आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कविता

उजाड बस्ती र म

शुक्रबार, २५ फागुन २०८०, ०९ : ०२
शुक्रबार, २५ फागुन २०८०

बस्ती उजाड छ
न्याउली र प्रकृतिको 
सम्बन्ध तोडिएको छ
मौसम त वसन्तकै थियो 
परन्तु, 
एकतमास फुल्ने गुराँस
आज शून्य शून्य लाग्दै छ

आज किन हो ?
बस्ती न्यास्रिएको छ
हेर्दा हेर्दै,
मेरा आँखाका ढक्कन 
ठप्प ढाकिए
परेला लोलाएका छन् 
उजाड बस्ती एकटकले 
मलाई घुरिरहेको छ
म के सहानुभूति दिऊँ उसलाई ?
बेरङको यो दुनियाँमा
म आफैँ निख्रिएको छु, रित्तिएको छु
उराठ लाग्दो त्यो बस्तीलाई 
हराभरा बनाउने एउटा सपना थियो
म कस्तो जवाफ दिऊँ उसलाई ?
जब कि 
म आफैँ अपूरो सपनाभित्र विलीन छु

सुनसान बस्ती 
मलाई हिस्स्याइरहेको छ
बेचिएको उसको अस्मिता
फिर्ता गराउन वचनबद्ध थिएँ
उसको र मेरो समानताको सन्धि 
इतिहासको पानामा
स्वर्ण अक्षरले कोरिएको थियो
किन्तु,
म भुइँ मान्छे
आज, निर्लज्ज टोलाई रहेको छु
कसरी भरोसा दिलाऊँ उसलाई ?
म आफैँ अभावले दबिएको छु, पिल्सिएको छु
जति गहिराइमा डुब्छु
उति बेचैन छु
खडेरीको यो मौसमभित्र
म आफैँ तङ्ग्रिएको छु, उजाडिएको छु

उजाड बस्ती 
मलाई गिज्याइरहेको छ
जति हिँड्छु यो बाटो 
उति लम्बिएको छ
कतै पछ्याउँछु त भविष्य
त्यो, यतै अल्झिएको छ
म भुइँ मान्छे
भुइँमै समेटिएको छु, ओइलिएको छु 
बेसुरको यो सङ्गीत लहरीमा 
म, ध्वनिसँगै बरालिएको छु
हावासँगै बतासिएको छु 
उजाड बस्ती
मलाई टुलुटुलु निहालिरहेको छ ।

मुसिकोट–१, रुकुम पश्चिम

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एनसी ओली
एनसी ओली
लेखकबाट थप