आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एकदिवसीय विश्वकप

तीन पूर्वविजेता बाहिरिए, दुई पूर्वविजेता उपाधि यात्रामा

सोमबार, १७ असार २०८१, ११ : ४४
सोमबार, १७ असार २०८१

काठमाडौँ । १३औँ आईसीसी एक दिवसीय विश्वकपको प्रारम्भिक चरणको खेल सकिएको छ । प्रारम्भिक चरणमा कुल ४५ खेल भए । यो विश्वकपमा सहभागी १० वटै टोलीले प्रारम्भिक चरणमा एकअर्कासँग एक—एक खेल खेलेका थिए । 

प्रारम्भिक चरणको खेलको समाप्तिपछि भारत, दक्षिण अफ्रिका, अस्ट्रेलिया र न्युजिल्यान्ड सेमिफाइनलमा पुग्न सफल भए । सेमिफाइनलमा पुग्ने चारमध्ये दुई राष्ट्र अस्ट्रेलिया र भारत विश्वकपका पूर्वविजेता हुन् । 

दक्षिण अफ्रिका र न्युजिल्यान्डले भने हालसम्म विश्वकपको उपाधि चुम्न सकेका छैनन् । अस्ट्रेलिया सर्वाधिक पाँच पटकको विश्वकप विजेता राष्ट्र हो । अस्ट्रेलियाले सन् १९८७, सन् १९९९, सन् २००३, सन् २००७ र सन् २०१५ मा एक दिवसीय विश्वकपको उपाधि चुमेको थियो ।

भारतले पनि हालसम्म दुई पटक एक दिवसीय विश्वकपको उपाधि जितेको छ । भारतले सन् १९८३ र सन् २०११ मा विश्वकप जितेको थियो । पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आए पनि एक दिवसीय विश्वकपमा न्युजिल्यान्ड सबैभन्दा अभागी राष्ट्र हो ।

हालसम्म दुई पटक फाइनल र ६ पटक सेमिफाइनलमा पुगेर पनि न्युजिल्यान्डले विश्वकपको उपाधि भने चुम्न सकेको छैन । न्युजिल्यान्ड सन् २०१५ र सन् २०१९ को विश्वकपमा फाइनलमा पराजित भएको थियो । न्युजिल्यान्ड विश्वकपको पहिलो संस्करणमै सेमिफाइनलसम्म पुग्न सफल राष्ट्र हो । 

सन् १९९२ देखि एक दिवसीय विश्वकप खेल्न थालेको दक्षिण अफ्रिका भने हालसम्म फाइनलमा पनि पुग्न सकेको छैन । दक्षिण अफ्रिका हालसम्म चार पटक सेमिफाइनलमा भने पुगेको छ । सन् १९९२ मा पहिलो सहभागितामै सेमिफाइनलसम्म पुगेको दक्षिण अफ्रिकाले त्यसपछि सन् १९९९, सन् २००७ र सन् २०१५ मा सेमिफाइनल खेलेको थियो ।

तीन वटा पूर्वविजेता भने यो विश्वकपको प्रारम्भिक चरणबाटै बाहिरिएका छन् । सन् १९९२ को विश्वकप विजेता पाकिस्तान यस पटक निराशाजनक प्रदर्शन गर्दै अंक तालिकामा पाँचौँ भयो । पाकिस्तानले प्रारम्भिक चरणमा नौमध्ये चार खेलमा मात्र जित हासिल गर्न सक्यो । 

पाँच खेलमा पाकिस्तान पराजित भयो । यसअघि सन् १९९९ को विश्वकपमा पाकिस्तानी टोली फाइनलमा अस्ट्रेलियासँग पराजित भएको थियो । पाकिस्तानले पहिलो संस्करणदेखि नै एक दिवसीय विश्वकपमा सहभागिता जनाउँदै आएको छ । 

यसैगरी सन् १९९६ को विश्वकप विजेता श्रीलंका पनि यस पटक प्रारम्भिक चरणबाट घर फर्किन बाध्य भयो । यो विश्वकपमा श्रीलंकाले बिर्सनलायक प्रदर्शन गर्‍यो । नौमध्ये दुई खेलमा मात्र जित हासिल गर्न सफल भएको श्रीलंका अंक तालिकाको नवौँ स्थानमा रह्यो । 

यो विश्वकपमा श्रीलंका आफूभन्दा कमजोर टोलीहरुसामु पनि निरिह देखियो । श्रीलंकाले सात खेलमा हार ब्यहोर्‍यो । श्रीलंकाली टोली सन् २०२५ मा पाकिस्तानमा आयोजना हुने आईसीसी च्याम्पियन्स ट्रफीमा छनोट हुनसमेत असफल भयो । 

श्रीलंकाले एक दिवसीय विश्वकपमा पहिलो संस्करणदेखि नै सहभागिता जनाउन थालेको हो । यसदेखि वाहेक श्रीलंका विश्वकपमा दुई पटक फाइनलमा पुगेर पराजित भएको छ । सन् २००७ को विश्वकपको फाइनलमा श्रीलंकालाई अस्ट्रेलियाले हराएको थियो । त्यसलगत्तै सन् २०११ को विश्वकपको फाइनलमा श्रीलंकालाई भारतले पराजित गरेको थियो । 

यसैगरी विश्वकपको साविक विजेता इङल्यान्ड पनि यस पटक प्रारम्भिक चरणबाटै घर फर्किन बाध्य भयो । क्रिकेटको जननी राष्ट्र इङ्ल्यान्डले सन् २०१९ मा पहिलो पटक एक दिवसीय विश्वकपको उपाधि चुमेको थियो । त्यतिबेला फाइनलमा इङ्ल्यान्डले न्युजिल्यान्डलाई हराएको थियो ।

यो विश्वकपमा अत्यन्तै खराब प्रदर्शन गरेको इङ्ल्यान्ड नौमध्ये तीन खेलमा जित हात पार्दै अंक तालिकाको सातौँ स्थानमा रह्यो । ६ खेलमा पराजय भोगेको इङ्ल्यान्ड आगामी च्याम्पियन्स ट्रफीमा छनोट हुन भने सफल भयो । इङ्ल्यान्ड यसअघि तीनपटक विश्वकपको फाइनलमा पुगेर पराजित भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप