आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सीमा नाका

कोरला नाकाको भव्य उद्घाटन, चीनले दियो उत्तरी मुस्ताङका नागरिकलाई नुन, तेल र कम्बल

बिहीबार, २२ चैत २०८०, २१ : २९
बिहीबार, २२ चैत २०८०

पोखरा । उत्तरी मुस्ताङका दुई पालिकालाई चीन छिर्ने सरकारी पास वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले नै लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका करिब १ हजार नागरिकलाई चीन प्रवेश पास दिइसकेको छ । पास पाए पनि उनीहरू चीन छिर्न पाएका थिएनन् । 

गएको २०७६ चैतमा कोरोना सङ्क्रमणको कारण देखाएर नेपालका सबै उत्तरी नाका बन्द भएका थिए । त्यसयता अन्य नाकाहरू खुले पनि कोरला खुलेको थिएन । सोमबार विशेष कार्यक्रमका बिच चीनले निर्माण गरेका भौतिक संरचनाको उद्घाटनसहित नाका खुला भएको औपचारिक घोषणा गरिएको छ । 

korala1

नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्य योगेश गौचन थकाली र चीनका तर्फबाट सिगात्सेका मेयर तथा पार्टीका सहसचिव वाङफङ होङले संयुक्त रूपमा नाका सञ्चालनको घोषणा गरेका हुन् । नेपालबाट गण्डकीका पर्यटन मन्त्री दीपेन्द्रबहादुर थापा, प्रदेश सांसद नम्डु गुरुङ, पोखराका मेयर धनराज आचार्य लगायतको टोली सहभागी थियो । 

सोही अवसरमा चीन सरकारले उत्तरी मुस्ताङका दुई पालिका र डोल्पाको एउटा पालिकालाई राहत सामग्री सहयोग हस्तान्तरण गरेको छ । लोमान्थाङ र लो घेकर तथा डोल्पाको शे फोक्सुन्डो गाउँपालिकालाई १/१ ट्याक्टर सामान सहयोग गरेको हो ।

korala2

उत्तरी मुस्ताङका दुई पालिकाका लागि ३ हजार ५ सय प्याकेट चिया, २० किलोको ७ सय बोरा नुन, २ हजार ३ सय प्याकेट घ्यु, १ हजार ५ सय पिस कम्बल र १ हजार ६ सय पिस सिरक सहयोग गरेको लोमान्थाङका अध्यक्ष टसीन्हुर्वू गुरुङले जानकारी दिए । 

korala (2)

उनका अनुसार अब नाकालाई बाह्रै महिना सञ्चालन गर्ने गरी छलफल भएको छ । ‘दुई पालिकाका जनप्रतिनिधि र सिडिओको उपस्थितिमा चीनले बाह्रै महिना नाका खोल्ने कुरा गरेको छ,’ उनले भने, ‘प्राकृतिक प्रकोपबाहेक अन्य समयमा निर्वाध रूपमा खुला हुन्छ ।’ खासगरी हिउँ परेका बेला नाका बन्द हुने र अरु समयमा चल्ने उनको भनाई छ ।

korala (1)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप