपलब्धि पनि आउनुपर्यो : नगरप्रमुख पौडेल
आइतबार, २८ माघ २०८०, २२ : ५०
आइतबार, २८ माघ २०८०

बारा । जीतपुर सिमरा उपमहानगर वडा नं ४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा सिभिल इन्जिनियर अध्ययन सुरु भएको दोस्रो वर्षमै बन्द हुने अवस्थामा पुगेको छ । उपमहानगरभित्र सिभिल इन्जिनियर पढाइ हुने एकमात्रै विद्यालयमा भौतिक पूर्वाधार र विद्यार्थी संख्या न्यून भएपछि अध्ययन नै बन्द हुने अवस्थामा पुगेको हो ।

३ वर्षे प्राविधिक अध्ययनका लागि १ वर्षअघि  १८ जना विद्यार्थी भर्ना भएकोमा  हाल १२ जना विद्यार्थीले मात्रै  निरन्तर अध्ययन गरेका छन् भने यसवर्ष पहिलो सेमेस्टरको अध्ययन खाली छ ।

२ जना मात्रै विद्यार्थी भर्ना हुन आएपछि यस वर्ष विद्यालयले भर्ना नै नलिएको प्रधानाध्यापक रामदत्त जोशीले जनाए । ‘सिभिल इन्जिनियर अध्ययनमा विद्यार्थी अभावभन्दा पनि मुख्य कुरा भौतिक पूर्वाधारको अभाव छ, ल्याबको सबैभन्दा ठुलो समस्या छ । त्यो समाधान गर्न करोडौँ लगानी चाहिन्छ । अर्कोतर्फ यसवर्ष प्रथम सेमेस्टरमा भर्ना हुन जम्मा २ जना विद्यार्थी आएका थिए, २ जनाको लागि चलाउन समस्या भएर हामीले भर्ना लिएनौँ,’ प्रअ जोशीले भने ।

गतवर्ष भर्ना भएर निरन्तर अध्ययन गरेका १२ जना विद्यार्थीको शुल्कले  शिक्षकहरुलाई तलब खुवाउन सक्ने अवस्था नरहेको उनले सुनाए ।

sc4

सिभिल इन्जिनियर अध्ययनको क्रममा प्रयोगात्मक परीक्षण गर्न आवश्यक ल्याबका सामग्री अत्यन्तै महँगो हुने र आन्तरिक स्रोतले धान्न नसक्ने विद्यालय प्रशासनले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक जोशीले विद्यार्थी नआएका कारण यस वर्षको एक सेमेस्टर खाली भएको बताए । ‘यो देशभरका प्राविधिक शिक्षालयहरुको साझा समस्या हो, विद्यार्थीहरु प्राविधिक विषय पढ्न नचाहने, पढ्नै परेमा पनि साधारण विषय पढ्ने र प्लस टु पास गरेर विदेशतिर जाने चाहनाले यो समस्या आएको हो,’ उनले भने,  ‘भोलिको दिनमा विद्यार्थी आएको खण्डमा र भौतिक पूर्वाधार पनि जुटेमा प्राविधिक शिक्षा चल्छ ।’

प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक प्राविधिक शिक्षालय कार्यक्रम अन्तर्गत बारा निर्वाचन क्षेत्र नं ४ (क) का तत्कालीन प्रदेश सभा सदस्य सुन्दर विश्वकर्माको पहलमा सिभिल इन्जिनियर अध्ययनका लागि उपमहानगरको  वडा नं ४ को सो विद्यालय छनोट गरिएको हो ।

मधेस प्रदेश सभाका पूर्व सदस्य विश्वकर्माले भवन निर्माण र प्रयोगशालाका लागि आवश्यक सामग्री खरिद गर्न वार्षिक २५ लाखको दरले ३ वर्षसम्म प्रदेशसभाले ७५ लाख आर्थिक सहयोग गरेको बताए ।

‘एउटै विद्यालयका विद्यार्थीबाट प्राविधिक शिक्षालय चल्दैन, अन्य क्षेत्रका विद्यालयहरुबाट पनि हामीले विद्यार्थी ल्याउनुपर्छ, यो खर्चिलो छ तर वडा कार्यालय, उपमहानगर र प्रदेश सरकारले आर्थिक सहयोग गर्ने र स्थानीयहरु सबै मिलेर लाग्ने हो भने चलाउन सकिन्छ,’ विश्वकर्माले भने ‘यसलाई हामीले बन्द गर्नु हुँदैन, छलफल गरेर चलाउनुपर्छ ।’

प्राविधिक शिक्षालय सञ्चालनको लागि प्रदेश सरकारबाट वार्षिक २५ लाख आर्थिक सहयोग गर्ने भनिए पनि पछिल्लो २ वर्षदेखि कुनै सहयोग नआएको विद्यालय प्रशासनले जनाएको छ ।

सो विद्यालयमा प्राविधिक र साधारण तर्फ गरेर कक्षा १२ सम्म करिव ८ सय विद्यार्थी अध्ययनरत छन् । प्रधानाध्यापक जोशी छठ लगत्तै विद्यालय खुलेपछि सरोकारवाला निकायहरुसँग बसेर छलफलको माध्यमबाट प्राविधिक अध्ययनलाई अगाडि बढाउने बताउँछन् ।

sc3

प्राविधिक तर्फका १२ जना विद्यार्थीलाई पढाउन ५ जना शिक्षक खटिएका छन् । उनीहरुको सेवा सुविधाका लागि वडा नं ४ को वडा कार्यालयले वार्षिक २० लाख आर्थिक सहयोग गर्दै आएको छ । सिभिल इन्जिनियर अध्ययनका लागि प्रतिविद्यार्थी प्रतिवर्ष १ लाख ४० हजार शुल्क बुझाउँछन् ।

प्रदेश सभाका पूर्व सदस्य विक भने उपमहानगरभित्र रहेका २४ वटा वडामध्ये एउटा वडाले २ जना विद्यार्थी मात्रै निःशुल्क पढाइदिए समस्या समाधान हुने बताउँछन् ।

उपमहानगरभित्र ६१ वटा सामुदायिक विद्यालय छन्, जसमध्ये  माध्यमिक तहको कक्षा १२ सम्म पढाइ हुने १२ वटा, कक्षा १० सम्मका ४ वटा विद्यालय गरी १६ वटा विद्यालयमा मावि तह अध्ययन हुन्छ । कक्षा १२ सम्म पढाइ हुने आधा दर्जन विद्यालयमा कृषि, भेटेनरी, इलेक्ट्रोनिक र सिभिल इन्जिनियर लगायतका प्राविधिक विषय अध्ययन हुन्छ । यी प्राविधिक शिक्षालयहरु केन्द्र र प्रदेशको सीटीईभीटीबाट अनुमति लिएर सञ्चालन भएका छन् ।

जीतपुर सिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेलले नेरामावि औराहामा बिना अध्ययन हचुवाको भरमा सिभिल इन्जिनियर पठनपाठन सुरु गर्दा समस्या सिर्जना भएको बताए ।

‘प्राविधिक विषय पैसाको बलमा मात्रै सञ्चालन हुने हो र ? पढ्ने विद्यार्थी कहाँबाट ल्याउनुहुन्छ ?’ नगरप्रमुख पौडेलले भने ‘उपमहानगरले आर्थिक बोझमात्रै लिएर हुन्छ ? प्राविधिक विषयको अध्ययन सुरु भएपछि उपलब्धि पनि आउनुप¥यो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप