आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
तिहार

फिल्मका यी ५ तिहार गीत : जसले हरेक वर्ष संगीतमय बनाउँछ तिहार

आइतबार, २३ वैशाख २०८१, १२ : ५९
आइतबार, २३ वैशाख २०८१

काठमाडौँ । नेपालीको दोस्रो ठूलो पर्व तिहार सुरु भइसकेको छ । सबैतिर झिलिमिली बत्ती बाल्ने भएकोले यसलाई उज्यालोको पर्वसमेत भनिन्छ । दीपावली र तिहारको प्रसङ्ग नेपाली फिल्ममा पनि देख्न सकिन्छ । 

तिहारमा बज्ने अधिकांश गीत नेपाली फिल्मकै हुने गर्छ । हुन त हरेक वर्ष तिहारलक्षित गीतसंगीत बजारमा नभित्रिने होइन । तर, तिहारमा बढी बज्ने गीतसंगीतमा नेपाली फिल्मका पुराना गीत नै पर्छन् । तिहारमा बढी बज्ने नेपाली फिल्मका यस्ता छन् ५ गीतः

‘तिहारै आयो लौ झिलिमिली’ :
‘तिहारै आयो लौ झिलिमिली’ बोलको यो गीत गाउँदेखि सहरसम्म तिहार लाग्नु अगाडिदेखि नै बज्न थाल्छ । यसले मानिसलाई तिहार आएको आभासमेत दिन्छ ।
तिहारमा यो गीत बज्न थालेको झन्डै तीन दशक भयो । शम्भु प्रधान निर्देशित फिल्म ‘स्वर्ग’ मा रहेको गीतमा यादव खरेलको शब्द, शम्भुजित बाँस्कोटाको संगीत रहेको छ । लोचन भट्टराई÷नूतन प्रधानको स्वर रहेको गीतको भिडियोमा अभिनेत्री गौरी मल्लको अभिनय देख्न सकिन्छ । 
यो गीतको भिडियो तीन रात लगाएर खिचिएको निर्माण युनिटले बताएको छ । तिहारको माहोल तयार गरेर खिचिएको गीतमा कोरस कलाकारको समेत प्रयोग गरिएको छ । भिडियोका नृत्य निर्देशक वसन्त श्रेष्ठ हुन् ।
‘अधरमा आज उनकै छ’ 
तिहारमा धेरै सुनिने गीतमध्ये ‘अधरमा आज उनकै छ’ बोलको गीत पनि हो । रत्नशमशेर थापाको शब्द र रञ्जित गजमेरको संगीत रहेको गीतमा मनिला सोताङको स्वर रहेको छ । 
फिल्म ‘अन्याय’मा रहेको यो गीतमा विश्व बस्नेत, मीरा माधुरी, गीताञ्जली सुनार लगायतका कलाकारको अभिनय छ । 
गीतमा भैलिनीको पनि प्रयोग भएको छ । यो गीत अहिले पनि उत्तिकै कर्णप्रिय र लोकप्रिय छ । फिल्म ‘अन्याय’को निर्देशन तुलसी घिमिरेले गरेका हुन् । 

दियो बाली साँझको 
सुपरहिट फिल्म ‘चिनो’को गीत हो दियो बाली साँझको । प्रसिद्ध भारतीय गायिका आशा भोस्लेको स्वर रहेको यो गीतले हरेक तिहारमा रौनकता थप्ने गर्छ । कुसुम गजमेरको शब्द, रञ्जित गजमेरको संगीत यसमा छ । 
लक्ष्मीपूजाको महत्व बताउने यो गीतमा सुभद्रा अधिकारी, केशव भट्टराईको अभिनय छ । अभिनयमा स्थापित कलाकार सुनिल थापाले यो फिल्मबाट राते काइँलाको परिचय पाएका थिए । तुलसी घिमिरे निर्देशित फिल्मको गीतमा वसन्त श्रेष्ठले नृत्य निर्देशन गरेका थिए ।

‘निधारमा लर्काएर सप्तरंगी टीका’ 

‘निधारमा लर्काएर सप्तरंगी टीका’ बोलको गीत पनि पहिलेदेखि अहिलेसम्म पनि प्राथमिकतामा पर्दै आएको लोकप्रिय गीत हो । फिल्म ‘विजय पराजय’मा समावेश यो गीतमा भाइटीकाको प्रसङ्गलाई देखाइएको छ । 
अभिनेताद्वय कृष्ण मल्ल र भुवन केसी दाजुभाइ र अभिनेत्री रूपा राणा बहिनीको रुपमा यो गीतमा देखिएका छन् । दिनेश अधिकारीको शब्द, शम्भुजित बाँस्कोटाको संगीत रहेको गीतमा स्वर हेम लताले दिएकी छन् । ‘विजय पराजय’ फिल्म राजेन्द्र शलभले निर्देशन गरेका हुन् ।

‘हाँसेर बोल बैनी’ 

फिल्म ‘माइती’मा रहेको यो गीत तिहारमा अत्याधिक बज्ने गर्छ । गीतमा दाजुले बहिनीलाई फकाउँदै गरेको प्रसङ्ग छ । फिल्ममा श्रीकृष्ण श्रेष्ठ, इन्द्र श्री र निरुता सिंहको अभिनय यो गीतमा देखाइएको छ । 
राजु शाहको नृत्य निर्देशन रहेको यस गीतले दाजुभाइ र दिदीबहिनी बिचको महत्व झल्काउँछ । फिल्मका निर्देशक अनिल संग्रौला हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप