आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ट्वान्टी–२० क्रिकेट शृङ्खलामा राम्रो प्रदर्शन गर्छौँ : कप्तान बर्मा

सोमबार, १७ वैशाख २०८१, १६ : १८
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले छोटो समयमा पनि राम्रो तयारी भएकाले चार देश सम्मिलित महिला ट्वान्टी–२० क्रिकेट शृङ्खलामा राम्रो प्रदर्शन गर्ने बताएकी छन् ।

नेपालले आगामी कात्तिक २९ गतेदेखि हङकङमा चार देश सम्मिलित ट्वान्टी–२० शृङ्खला खेल्दैछ । त्यसका लागि नेपाली महिला क्रिकेट टोलीले त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा छोटो तयारी गरेको थियो । नेपाली टोली  आइतबार त्यसतर्फ प्रस्थान गर्दैछ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार एक कार्यक्रमको आयोजना गर्दै उनीहरूलाई बिदाइ गर्‍यो । सो अवसरमा पत्रकारसँगको कुराकानीमा नवनियुक्त कप्तान इन्दुले आफ्नो लागि समेत अवसरका रूपमा लिएको यस शृङ्खलामा राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरेकी हुन् ।

११ वर्षदेखि नेपालको कप्तानी समाल्दै आएकी रुबिनालाई हटाउँदै क्यानले यसै हप्ता मात्र इन्दुलाई नेतृत्वको जिम्मेवारी दिएको हो । त्यसैले इन्दुका लागि यो पहिलो परीक्षासमेत हुनेछ । कप्तान इन्दुले पनि यसलाई चुनौतीको रूपमा लिएको बताएकी छिन् । पछिल्ला समय कमजोर पक्षमा ध्यान दिएको उनले उल्लेख गरिन् । कप्तान इन्दुले विशेष फिल्डिङ र फिटनेसमा काम गरेको बताएकी छन् ।

नेपालले अन्तिम समयमा मात्र प्रशिक्षक नियुक्त गरेको हो । पारस खड्का निकट मानिएका झापाका मनोज कटुवालले महिला क्रिकेट टोलीको प्रशिक्षण जिम्मेवारी पाएका हुन् । नवनियुक्त प्रशिक्षक मनोज कटवालले पनि ६/दिनको तयारीबाट चुनौती धेरै भए पनि च्याम्पियन भएर फर्किने आशा व्यक्त गरेका छन् ।

शनिवार क्यानले मुलपानीस्थित मुख्यालयमा टोलीको बिदाइ गरेको हो । क्यानका सचिव पारस खड्का तथा सदस्यद्वय दिवाकर घले र सुदीप शर्माले टोलीलाई बिदाइ गरेका थिए । क्यानका सचिव खड्काले खेलाडीलाई उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन भएर घर फर्कन शुभकामना दिए । साथै उनले पुरुष टोलीले झैँ शानदार प्रदर्शन गरेर च्याम्पियन हुन आग्रह गरे । क्यानले उपकप्तानको जिम्मेवारी भने बिन्दु रावललाई दिएको छ । नेपाली टोलीमा पूर्वकप्तान रुविना क्षेत्री, सीता रानामगर, खुशी डंगोल, सोमु विष्ट, संगीता राई, कञ्चन श्रेष्ठ, सोनी पाख्रिन, पूजा महतो, रोमा थापा, काजोल श्रेष्ठ,, सम्झना खड्का र रुबी पोदार परेका छन् । कात्तिक २९ देखि मङ्सिर ३ सम्म हुने शृङ्खलाका सबै खेल हङकङ क्रिकेट क्लवको मैदानमा हुनेछन् ।

शीर्ष दुई टोलीले उपाधिका लागि भिड्नेछन् । पुछारका दुई टोलीले तेस्रो स्थानमा लागि प्रतिस्पर्धा गर्नेछन् । शृङ्खलाको पहिलो खेलमा तान्जेनियाको सामना गर्ने भएको छ । नेपाल र तान्जेनियाबिचको खेल कात्तिक २९ मा हुनेछ । नेपालले कात्तिक ३० मा आयोजक हङकङ र मङ्सिर दुई गते जापानको सामना गर्नेछ । तान्जेनिया र जापान नेपालको लागि नयाँ प्रतिद्वन्द्वी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप