आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

एक दिवसीय विश्वकप : म्याक्सवेल र मिचेल मार्सको कमाल

बुधबार, २८ चैत २०८०, १२ : ०२
बुधबार, २८ चैत २०८०

काठमाडौँ । भारतमा जारी आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको एउटै खेलमा उच्च स्कोर बनाउने ब्याट्सम्यानको सूचिमा अस्ट्रेलियन खेलाडीको दबदबा रहेको छ । प्रारम्भिक चरणको ४५ खेल सकिँदासम्म उच्च स्कोर बनाउने ब्याट्सम्यानको पहिलो र दोस्रो स्थानमा अस्ट्रेलियन खेलाडी छन् । 

यो सूचिको पहिलो स्थानमा अस्ट्रेलियाका ग्लेन म्याक्सवेल छन् । उनले प्रारम्भिक चरणको अफगानिस्तानविरुद्धको खेलमा अविजित दुई सय एक रन बनाएका थिए । उनको अविश्वासिलो प्रदर्शनका कारण त्यो खेलमा अस्ट्रेलिया विजयी हुँदै सेमिफाइनलमा पुगे को थियो । 

त्यो खेलमा उनले एक सय २८ बलको सामना गरी १५७.०३ को स्ट्राइक रेटमा रन बनाएका थिए । उनले १० छक्का र २१ वटा चौका पनि हिर्काएका थिए । मुम्बईस्थित वानखेड स्टेडियममा अफगानिस्तानले दिएको दुई सय ९२ रनको विजय लक्ष्य पछ्याउँदै अस्ट्रेलिया जवाफी ब्याटिङमा ओर्लिएको थियो । 

खेलको प्रारम्भमा अत्यन्तै निरीह अवस्थामा रहेको अस्ट्रेलियाले केवल ९१ रनको कुल स्कोरमा सात प्रभावशाली विकेट गुमाइसकेको थियो । त्यतिबेलासम्म अस्ट्रेलिया हारको सँघारमा पुगिसकेको थियो । क्रिजमा थिए, छैटौँ नम्बरका ब्याट्सम्यान म्याक्सवेल र कप्तान प्याट कुमिन्स । ३५ वर्षीय म्याक्सवेल आफै घाइते अवस्थामा थिए । केही दिनअघि गल्फ खेल्नेक्रममा उनलाई चोट लागेको थियो । 

सोही कारणले उनले इङ्ल्यान्डविरुद्धको खेल पनि गुमाएका थिए । त्यसैले अफगानिस्तानविरुद्ध उनले गतिलो प्रदर्शन गर्नेमा कोही पनि विश्वस्त थिएन । तर, त्यो खेलमा म्याक्सवेलले जे गरेर देखाए त्यो विश्व क्रिकेटका थुप्रै हस्तीहरूकै लागि पनि अविश्वासिलो थियो । 

त्यो खेलमा म्याक्सवेलले थुप्रै कीर्तिमानबिच अविजित रहँदै दोहोरो शतक प्रहार गर्दै अस्ट्रेलियालाई तीन विकेटको जित दिलाएका थिए । जितसँगै अस्ट्रेलिया जारी विश्वकपको सेमिफाइनलमा पुग्ने तेस्रो टोली पनि बनेको थियो । 

यसैगरी एउटै खेलमा उच्च स्कोर बनाउने ब्याट्सम्यानको सूचिमा दोस्रो स्थानमा पनि अस्ट्रेलियाकै मिचेल मार्स रहेका छन् । उनले बंगलादेशविरुद्धको खेलमा अविजित एक सय ७७ रन बनाएका थिए । त्यो खेलमा उनले एक सय ३२ बलको सामना गरी नौ छक्का र १७ वटा चौका हिर्काएका थिए । उनको स्ट्राइक रेट १३४.०९ रहेको थियो । 

यो सूचिमा तेस्रो स्थानमा दक्षिण अफ्रिकाका क्विन्टन डी कक रहेका छन् । उनले पनि बंगलादेशविरुद्धको खेलमा एक सय ४० बलको सामना गरी एक सय ७४ रन बनाएका थिए । यो खेलमा उनको स्ट्राइक रेट १२४.२८ रहेको थियो । उनले सात छक्का र १५ वटा चौका पनि प्रहार गरेका थिए । 

एउटै खेलमा उच्च स्कोर बनाउने ब्याट्सम्यानको सूचिमा चौथो स्थानमा अस्ट्रेलियाका डेविड वार्नर रहेका छन् । उनले पाकिस्तानविरुद्धको खेलमा एक सय २४ बलको सामना गरी एक सय ६३ रन बनाएका थिए । उनको स्ट्राइक रेट १३५.४५ रहेको थियो । त्यसक्रममा उनले नौ छक्का र १४ वटा चौका पनि हिर्काएका थिए ।

यसैगरी यो सूचिको पाँचौँ स्थानमा न्युजिल्यान्डका ब्याट्सम्यान डेभोन कनवे रहेका छन् । उनले इङ्ल्यान्डविरुद्धको खेलमा एक सय २१ बलको सामना गरी अविजित एक सय ५२ रन बनाएका थिए । त्यो खेलमा उनको स्ट्राइक रेट १२५.६१ रहेको थियो । त्यसक्रममा उनले तीन छक्का र १९ वटा चौका पनि प्रहार गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप