आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बुटवलमा दीपावली महोत्सव सुरु

सोमबार, १७ वैशाख २०८१, २० : ५९
सोमबार, १७ वैशाख २०८१

बुटवल । बुटवलमा  तीन दिने दीपावली महोत्सव सुरु भएको छ । नेपालीहरूको महान् पर्व दीपावलीको अवसर पारेर बुटवल उद्योग वाणिज्य सङ्घको आयोजनामा बुटवलको मुख्य बजार अमर पथ क्षेत्रमा आजदेखि तीन दिने ‘दीपावली महोत्सव–२०८०’ सुरु भएको हो ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले दीपावली महोत्सवको  उद्घाटन गर्दै बुटवलको विकास सबैको साझा विषय रहेको बताए । उनले नगरपालिकाले सबैसँग सहकार्य गरेर विकास निर्माणका काम अघि बढाउने समेत बताए।

कार्यक्रममा सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले बुटवलको खस्किँदो व्यापारलाई उठाउनका लागि बुटवलको मुख्य बजार अमर पथ क्षेत्रमा दीपावली महोत्सव आयोजना गरिएको बताए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले दीपावली महोत्सव मात्रै नभएर देउसी भैलो लगायतका सांस्कृतिक कार्यक्रमलाई मौलिक बनाउन आग्रह गरे ।

दीपावली महोत्सवमा बुटवल उपमहानगरपालिका संरक्षक र बुटवलका वडा नं. ४, ५ र ६ प्रवर्द्धकको रूपमा रहेका छन् । तीन दिनसम्म सञ्चालन गरिने महोत्सव अवधिभर विशेष छुटमा सामानको बिक्री वितरण, नेपाली मौलिक तथा सांस्कृतिक खानाका परिकार र विविध सांस्कृतिक प्रस्तुति समेत रहने मेला महोत्सवका संयोजक तथा बुटवल उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष टङ्कप्रसाद गैरेले जानकारी दिए ।

बुटवल उद्योग वाणिज्य सङ्घले पहिलोपटक सञ्चालन गरेको दीपावली महोत्सव महेन्द्र पार्क देखि काठे पुलसम्म (अमर पथ लाइन) र नेपालगन्ज रोडको कार्की मिनी मार्केट देखि ट्राफिक चोकसम्म सञ्चालन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप