आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ऐयर र राहुलको सतकसँगै भारतले नेदरल्यान्ड्सलाई दियो ४११ रनको विशाल लक्ष्य

मङ्गलबार, २७ चैत २०८०, १८ : ०९
मङ्गलबार, २७ चैत २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आइतबार भारतले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी नेदरल्यान्ड्सलाई जितका लागि चार सय ११ रनको विशाल लक्ष्य दिएको छ । 

बेंगलौरस्थित स्टेडियममा टस जिती पहिले ब्याटिङको निर्णय लिएको घरेलु टोली भारतले निर्धारित ओभरमा केवल चार विकेट गुमाएर चार सय १० रन बनाएको हो । 

जारी विश्वकपमा भारत हालसम्म अपराजित छ । भारत यसअघि नै प्रारम्भिक चरणको विजेताका रुपमा प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेको छ । भारतका लागि चौथो नम्बरका ब्याट्सम्यान श्रेयस ऐयरले सतकीय योगदान गरे । 

उनले टोलीको खातामा अविजित एक सय २८ रनको योगदान गरे । उनले केवल ९४ बलको सामना गरी पाँच छक्का र १० चौका पनि हिर्काए । पाँचौँ नम्बरका ब्याट्सम्यान केएल राहुलले पनि टोलीका लागि उत्कृष्ट सतकीय पाली खेले । 

विकेटकिपर ब्याट्सम्यान राहुलले टोलीको खातामा एक सय दुई रन थपे । उनले आक्रामक पाली खेल्दै केवल ६४ बलको सामना गरी चार छक्का र ११ चौका हिर्काए । उनी अन्तिम ओभरको अन्तिम बलमा आउट भएका थिए । 

दुई सय रनको कुल स्कोरमा भारतले आफ्नो तेस्रो विकेट गुमाएको थियो । त्यसपछि ऐयर र राहुलले नै टोलीको स्कोरलाई अहिलेको स्थितिसम्म डोर्‍याएका थिए ।

त्यसअघि भारतका लागि दुबै ओपनर ब्याट्सम्यान कप्तान रोहित शर्मा र शुभमन गिलले अर्धसतक बनाएका थिए । दुबै ओपनर ब्याट्सम्यानले भारतका लागि एक सय रनको साझेदारी गरेका थिए । रोहित शर्माले ५४ बलमा दुई छक्का र आठ चौकको मद्दतले ६१ रन बनाए ।

अर्का ओपनर गिलले पनि केवल ३२ बलको सामना गरी चार छक्का र तीन चौकाको मद्दतले ५१ रन बनाएका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका अनुभवी ब्याट्सम्यान विराट कोहलीले पनि टोलीको खातामा ५१ रन थपेका थिए । उनले ५६ बलमा एक छक्का र पाँच चौका पनि प्रहार गरेका थिए ।

भारतले अतिरिक्त रुपमा पनि १५ रन पाएको थियो । नेदरल्यान्ड्सका बलर बास डी लिडले दुई विकेट लिएका थिए । पल भान मिकेरन र रोएल्फ भान डेर मर्वेले पनि एक—एक विकेट हात पारे । नेदरल्यान्ड्स यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । 

यो खेलमा भारतलाई हराउन सके नेदरल्यान्ड्स सन् २०२५ मा पाकिस्तानमा आयोजना हुने आईसीसी च्याम्पियन्स ट्रफीमा छनोट हुनेछ । यो खेलले जारी विश्वकपको सेमिफाइनल समिकरणमा भने कुनै असर पार्ने सम्भावना छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप